१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विभेदको चपेटामा तेस्रो लिङ्गी

वीरेन्द्रनगरस्थित बांगेशीमल बस्ने जेनिस नेपाली (नाम परिवर्तित) २०४६ सालमा तेस्रो लिङ्गीका रूपमा जन्म भए। उनीभन्दा अगाडि एक दिदी हुँदा उनको परिवार छोराको जन्महोस् भन्ने चाहान्थ्यो। जेनिस तेस्रो लिङ्गी हुँदा परिवारले सोंचेजस्तो भएन। जसले गर्दा जेनिस परिवारको तिरस्कारका बीच जीवन जिउन बाध्य भए। बालापनमा उनको स्वभाव केटीजस्तै थियो। विद्यालय जाने उमेरसम्म उनी विद्यालय जान पाएनन्। तीन सन्तानमध्ये उनी एक हुन्। उनीभन्दा अगाडि एक दिदी र पछाडि एक बहिनी छन्।

दिदी बहिनीको जस्तै स्वभाव भएका उनलाई थाहा थिएन, ‘म तेस्रो लिङ्गी हुँ भन्ने।’ पहिलोपटक उनी गाउँकै विद्यालयमा आठ वर्षको हुँदा एक कक्षामा भर्ना भए। त्यतिबेला अरु साथीभन्दा ठूलो थिए। त्यसमा पनि केटीको जस्तो स्वभाव हुँदा शिक्षकदेखि सबै विद्यार्थीले नियाली रहनथ्ये। जब उनी कक्षा आठमा गए, तब उनले प्रेमिकालाई यौन सम्पर्क गर्न खोजे। त्यतिबेला उनले थाहा पाए, ‘म तेस्रो लिङ्गी हुँ।’ ठूलो सपना बोकेका उनलाई बज्रापात पर्‍यो। 

समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण उस्तै। तेस्रो लिङ्गी मानव नै होइनन् जस्तो गरेर हेरिन्थ्यो। त्यस्तो समाज र परिवारका अगाडि पीडा मनभित्रै लुकाएर समाजमा संघर्ष गर्नुको कुनै विकल्प थिएन जेनिससँग। ‘सानो हुँदा दिदीको कपडा लगाउथ्ये,’ उनले विगत सम्झँदै भने, ‘ओटमा लिबिस्टिक पनि लगाउथ्ये।’ त्यसो गर्दा परिवारले पनि उनलाई सन्तानजस्तो व्यवहार नगर्दा कयौं दिन रुनु पर्‍यो। आर्थिक अवस्था कमजोर हुँदा कक्षा १० को टेस्ट उत्तिर्ण गरे पनि अन्तिम परीक्षा एसएलसी दिन पाएनन्।

पढाइ छाडेर घरायसी काम गर्न बाध्य भए। घरपरिवारले उनको सहमतिबिना २०६४ सालमा उनको गाउँकै केटीसँग विवाह गराइ दिए। उनलाई त्यो विवाह मान्य छैन। अहिले पनि उनको श्रीमती घरमै छिन्। सन् २०१२ मा आफूजस्तै एउटा महिला भेटे जेनिसले। ती महिला (तेस्रो लिङ्गी) को परामर्शपछि उनी अधिकारका लागि बोल्नु पर्छ भन्ने सोचाइमा पुगे।

सोहीअनुसार सुर्खेतमा निरहिरा समाज पनि गठन भयो। त्यहाँ उनले काम गर्न थाले। अहिले पनि त्यही काम गर्छन्। कार्यक्रममा सहभागी हुन्छन् तर, अहिले पनि समाजको मनोविज्ञान परिवर्तन नहुँदा खुल्न चाहान्नन्। उनी मात्र होइन घर परिवार र समाजले तिरस्कार गर्दा कर्णालीका तेस्रो लिङ्गीहरू खुल्न सकेका छैनन्। सुर्खेतमा १५ जनाजति तेस्रो लिङ्गी भएको अनुमान गरिएको छ। तर, यहाँ चारजना तेस्रो लिङ्गी मात्र खुलेका छन्। ‘म जिल्ला बाहिर काठमाडौंलगायतका ठूला सहरमा जाँदा खुल्छु,’ आँखाभरि आसु झार्दै उनले भने, ‘यहाँको समाज परिवर्तन नहुँदा खुल्न सकेको छैन।’

कानुनकी विद्यार्थी वीनिता बोगटीले समाजले नकारात्मक सोंच राख्दा तेस्रो लिङ्गीसँग साथसंगत गर्न पनि समस्या भएको बताइन्। ‘उताबाट चिनेको तेस्रो लिङ्गी आउँछ,’ उनले भनिन्, ‘समाजको डरले आफू नदेखे झै गरेर बाटो काट्नु पर्ने बाध्यता छ।’ तेस्रो लिङ्गीका विषयमा उनीहरू मात्र होइन अरु पनि बोल्नु पर्ने उनको भनाइ छ। अहिले पनि सुर्खेतमा तेस्रो लिङ्गीले नागरिकता पाउन नसकेको उनले बताइन्। 

लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघकी सिमरन शेरचनले तेस्रो लिङ्गीलाई मानव जस्तो व्यवहार नगरिँदा धेरै त्यस्ता तेस्रो लिङ्गी खुल्न नसकेको बताइन्। संविधानमा धेरै कुरा भए पनि कार्यान्वयन नहुँदा समस्या भएको उनले जनाइन्। अनुप पिटर राईले अधिकार ऐनमा रहेको छायाँ जस्तो भएको बताए। ‘तेस्रो लिङ्गी हास्य पात्र होइनन्,’ उनले भने। पारिवारिक र समाजको सहयोगले मात्र तेस्रो लिङ्गी अरु व्यक्तिजस्तो गरी सहज जीवन जिउन सक्ने भन्दै उनी भन्छन्, ‘हामी समाजकै नागरिक हौँ, फरक बन्न चाहान्नौ।’ कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै कर्णालीका अन्य जिल्लाको अवस्था पनि उस्तै छ। 

समाजले विभेद गर्दा आफूहरू खुल्न नसकेको तेस्रो लिङ्गीहरू बताउँछन्। प्रदेश राजधानीमै चेतना अभावले तेस्रो लिङ्गीमाथि हुने विभेद गाउँसम्म पुग्दा अझ जब्बर हुने अधिकारकर्मीहरू बताउँछन्। विभेदभन्दा सद्भाव र मायाले तेस्रो लिङ्गीलाई हेरिनु पर्ने उनीहरूको भनाइ छ। ‘तेस्रो लिङ्गी पनि यही समाजका मान्छे हुन्,’ अधिकारकर्मी वसन्तकुमार विश्वकर्माले भने, ‘त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाच्न दिनुपर्छ।’

प्रकाशित: १५ मंसिर २०७७ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App