२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा आइसोलेसन प्रमुख आफै संक्रमित

निर्माणको अन्त्यमा पुगेको उदयपुर कोभिड अस्पताल भवन। तस्विरः महेश्वर

कोभिड महामारी सुरु भएदेखि अग्रमोर्चामा रहेर जनतालाई सुरक्षा दिदै आएका ‘उदयपुर कोभिड अस्पताल बेलटार’का आईसोलेसन प्रमुख तेजबहादुर पोखरेल आफै संक्रमित हुन पुगेका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित कोभिड अस्पतालमा आउने १ सयबढी संक्रमितलाई उपचारपछि घर पठाईसकेका नगर स्वास्थय शाखा प्रमुखसमेत रहेका पोखरेल मंगलबार आफै संक्रमित पुष्टि भएका हुन्।  

दुईदिनयता रुघाखोकी र ज्वरो देखिएपछि सोमबार पीसीआरका लागि स्वाब संकलन गरिएकोमा मंगलबार आएको रिपोर्टले उनी संक्रमित पुष्टि भएका  हुन्। चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पोखरेल र दुई महिला स्वास्थ्यकर्मीसमेत संक्रमित देखिएका छन्। संक्रमितको उपचारमा अहोरात्र खट्दै आएका पोखरेल स्वयं संक्रमणको शिकार भएको मेयर राईले बताए। हालसम्म कोभिड अस्पतालमा उपचारार्थ आउने विभिन्न ठाउँका १ सय हाराहारीलाई निको पार्ने काममा खट्दाखट्दै पोखरेल स्वयं संक्रमित हुन पुगेको मेयर राईले बताए।  

मंगलबार नगर उपप्रमुख रीताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासन प्रमुख नेत्र विश्वकर्मालगायत ८ जना संक्रमणमुक्त भएका छन्। दुई महिलासहित संक्रमणमुक्त उनीहरुलाई एक कार्यक्रमकाबीच मेयर राईले विदाई गर्दैछन्।  

चैत ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा पहिलो पटक संक्रमित भेटिदै जेठ अन्तिमसम्म दिनदिनै संक्रमित संख्या बढ्दै गएपछि जिल्लाका ८ स्थानीयतहको पहलमा असारदेखि कोविड अस्पताल सञ्चालनमा ल्याएका थिए। त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगर तथा लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी ४ गाउँपालिकाको संयुक्त पहल र लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो।  

त्रियुगा नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा गठित जिल्लाका स्थानीयतहको संस्था ‘उदयपुर विकास बोर्ड’को अगुवाईमा असार पहिलो सातादेखि सञ्चालनमा ल्याइएको अस्पतालले स्थानीय संक्रमितलाई जिल्लाबाहिर लानुपर्ने समस्या टारेको छ। विकास बोर्डकै पहलमा अहिले त्यहाँ कोविड अस्पताल भवन अन्तिम चरणमा पुगेको छ। ४ नगरपालिकाबाट १५÷१५ लाख र गाउँपालिकाबाट १० लाखका दरले संकलित १ करोड र स्वीस सरकारको १ करोड ५० लाखबाट दीर्घकालीन सेवा दिने उदेश्यले ४० शैय्याको भवन निर्माण कार्य ९० प्रतिशत सकिएको छ।  

ट्रस प्रविधिको छानोसहित १४ कोठे पक्की भवन २ करोड ६८ लाख लागत मूल्यमा सम्पन्नको मुखमा पुगेको छ। भवन बनेपछि २ जना विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको जोहो गरेर कोविडको उपचार दीगो र प्रभावकारी रुपमा गर्ने योजना बोर्डका कोषाध्यक्षसमेत रहेका चौदण्डीगढीका मेयर राईले सुनाए। 

प्रकाशित: १५ मंसिर २०७७ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App