१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा खुल्न थाले विद्यालय

निलकण्ठ नगरपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरू। तस्बिर: सरिता/नागरिक

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण बन्द रहेका धादिङका विद्यालय सञ्चालन हुन थालेका छन्। करिब ९ महिनापछि स्वास्थ्य मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा आएका हुन्। कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट शिक्षण संस्था बन्द थिए। धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीसहित कोरोना भाइरस संक्रमणको जोखिम कम भएका क्षेत्रमा भौतिक दूरी कायम राखेर विद्यालय सञ्चालनमा आएका हुन्। केही विद्यालयले भने अझै पढाइ सुरु गरेका छैनन्।

जिल्लाको निलकण्ठ नगरपालिका–२ साँखुमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पनि लामो समयपछि पढाइ सञ्चालन भएको छ। दुई सिप्ट गरेर विद्यालयमा पढाइ पढाइ सुरु गरिएको प्रधानाध्यपक जानुका कडेंलले बताइन्। ‘भौतिकदुरी कायम गरेर लामो समयपछि पढाइ सञ्चालन गरेका छौँ,’ उनले भनिन्, ‘विद्यालयमा प्रवेश गर्ने शिक्षक तथा विद्यार्थीको ज्वरो नाप्ने, साबुनपानीले हात धुने व्यवस्था गरिएको छ, भने मास्क अनिवार्य गरेका छौँ।’ विद्यालयले लकडाउनको समयमा पनि वैकल्पिक शिक्षालाई जोड दिएर पठनपाठन सञ्चालन गरेको प्रअ कडेंलले बताइन्।

लामो समयको बन्दका कारणले बालबालिकाको पढाइमा धेरै असर पुगेको छ। त्यसैले सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने तथा अन्य वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनेको थियो। तर वैकल्पिक माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको अभिभावकले गुनासो गर्दै आएका छन्। त्यसैले अहिले जिल्लमा विद्यार्थीको उपस्थितिमा नै पढाइ सुरु गर्ने थालिएको छ। केही स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले गर्ने तयारी गरेका छन्।

लामो समय लकडाउन भएपछि विद्यार्थीको पढाइ अन्योलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठनपाठन कार्य सुरु गरिएको सिद्धलेक गाउँपालिका–४ को जलेश्वरी माविका प्रधानाध्यपक भोजराज अर्यालले बताए। ‘कोरोना भाइरसको संक्रमणको जोखिमका कारण पढाइ प्रभावित नहोस् भनेर लकडाउनमा पनि दैनिक तीन घण्टा टोल टोलमा कक्षा सञ्चालन गरेका थियौँ,’ उनले भने, ‘अहिले स्वास्थ्य सुरक्षाका आवश्यकिय मापदण्ड पूरा गरेर नै पठनपाठन सञ्चालन गरेका हौँ।’

कोरोना भाइरसको संक्रमणका कारण चैत महिनादेखि शिक्षण संस्था बन्द थिए। बन्दका कारण विद्यालयको पठनपाठन ठप्प थियो, भने नियमित पठनपाठन, परीक्षालगायतमा प्रभाव परेको थियो। शिक्षण कार्यलाई नियमित बनाउन सहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन सञ्चालन गरेका थिए। सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु र विद्यार्थीसँग नेट चलाउने उपकरण नहुँदा ग्रामिण क्षेत्रका विद्यार्थीमा समस्या उत्पन्न भएको थियो।

कोरोना भाइरसको संक्रमण रोक्न सुरुवातको अवधिमा स्थानीय तहले विद्यालयलाई क्वारेन्टिनका रूपमा पनि व्यवस्थापन गरेका थिए। तर अहिले कतिपय विद्यालयबाट क्वोरेन्टिन स्थल हटाइएको छ र त्यहाँ पठनपाठन सञ्चालन गरिएको छ। धादिङ जिल्लाभर सामुदायिकतर्फ पाँच सय ४३ वटा र संस्थागत तर्फ ५३ वटा विद्यालयहरू रहेका छन्।

प्रकाशित: ११ मंसिर २०७७ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App