३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्

कोभिड अस्पताल सञ्चालन गर्न बैतडीका स्थानीय तहले मेडिकल अधिकृत पाउन सकेका छैनन्। सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका देशका सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेट र निर्देशिक जारी गरे पनि बैतडीका स्थानीय तहले भने चिकित्सक पाउन सकेका छैनन्। १० स्थानीय तह रहेको बैतडीमा दशरथचन्द नगरपालिका बाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनको लागि सरकारले बजेट निकासा गरेको छ।

पुर्चौडी नगरपालिकाबाहेक ८ वटा स्थानीय तहले कोभिड अस्पताल सञ्चालन गर्न ढिलाई गरेका छन्। पुर्चौडी नगरपालिकाले भने गत कार्तिक २४ गतेबाट अस्पताल सञ्चालनमा ल्याएको छ। अन्य स्थानीय तहहरुले भने दरबन्दी अनुसारका कर्मचारी नपाउँदा अस्पताल सञ्चालनमा ढिलाइ भएको बताएका छन्।

सरकारले कोभिड अस्पतालका लागि एकजना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी राख्नका लागि बजेट व्यवस्थापन गरेको थियो। सोही अनुसार बैतडीका स्थानीय तहले कर्मचारी भर्नाको सूचना प्रकाशन गरेको भए पनि कर्मचारी पदपूर्ती गर्न सकेका छैनन्। सिगास गाउँपालिकामा असोज २० गते नै कर्मचारी पदपूर्तीका लागी सूचना प्रकाशन गरेको भए पनि अहिलेसम्म मेडिकल अधिकृतको दर्खास्त नपरेको गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले जानकारी दिए। तीनपटक सूचना प्रकाशित गरि मेडिकल अधिकृत माग गरे पनि पाउन नसकेको स्वास्थ्य संयोजक बोहराले बताए।

संघीय सरकारले पठाएको बजेटमा मेडिकल अधिकृतक राख्न नसकिने भए पछि गाउँपालिकाले करार सम्झौता गरी पदपूर्ती गर्ने तयारी गरेको छ। सुर्नया गाउँपालिकाले पनि सुरुमा असोज २ गते कर्मचारीका लागि सूचना प्रकाशन गरेको भए पनि मेडिकल अधिकृतको दरखास्त नपरेको जनाएको छ।

अस्पताल सञ्चालनमा ल्याउन अन्य स्थानीय तहले स्टाफ नर्स र कार्यालय सहयोगी नियुक्त गरे पनि मेडिकल अधिकृत भने पाउन सकेका छैनन्। सरकारले पठाएको बजेटमा तलब पाउने गरी मेडिकल अधिकृतहरु आउन नमान्ने बताइएको छ।

प्रकाशित: ७ मंसिर २०७७ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App