coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाह्रकिलो बारपाक सडकः म्याद थपेको थपै, कामको गति सुस्त

कालोपत्रे सकिनुपर्ने बारपाक सडक अहिले पनि धुलाम्य छ । तस्बिर : नागरिक

गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवसायी (ठेकेदार) ले काम नगर्दा वर्षौँदेखिको आयोजना अलपत्र छ। दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७२ मा सुरु भएका ती सडक खण्ड अहिले पनि कालोपत्रे हुन सकेको छैन।  

पाँच वर्षसम्म निर्माणको काम सम्पन्न नगरेका निर्माण ब्यवसायीलाई पटक-पटक म्याद थपको अवसर मिल्यो। लामो समयदेखि म्याद गुज्रिएर काम नभएका योजनाहरु एक वर्षभित्र सिध्याउने गरी सरकारले गत वर्ष सबै ब्यवसायीलाई समय थप गरिदियो। गत चैत महिनादेखि कोरोनाका कारण काम प्रभावित बन्यो। त्यसयता ब्यवसायीहरुले ६ महिना म्याद थप पाएका छन्, तर कामको गति भने अहिले पनि सुस्त छ।

उक्त सडक ठेक्का लगाएको एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले भने निर्माण ब्यवसायीका लागि यो नै अन्तिम पटक म्याद भएको जनाएको छ। कार्यबाहक आयोजना प्रमुख राजेशकुमार यादवले भने ‘अहिले चारवटै प्याकेजमा काम भएको छ, यो आर्थिक वर्षको जेठ मसान्तसम्म राङरुङ खोलासम्म कालोपत्रे सकिन्छ।’ त्यसमाथिको खण्ड अधिकांश ढलान गर्नुपर्ने, कमजोर, भिरालो जमिन भएकाले केही समस्या हुन सक्ने अनुमान उनको छ।

बाह्रकिलो-बारपाक सडकको पहिलो प्याकेज १० करोड ५९ लाखमा सम्झौता भयो। २०७२ साल मङ्सिर ३० गते सिध्याउने गरी २०७१ असार ३१ मा ठेक्का सम्झौता भएको थियो। पटक-पटक म्याद थप गर्दा नागार्जुन त्रिशुली जेभीले सडक निर्माण पूरा गर्न सकेन।

१७ किलोमिटरदेखि २२ सम्म दोस्रो खण्ड १५ करोड ३३ लाखमा कन्काई गोरखा जेभीले २०७४ असारमा ठेक्का सम्झौता गरेको हो। पाँच किलोमिट कालोपत्रे अधिकांश भएको छ। ८० प्रतिशत काम सकिएको छ। केही ठाउँमा ढलान बाँकी रहेको आयोजना प्रमुख यादबले बताए।

२२ देखि ३० किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएको लोहनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालिले २०७२ असारमा सम्झौता गर्‍यो। २०७४ असारमा सिध्याउनुपर्नेमा पटक(पटक म्याद थप भयो। ३० किलोमिटरदेखि बारपाक अर्थात ४६ किलोमिटरसम्मको अन्तिम खण्डको ३५ करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। रसुवा सुर्य ईलाईट जेभीले जिम्मा लिएको उक्त सडक खण्डको म्याद पनि थपिएको हो।

‘यी सबै खण्डमा अहिले काम भईरहेको छ’ आयोजना प्रमुख राजेशकुमार यादवले भने ‘हामीसँग जनशक्ति हुने हो र नियमित कार्यालयले निगरानी बढाउँदा काम भ्याउन असजिलो छैन।’

बाह्रकिलोदेखि बारपाकसम्मको सडक बिभिन्न खण्डमा स्तरोन्नति भईरहेको छ। बाह्रकिलोदेखि डेढ किलोमिटर अहिले कालोपत्रे भईरहेको छ। त्यहाँदेखि मसानेठाँटीसम्मको साढे दुई किलोमिटर सडक कालोपत्रेको पनि ठेक्का भईसक्यो। त्यसउता करिब १२ किलोमिटर मध्यपहाडी राजमार्गमा उक्त सडक पर्छ। मध्यपहाडीले काम गर्ने खण्ड बाहेकमा अहिले काम भईरहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजना कार्यालयमा दरबन्दी २० कर्मचारी ४

गोरखा स्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयमा स्थायी दरबन्दी २० जनाको छ। तर दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको संख्या चार जना मात्रै छन्। ‘सवारी चालक, कार्यालय सहयोगीहरु करारमा लिएका छौँ’ आयोजना कार्यालय प्रमुख राजेशकुमार यादवले भने।

एकजना आयोजना प्रमुख, तीनजना इन्जिनियरको दरबन्दी भएको कार्यालयमा एक जना पनि कार्यरत छैनन्। ६ जना सव इन्जिनियरको दरबन्दी रहेको यहाँ दुई जना कार्यरत छन्। यी मध्ये पनि एक जना सुत्केरी बिदामा छन्। लेखा अधिकृत छन् तर लेखापाल छैनन्। नायब सुब्बाको दरबन्दी पनि लामो समयदेखि रिक्त छ।

‘प्राविधिक जनशक्ति नहुँदा हामीले ठेक्का लगाएको ठाउँमा नियमित निगरानी गर्न समस्या भएको छ’ आयोजना प्रमुख यादवले भने ‘काम गर्न धेरै असजिलो भएको छ।’ हरेक साईडमा भएका एक/दुई जना प्राविधिक निरन्तर पुग्न समस्या हुँदा कामको गुणस्तरमा ब्यवसायीले हेलचेक्राई गर्ने संभावना पनि धेरै रहन्छ।

प्रकाशित: ६ मंसिर २०७७ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App