काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ।
विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षितरुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनतार्जगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा बनाउन लागिएको हो। बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए।
शहरी विकास तथा भवन निर्माण विभागले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरेको पनि उनले सुनाए। मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ। बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए। बगैँचाको डिजाइन बनाउने काम भइरहेको उनले सुनाए।
महानगरपालिकाको वडा नं ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ। वडा नं ९ को जग्गा खाली छ। वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए। वडा नं ९ खाली जग्गामा पनि मोहीका बीचमा मुद्दा चलिरहेको छ। मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया शुरु गरेको हो। अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ।
मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण गरिरहेको छ। पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ। रासस
प्रकाशित: ३ मंसिर २०७७ १२:३८ बुधबार