१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल सम्वतको अवसर पारेर सय वर्ष पुरानो बालधारा पुनर्निर्माण सुरु

पोखरामा एक सय वर्ष पुरानो धारा पुर्ननिर्माण गरिने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीस्थित गिरिजाचोकमा रहेको बालधारा स्थानीय भिन्तुना युवा क्लवको सकृयतामा पुनर्निर्माण गरिन लागेको हो। पोखरा महानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा धारा पुनर्निर्माण गरिन लागेको क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।

यसैबीच, बालधारा पुनर्निर्माणको सोमबार पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु र नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले संयुक्त रुपमा शिलान्यास गरे। नेपाल सम्वत ११४१ को शुभारम्भको अवसर तथा भिन्तुना युवा क्लवको १८ औं वार्षिकोत्सवको सन्दर्भ पारेर बालधारा पुनर्निर्माणको शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले सम्पदा संरक्षणमा वडाले नेतृत्वदायी भूमिका खेल्ने बताए। तर यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने उनले बताए। सम्पदा र संस्कृति कुनै एउटा जातिको मात्र नहुने भएकाले संरक्षणमा पनि सबैले भूमिका खेल्नुपर्ने उनको भनाई छ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले भिन्तुना युवा क्लवले बालधारा पुनर्निर्माणको काम सुरु गरेर सम्पदा संरक्षणको अभियान शुरुवात गरेको भन्दै क्लवको प्रशंसा गरे।

क्लवका अध्यक्ष राजन श्रेष्ठले पछिल्लो क्रममा धाराको प्रयोग नभएपनि अहिले महामारीका रुपमा देखापरेको कोभिडका कारण धाराको आवश्यक्ता महशुस भएकाले धारा पुनर्निर्माण गरिन लागेको बताए। अहिले पानी खानका लागि यो धारा प्रयोग नगर्लान्,‘उनले भने,‘तर कोभिडका कारण अहिले पटक/पटक हात धुनुपर्ने भएको छ, त्यसका लागि यो धारा उपयोगि हुन्छ।’

संस्कृतिकर्मी सुनिल उलकले बाल धारासहित पोखराका पुराना धाराहरुको ईतिहासबारे प्रष्ट्याएका थिए। उनका अनुसार पोखराको पुरानो धारा मध्ये मानिने बालधारा सेनापति बबर शमसेरका छोरा बाल शमसेरको स्मृतिमा १९७६ सालमा निर्माण गरिएको हो। जागिरको शिलशिलामा पोखरा आएका बबर शमसेरका १४ वर्षीय छोरा बाल शमशेरको विरामी भएको र तेर्सापट्टीका वैद्यहरुले उपचार गर्दागर्दै निधन भएको थियो। छोरा बाल शमसेरको निधन भएपछि क्रुद्ध भएका बबर शमसेरले तेर्सापट्टीका वैद्यहरुले उपचार राम्रो नगरेर छोराको निधन भएको भन्दै बबर शमसेरले तेर्सापट्टीका वैद्यहरुलाई कुटपीट गर्न थालेपछि स्थानीयले वैद्यहरुलाई कुटपीट गरेर नभई छोराको नाममा सामाजिक काम गरेमा छोराको आत्माले शान्ति पाउँछ भनेपछि उनले पोखरामा १४ वटा धारा निर्माण गरेको ईतिहास पाइएको संस्कृतिकर्मी उलकले जानकारी दिए।  

बबर शमसेरले छोरा बाल शमसेरको स्मृतिमा टुँडिखेल जाने घुम्ती, मोहरियाटोल २ वटा, संगमचोक, भैरवटोल, भीमसेनटोलमा कैदीधारा, नालामुख, तेर्सापट्टी, पालिखेचोक, रानीपौवा, पुरानोधारा, गणेशटोल, रामकृष्णटोल, सिद्धार्थचोक, सिमलचौरमा धारा बनाएका थिए। तर पछिल्लो भैरवटोलको धाराबाहेक अन्य ठाउँका समय भग्नावशेषमा परिणत भएका छन्। पालिखेचोकमा निर्माण गरिएको धाराको त झन् नामोनिसान पनि छैन।

प्रकाशित: १ मंसिर २०७७ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App