बाघको संरक्षणका लागि संरक्षित क्षेत्रका मानिसको आयआर्जनमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । बाघ दिवसको दिन चितवनको कसरामा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले मध्यवर्ती क्षेत्रका मानिसहरूलाई सक्षम नबनाउँदासम्म बाघ र मानिस बिचको सह-अस्तित्व कायम हुन नसक्ने बताएका हुन् ।
वन मन्त्रालयका सचिव राजेन्द्र मिश्रले समुदायलाई क्रियाशिल बनाएर बाघको संरक्षणमा लैजानुपर्ने बताए । मानिस बाघको क्षेत्रमा जाने भएकाले उनीहरूको आर्य आर्जन दिएर समुदायलाई जंगल जानबाट जोगाउनुपर्ने धारणा राखे । २५ प्रतिशत घटना बाघ मान्छेको बस्तीमा आएका कारण हुने देखिएको उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बाघ संरक्षण गरेर पर्यापर्यटन र आर्यआर्जनमा जोड दिनुपर्ने बताए । उनले बाघले परिस्थितीकिय प्रणालीलाई कामय राख्ने भएकाले यसको संरक्षण गर्न सम्पूर्ण निकाय लाग्नुपर्नेमा जोड दिए । ‘बाघ एउटा स्वच्छ प्रजाति हो । यसमा प्रशस्त शक्ति हुन्छ । तर लजालु हुन्छ । यसले आफ्नो शक्ति प्रयोग गर्यो भने खतरनाक हुन्छ’, उनले भने ‘यिनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक छ ।’
चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले नेपालमा ३८ प्रतिशत बाघ संरक्षित क्षेत्र बाहिर रहेको तथ्य सार्वजनिक गरे । संरक्षित क्षेत्रभन्दा बाहिर बाघको सङ्ख्या बढी देखिनु मानिस र बाघ बिच द्वन्द्व हुन सक्ने अनुमान उनको छ । पन्तका अनुसार नेपालमा बाघका लागि सम्भाव्य वासस्थान १८ हजार ९२८ वर्ग किलोमिटर छ । अकुपेन्सी सर्भेको आधारमा बाघको संरक्षित क्षेत्र ८६ प्रतिशत रहेको छ ।
जलवायु परिवर्तनका कारण पनि बाघको वासस्थानमा समस्या आएको त्रिवि वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालले बताए । ‘जलवायु परिवर्तनको कारण आफ्नो अस्तित्वका लागि बाघ इलाम, डडेलधुरा जस्ता जिल्लामा देखिएका छन्’, उनले भने ‘नयाँ ठाउँको खोजीको सिलसिलामा बाघहरू माथिल्लो क्षेत्रमा गइरहेका छन् ।’ उनले बाघको व्यवस्थापनका लागि नीतिगत रूपमा लाग्न समेत सिलवालले सरकारलाई सुझाव दिए ।
नेपालमा पछिल्ला तथ्यांक अनुसार बाघको सङ्ख्या निरन्तर बढ्दै गएको छ । सन् २००९ मा गरिएको तथ्यांक अनुसार १२१ वटा बाघ थिए । पछिल्ला गणना २०२२ का अनुसार नेपालमा ३५५ वटा बाघ छन् । यस बिचको सन् २०१३को गणना अनुसार १९८ र सन् २०१८मा २३५ वटा बाघ रहेका छन् । सरकारले सन् २०१०मा बाघको सङ्ख्या दोब्बर वृद्धि गर्ने लक्ष्य राखेको थियो । सो अनुसार वृद्धि भइरहेको उनले बताए ।
बाघको संरक्षणका लागि वासस्थान व्यवस्थापनको भूमिका मुख्य हुन्छ । यसका लागि बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा करिब एक हजार १८७ वर्ग किमि थप गरिएको छ । उनले घाँसे मैदान र पानीको व्यवस्थापन गर्नुपर्ने बताए । नेपालमा सन् १९७० को दशकदेखि बाघ लगायतका महत्वपूर्ण वन्यजन्तु प्रजाति संरक्षणको औपचारिक सुरुवात भएको थियो । सन् २०१० देखि सम्पूर्ण सरोकारवालाहरूको सामूहिक प्रयासमा थप सुदृढ र संस्थागत गरिएको छ ।
बाघको सङ्ख्या वृद्धि भए पनि कानुनी प्रक्रियाका कारण माडी बासीले विभिन्न समस्या झेल्दै आएको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताइन् । संरक्षणका लागि निकुञ्ज सँग सहकार्य गरेर अगाडि बढेका छौँ । जंगल जाने समुदायलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ, महतोले भनिन् कानुनी तथा नीतिगत कारण निकुञ्ज र स्थानीय तह बिच समस्या समेत देखेका छौँ ।’ उनले निकुञ्जको सीमा र ढुंगा गिटी बालुवाको स्वामित्व लिने विषयमा अझै समस्या रहेको उनले सुनाइन् ।
चितवन राष्ट्रिय निकुञ्जले बस्ती छिरेका दुई वटा बाघलाई उद्धार गरेको थियो । एक जनाको ज्यान समेत लिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । यद्यपि यो सङ्ख्या अन्य वर्षको तुलनामा न्यून हो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तुको प्रभावित क्षेत्रका मानिसहरूको जिविकोपार्जनका लागि लाग्नुपर्ने बताए । ‘बाघबाट कति व्यक्ति पीडित छन् । संरक्षित क्षेत्रबाट उठेको केही रकम पीडितको पक्षमा खर्च गर्नुपर्दछ,’ उनले भने । बाघमा आधारित पर्यापर्यटन सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
विश्वका १३ देशमा बाघ पाइन्छ । विश्वमा रहेका उप-प्रजाति बाघ मध्ये ३ उप-प्रजाति लोप भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित: १३ श्रावण २०८२ २०:३३ मंगलबार