३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानको क्‍वार्टरमा अनधिकृत बसेकाहरुलाई हटाउन प्रजिअको निर्देशन

वीपीका पदाधिकारीहरुसँग कोभिड अस्पताल र सेवाबारे छलफल गर्दै सुनसरीका प्रजिअ, सुरक्षा प्रमुखहरु । तस्बिर: वीपी प्रतिष्ठान <div><br></div>

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वार्टरमा अनाधिकृतरुपमा बसेका व्यक्तिहरुलाई तत्काल हटाउन निर्देशन दिएका छन् ।

सुनसरीका सुरक्षा प्रमुखहरुसहित बुधबार प्रतिष्ठानका पदाधिकारीहरुसँग कोभिड–१९ अस्पताल र उपचार सेवाबारे जानकारी लिदै प्रजिअ पोखरेलले यस्तो निर्देशन दिएका हुन्। प्रतिष्ठानको क्वार्टरमा थुप्रै अनधिकृत व्यक्तिहरुले कब्जा जमाएर बसेको र मानिसहरुको धेरै आवातजावत भएकोले कोरोना संक्रमणको जोखिम बढी भएको कारण तत्काल हटाउन सुझाव दिइएको प्रजिअ पोखरेलले बताए। ‘कोही रिटायर्ड भए पनि छोराछोरीहरु बस्ने, भ्रष्टचार मुद्दा परेर निलम्बन भएकाहरु पनि क्वार्टरमा बसिरहेका रहेछन्,’प्रजिअ पोखरेलले भने,‘ठेकेदारलाई कुनै समयमा निर्णय गराएर बस्न दिएको रहेछ, त्यस्ता मानिसहरुलाई पनि तत्काल हटाउन भनेका छौं, पदाधिकारीहरुले प्रक्रिया शुरु भइसकेको भन्नु भएको छ ।’

पछिल्लो समय कोभिड अस्पताल अस्तब्यस्त भएको, भेन्टिलेटर मात्र नभै अक्सिजन बेडसमेत नपाएको भन्दै जनगुनासो व्यापक आएपछि सुनसरीका प्रजिअ पोखरेलले प्रतिष्ठान पदाधिकारीहरुलाई चाडो सुधार गर्न चासो र दबाब दिइरहेका छन्। यसअघि पत्राचार गरेर कोभिड अस्पताल र उपचार सेवामा सुधार गर्न निर्देशन दिएका प्रजिअ पोखरेलले बुधबार सुधार भए नभएको बारेमा आवश्यक जानकारी लिन प्रतिष्ठान आएका हुन्।  

प्रजिअ पोखरेलसँगै आज सुनसरीका एसपी कमल थापा, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल प्रतिष्ठान आएका थिए। उनीहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा.गौरीशंकर साह र रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीसँग छलफल गरेका थिए। ‘जनगुनासोकोरुपमा विगतमा उठेको मुद्दाहरु के भयो ? कोभिड अस्पताल र उपचार सेवा सुधार गर्न के के गर्दै हुनुहुन्छ भनेर बुझ्न आएका थियौं,’प्रजिअ पोखरेलले भने,‘उहाँहरुले कतिपय सुधार भएको, केही सुधार भइरहेको भन्नु भएको छ। कार्यान्वयन कुन रुपमा हुँदैछ, त्यसमा हेर्छाैं।’

पदाधिकारीहरुले कोभिड अस्पतालमा बिग्रिएको भेन्टिलेटर बनिसकेको जानकारी दिएका थिए भने थप १० वटा भेन्टिलेटर जडान हुने तयारी भइरहेको बताएका थिए। यस्तै, कोभिड अस्पतालको सबै बेडमा अक्सिजन पाइप जडान गर्ने काम भइरहेको र नयाँ अक्सिजन प्लान्ट पनि चाडै थप्ने जानकारी दिएको प्रजिअ पोखरेलले बताए। अहिले अस्थायीरुपमा सिलिण्डरबाट नै अक्सिजन दिने व्यवस्था गरिएको जानकारी पदाधिकारीहरुले दिएको प्रजिअ पोखरेलको भनाई छ।  

प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले पनि जनगुनासोहरुको बिषयमा समस्या हल गर्न के भइरहेको छ भनेर बुझ्न सुरक्षा प्रमुखहरुसहित प्रजिअ पोखरेल आएको बताए।  समाधान गर्न कसरी प्रयास भइरहेको छ, र संक्रमण कम गर्न के भइरहेको छ भन्ने जानकारी लिन आएको बताए। ‘जनगुनासोहरुको बारेमा के भइरहेको छ भनेर जानकारी लिन आउनु भएको थियो। उहाँहरुले अनाधिकृत व्यक्तिहरुको बसोबास खाली गर्न, नियमित कार्यसम्पादन गर्नेलाई प्रोत्साहन गर्न र असहयोग गर्नेलाई संक्रमण ऐन अनुसार कारबाही गर्न पनि सुझाव दिनुभएको छ,’रजिष्ट्रार डा.रेग्मीले भने ।

प्रकाशित: १९ कार्तिक २०७७ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App