६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

मटर तस्करीमा संलग्न भएको भनिएका राजिव गुप्ता । तस्बिरः गुप्ताको फेसबुकबाट

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।  

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्या अनुसन्धानका क्रममा धनगढी शिवनगरका व्यापारी राजिव गुप्ताको संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी दिलिप देउवाले प्रहरीको हत्या भएको राति वनकट्टी घाटमा तस्करी भएको सामानमा गुप्ताको ‘कनेक्सन’ जोडिएकाले उनलाई पक्राउ गरिएको बताए। उनले भने,‘गुप्तालाई मंगलबार पक्राउ गरी मुद्दा शाखाले थप अनुसन्धान अगाडि बढाएको छ।’ कात्तिक १ गते रातिको समयमा वनकट्टी घाटमा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउँदको घाँटी रेटेर हत्या गरिएको थियो। हत्यामा संलग्न भएको भन्दै प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो भने एक जना फरार छन्। 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका–१०, का ३१ वर्षीय पर्कु भनिने  रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यस्तै हत्यामै संलग्न एक जना अझै फरार छन्। फरारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।  

प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदलाई तस्करको समूहले घेराबन्दी गरेर आक्रमण गरेका थिए। कात्तिक १ गतेका दिन साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

प्रकाशित: १९ कार्तिक २०७७ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App