‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’ द्वन्द्वकालीन समयमा १० वर्षसम्म दुखेको रोल्पा र रोल्पालीका घाउ आज पनि निरन्तर दुखिरहेको छ। पुछिएका सिन्दुर र रित्तिएका काखहरु शुन्य छन्। चाडबाड, हर्स उल्लास अनि रमाईलो नदेखेरै योवन खर्चिएका द्वन्द्वले दुखाएका अधिकांस महिलाहरु आज पनि पीडा मै छन्।
‘उमेर छ, रुप छ, चाहाना पनि छ तर काखमा राखेर माया गर्ने श्रीमानले बालाबैशमा छोरो गर्भमा छोडेर गए। कुनै गल्ती बिना संसार छोडेर गएका उनको याद भुलाउने कुनै अस्त्र छैन।’ रोल्पा नगरपालिकाकी ४२ वर्षीया रमिता (नाम परिवर्तन)ले भनिन् ‘हामी हास्यौ वा नाच्यौ भने समाजले उत्ताउलीको संज्ञा दिन्छ। रहर त हाम्रो मनमा पनि त हुन्छ नि।’ नुनको साटो आशुको सितनसंग छाक टार्न बिवश एकल महिलाका पीडा सुनि नसक्नुका छन्। रमिताले भनिन् ‘हिजो सांस्कृतीक अपराधका नाममा मान्छे काट्नेहरुका घर भित्रै छिरेको उक्त अपराध नदेख्नेहरु आज सत्तामा छन् र पनि लाज मान्दैनन्।’
९ सय ६९ जनाले ज्यान गुमाएको रोल्पामा ३३ जना आज पनि बेपत्ताको सूचीमा छन्। टुहुरा, घाइते अपाङको संख्या त झन् गनिनसक्नुको छ। द्वन्द्व सहन नसकेर ईटाभटा गएका बालबालिका अनि कालापार पुगेका युवाहरुको अवस्था यो बीचमा फेरिएको छैन। ‘विद्यार्थीलाई हाम्रो सत्ता ल्याउन जाउ भनिन्थ्यो। जबर्जस्ती स्कुल छुटाएर जंगल लगियो तर आज त्यहि पढाईको कमि खड्किरहेको छ।’ उतिबेला विद्यालय पढ्ने तिर्थ (नाम परिवर्तन)ले भने ‘हामीलाई ढाल बनाएर लडिएको युद्धले हामीलाई नै घात गर्यो। यतिबेला न हातमा सर्टिफिकेट छ न त अन्य कुनै रोजगारी।’
आज रोल्पाका लागि सत्ता एकादेशको कथा जस्तै भएको छ। सत्ताको उपभोग सिमित ब्यक्तिले मात्र गर्न थालेपछि युद्धले घात गरेको पीडितहरुको ठम्याई छ। ‘सुकेको आखामा फेरि किन आउछ पानी?’ बिगत संझिदै उत्तर रोल्पाकि यौन हिंसा पीडित नर्मता (नाम परिवर्तन)ले भनिन् ‘बलात्कारको घाउ निको भो तर मनको घाउ आज पनि दुखिरहन्छ। श्रीमानले साच्चीकै माया गर्दा पनि मन झस्किन्छ।’ द्वन्द्व सकिएपछि मृतक र बेपत्ता परिवारलाई किस्ता किस्तामा दिएको दश दश लाख बाहेक परिपुरणका नाममा पीडित लक्षित कुनै कार्यक्रम नल्याएको केन्द्रीय सरकार अनि पछिल्लो समय घर छेउँमा आएको भनिएका प्रदेश र स्थानीय सरकार अहिले सम्म मौन प्राय छन्।
पछिल्लो समय द्वन्द्व पीडितहरुलाई सरकारी निकायले त कहिल्यै कुनै वास्ता गर्ने गरेका छैनन्। तर यदा कदा देखिने गैर सरकारी संस्थाका कार्यक्रममा आएका उनीहरु भरपेट खान्छन्, नाच्छन् अनि बेलुका कोठामा गएर रात भरि बिगत सम्झेर रुन्छन्। ‘आखै अगाडी काटिएको श्रीमानको बिभत्स शवले सपनामा पनि तर्साउँछ। अनि उहि घर उहि सम्झना। श्रीमान मारीदा नजन्मीएको छोरो ठूलो भयो।’ द्वन्द्वकालमा श्रीमान गुमाएकी पूर्वी रोल्पाकी तृप्ती (नाम परिवर्तन)ले भनिन् ‘न मलाई श्रीमान मारीनुको कारण थाहा छ न त छोरालाई बुवा नहुनुको कारण थाहा छ।’
माथि भेटिएका पात्रहरुले सरकारले गठन गरेका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगमा उजुरी दिए पनि ति उजुरीका बारेमा पीडितहरुलाई कुनै खबर भने छैन। द्वन्द्वकालीन हिंसा पीडितले आज पनि छोराछोरी पढाउन नसकेर गुहार मागिरहेका छन्। औषधि उपचारको अभाबमा छेउको हेल्थपोष्टको दैलोसम्म टेक्न नपाउने उनीहरुलाई नयाँ संबिधान र गणतन्त्रले केहि दिएको छैन। काठमाडौको एउटा राजा हटेर गाउँमा थरिथरिका महाराजा जन्मीएको देखेका कतिपय रोल्पालीहरु खिन्न बनेको बताउँछन्।
पछिल्लो समय विकास भनेको सडक हो भन्ने बुझेका घरछेउँका सरकारले बिगतको द्वन्द्वका कारण उब्जिएको घाउमा मलम नलगाएपछि द्वन्द्व पीडितहरुले मन दुखाएका हुन्। यहाँका स्थानीय सरकारले अहिलेसम्म द्वन्द्व पीडित लक्षित कुनै कार्यक्रम वा योजना पनि बनाएका छैनन्।
प्रकाशित: १९ कार्तिक २०७७ ०८:२६ बुधबार