२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितता: बजेट पार्न प्रदेश सरकारलाई ‘घुस’

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित गावखोला–लाम्पाटा सिंचाई कुलो निर्माणका लागि कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ४५ लाख रुपैयाँ बजेट छुटायो। अति गरिब परिवारलाई न्यूनतम रोजगारी दिने उद्देश्यले राखिएको कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समितिले प्रदेश सरकारलाई ‘घुस’ दिएको पाइएको छ।  

सिंचाई कुलो निर्माणमा अनियमितता भएको समाचार प्रकाशित भएपछि गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय जनक देवकोटामार्फत प्रदेश सरकारलाई तीन लाख रुपैयाँ दिएको उल्लेख गरिएको छ। वडासदस्य मनराज देवकोटाको संयोजकत्वमा गठित समितिको बुँदा नं. ६ मा ‘जनक देवकोटामार्फत तीन लाख रुपैयाँ प्रदेश सरकारलाई उपलब्ध गराएको’ लेखिएको छ। जनकले प्रदेश सरकारका कसलाई उक्त रकम दिए भन्ने निर्णयमा उल्लेख छैन। छानविन समितिलाई जनकले दिएको बयानमा तीन लाख रुपैयाँ मध्ये एक लाख ५० हजार प्रदेश सरकारलाई बुझाएको र बाँकी बुझाउन बाँकी रहेको उल्लेख गरेका छन्। जनक तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हुन्।  

जनकले भने उपभोक्ता समितिमार्फत आफुले सिमेन्ट दिएवापतको रकम लिएको बताए।  ‘छानविन समितिको माइन्यूटमा के लेखिएको छ थाहा भएन,’ उनले भने, ‘मैले सिमेन्ट दिएवापतको मात्रै रकम लिएको हुँ, प्रदेश सरकारलाई दिएको छैन। ’

छानविन समितिका संयोजक मनराज देवकोटाका अनुसार प्रदेश सरकारबाट आफूले सिंचाई कुलोको योजना ल्याएको र त्यसवापत जनकले तीन लाख रुपैयाँ दिएको बयान दिएका छन्। ‘गाउँमा विरोध भएपछि एक लाख फिर्ता गर्ने बताएका छन्, अहिलेसम्म दिएका भने छैनन्,’ उनले भने, ‘प्रदेश सरकारका कुन व्यक्तिलाई उक्त रुपैयाँ दिए भन्ने पनि खुलाएका छैनन्। ’ संयोजकका अनुसार सिंचाई कुलोमा एक दिन पनि काम नगरेर ३८ दिनको २८ हजार पाँच सय रुपैयाँ पनि जनकले भुक्तानी लिएका छन्।  

छानविन समितिले सिंचाई कुलो निर्माणका क्रममा नक्कली हाजिर लगाएर तीन लाख ८२ हजार २५० र जनक देवकोटाले प्रदेश सरकारलाई दिएकोसहित छ। लाख ८२ हजार २५० रुपैयाँ दुरुपयोग भएको निष्कर्ष निकालेको छ। उक्त रकम असुली गर्नुपर्ने समितिको निष्कर्ष छ।  छानविन समितिको प्रतिवेदनमा नक्कली हाजिर लगाएर भुक्तानी लिएका विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटा र उनका आफन्तबाट ६३ हजार ७५०, भद्रप्रसाद देवकोटाबाट १९ हजार ५००, चरित्र देवकोटाबाट ३९ हजार, जग्य देवकोटाबाट ४७ हजार २५०, बलिराम देवकोटाबाट १२ हजार, नवराज देवकोटाबाट १२ हजार, अति देवकोटाबाट २४ हजार, सदी देवकोटाबाट २४ हजार, देवसन्न देवकोटाबाट ७ हजार ५००, भीम देवकोटाबाट ७ हजार ५००, भवनराज देवकोटाबाट ७ हजार ५००, हरिलाल देवकोटाबाट ११ हजार २५०, लक्ष्मीप्रसाद देवकोटाबाट ६ हजार ७५० रुपैया असुल गर्नुपर्ने उल्लेख छ।  

अति गरिब परिवारका सदस्यलाई न्यूनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद देवकोटाले आफ्नै घरका साँचसहित ११ जना शिक्षक र अन्य सरकारी कर्मचारीलाई सूचिकृत गरेर हाजिरी लगाएका थिए।  

सिँचाइ कुलो निर्माणमा वडाध्यक्षले आफ्नै भाइ विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटा, सुर्खेत बस्ने भाइबुहारी जौमती देवकोटा, गडुलस्नानी आधारभूत विद्यालयका शिक्षक छोरा धर्मराज देवकोटा र बुहारी सोही विद्यालयकी शिक्षिका सुर्जकला पाण्डे, पदमलाल देवकोटासहित ११ जनाको नाम बेरोजगारको सूचीमा राखेर हाजिरी गराएका थिए।  

मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा आफ्नो उत्पादन तथा आयबाट एक वर्षमा तीन महिना भन्दा कम समयसम्म मात्र खान पुग्ने परिवार, परिवारका सदस्यहरु मध्ये पूर्ण तथा आंशिक अपाङ्गता परिचयपत्र पाएको परिवार, आश्रित परिवार संख्या धेरै भएको परिवार, द्वन्द्वपीडित परिवार र दलित, अल्पसंख्यक, लोपोन्मुख जाति जनजाति, आदिवासी जनजाति तथा भूमिहीन गरिब परिवारलाई यो कार्यक्रममा समेट्ने उल्लेख छ। 

 

प्रकाशित: १७ कार्तिक २०७७ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App