४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भालुको आक्रमण बढ्दै

हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ। त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ। उच्च भागमा चिसोपन बढ्न थालेसंँगै जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ। यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन्। उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ।  

भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक बताउँछन्। गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए। उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७७ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App