१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छोराको कुटपिटबाट घाइते आमाको मृत्यु

छोराको कुटपिटबाट ज्यान गुमाएकी सुदामा साह सोनार । तस्बिरःनागरिक

छोराको कुटपिटबाट घाइते सिराहाको कर्जन्हा नगरपालिका–३ की ७५ वर्षीया सुदामादेवी साह सोनारको शनिबार दिउँसो मृत्यु भएको छ। मंगलबार दिउँसो कान्छो छोरा रामऔतार साहको कुटपिटबाट घाँटीमा चोट लागि सुदामा घाइते भएकी थिइन्।  

दुई छोरा र तीन छोरीकी आमा सुदामा दुवै छोरा छुट्टिएपछि एक्लै बस्दै आएकी थिइन्। जेठा छोरा रामबहादुर र कान्छा छोरा  रामऔतार छुट्टिएर बस्दै आएका छन्। मंगलबार रामऔतारले बुहारी मनीषाको खुट्टाको घाउ धामी(झारफुक) गरी निको पारिदिन आमा सुदामालाई भनेको थियो। सुदामा गाउँमा धामीको काम पनि गर्दै आएकि थिइन्।  

बुहारी मनिषाको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई झारफुक गरिदिन भएपछि उनले मानिनन्। नमानेपछि उनीहरुबीच भनाभन भयो। रामऔतारले आमाको घाँटीमा गम्छा लगाएर भुँइमा लडाए। खुट्टाले वृद्ध आमाको घाँटीमा थिचिदिएपछि उनी अचेत भएको खबर सो वडाका वडाध्यक्ष कपलेश्वर यादवसम्म पुग्यो। यादवले प्रहरीलाई खबर गरे। प्रहरीले वृद्ध महिलालाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुर पुर्‍यायो। वडाध्यक्ष यादवकाअनुसार वृद्धा आमालाई लछारपछार गर्दै घाँटी थिचेको जानकारी प्रत्यक्षदर्शी छिमेकीहरुबाट पाएको छु।

घाइतेलाई जनकपुर पुर्‍याएपनि कुटपिटबाट घाँटीको हड्डी मोडिएकोले घर फिर्ता पठाइदिएको अध्यक्ष यादवले बताए। घरमै छोरीहरुले सेवा गरेर राखेपनि शनिबार स्वास्थ्य प्रतिकूल भएपछि जिल्ला अस्पताल सिरहा  पुर्‍याइएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता  डिएसपी शालीग्राम शर्मा पौडेलले जानकारी दिए। उपचारकै क्रममा उनको दिउँसो मृत्यु भएको उनले बताए। उनका अनुसार आरोपीत रामऔतार अहिले प्रहरी हिरासतमा छन्। 

उनले भने, ‘आइतबार उनीमाथी कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट अनुसन्धानकालागि म्याद लिन्छौं। आरोपी आफैंले पनि आरोप स्विकारेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ।’

प्रकाशित: १५ कार्तिक २०७७ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App