coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैं विदामा आकस्मिक बाहेक स्वाब संकलन र प्रयोगशाला बन्द

प्रदेश १ मा रहेको प्रदेश प्रयोगशाला र कोसी अस्पतालले स्वाब संकलन बन्द गरेको छ।  कर्मचारी अभाव र विदाका कारण दैनिक दिइँदै आएको सेवा बन्द हुने भएको हो।  दशैंको विदाको कारण देखाउँदै सरकारको स्वामित्वमा रहेको कोसी अस्पतालले पिसिआर परीक्षण बन्द गरेको जनाएको छ।  प्रदेश प्रयोगशालामा कर्मचारी अभावले स्वाब बन्द गरेको जनाएको छ।    

दशैंको समयमा अधिकांश कर्मचारी विदामा बस्ने भएकाले अस्पतालको पिसिआर परीक्षणको प्रयोगशाला बन्द गरिएको अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताए।  ‘विदाका समयमा स्वाब संकलन र बाहिरको पिसिआर परीक्षण बन्द गरको छौं,’ डाक्टर दासले भने, ‘अन्य समयको जस्तो नियमित पिसिआर परीक्षण नगर्ने भए पनि इमर्जेन्सी सेवा सुचारु हुनेछ।  लक्षणसहित कोही बिरामी अस्पतालको आइसोलेसनमा भर्ना गर्नु परे त्यस्ता बिरामीलाई सेवा दिने छौं। ’  

विदाका समयमा थोरै जनशक्तिबाट आइसोलेसनका बिरामीको पिसिआर परीक्षणका लागि आवश्यक कर्मचारी र अन्य व्यवस्थापन गरिसकेको दासले बताए।  ‘आजसम्म संकलन गरिएको स्वाबको पिसिआर परीक्षणको रिपोर्ट दिएर मात्रै कर्मचारी विदामा बस्ने छन्,’ डाक्टर दासले भने, ‘हाम्रो ल्याबमा धेरै परीक्षणका लागि स्वाब आएकाले रिपोर्ट दिन ढिलाई भएको हो। ’

विराटनगर महानगरपालिकासहित प्रदेशका अधिकांश ठाउँको स्वाब परीक्षणका लागि कोसी ल्याउने भएकाले पनि रिपोर्ट ढिलो आउने गरेको अस्पतालले जनाएको छ।  धरान, झापालगायतका स्थानमा रहेको सरकारी प्रयोगशालामा स्वाब परीक्षण गर्न नलिँदा कोसी अस्पतालमै थुप्रिएकाले रिपोर्ट ढिलो भएको  डाक्टर दासले भने।  

‘थोरै जनशक्तिले कति काम गर्ने गराउने ? धरान, झापालगायतका स्थानमा रहेको प्रयोगशालाले स्वाब लिन नमान्दा समस्या सिर्जना भएको हो,’ डाक्टर दासले भने, ‘यहाँ उदयपुर, सुनसरी, झापा, इलामलगायत धेरै जिल्लाबाट स्वाब आउँछ।  त्यहाँबाट ल्याइएका स्वाब हामी लिन्नौभन्दा पनि जाबरजस्ती छाडेर जान्छन्। ’ कोसी र विराटनगर महानगरपालिकाभित्र गरिएको स्वाबको पिसिआर परीक्षणको रिपोर्ट दिन धौधौ परेको समयमा अन्य ठाउँको थपिएपछि रिपोर्ट ढिलाइमा समस्या आएको हो, डाक्टर दासले भने।  

प्रदेश प्रयोगशालामा कर्मचारी अभाव भएपछि नियमित हुँदै आएको स्वाब संकलन र परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ।  विदालेभन्दा पनि भएको परीक्षणका टोली सदस्यहरू कमी भएपछि स्वाब संकलन र नियमित परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले बताए।  ‘इमर्जेन्सीबाहेका कसैको पनि स्वाब संकलन र परीक्षण गर्दैनौं,’ कार्कीले भने, ‘संकलन गरिएको पुरानो स्वाबको पिसिआर परीक्षणको रिपोर्ट दिन अझै ३/४ दिन लाग्छ।  अहिले दैनिक ६/७ सय जतिको रिपोर्ट दिइरहेका छौं। ’  

प्रदेश प्रयोगशालाको ११ जनाको टोली रहेकोमध्ये ५ जनालाई कोरोना पोजेटिभ भएकाले पनि काममा समस्या आएको कार्कीले बताए।  ‘प्रयोगशाला निर्देशक जयवेन्द्र यादवसहित ५ जना आइसोलेसनमा रहनु भएको छ,’ कार्कीले भने, ‘कसैको फोन वा सिफारिसका आधारमा कन्ट्याकट्रेसिङको पिसिआर परीक्षण गर्दैनौं।  इमरजेन्सीका बिरामीको परीक्षण कहिले पनि बन्द हुँदैन र गर्दैनौं। ’ प्रयोगशालका ५ जना कर्मचारीमध्ये प्रयोगशाला निर्देशक जयवेन्द्र यादव म्याक्स अस्पतालमा भर्ना, २ जना मारवाडी सेवा सदन आइसोलन र २ जना होमआइसोलनमा रहेकामध्ये १ जना डिस्चार्ज भएका छन्।  

 

 

प्रकाशित: ७ कार्तिक २०७७ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App