१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याग्दीमा खुद्रा नोटको अभाव

नेपाल बैंक म्याग्दीका शाखा प्रबन्धक मोहनप्रसाद लामिछाने । तस्बिर: हरिकृष्ण गौतम

दसैंको मुखमा म्याग्दीको सदरमुकाम बेनीमा खुद्रा नोटको अभाव भएको छ। राष्ट्र बैैकले सर्वसाधारणलाई लक्षित गरी हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको भएपनि यसवर्ष कोरोना भाइरसका कारण नयाँ नोट बजारमा आएसँगै पुरानो खुद्रा नोटको समेत चरम अभाव भएको हो।  

दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएपछि सेवाग्राही रित्तै फर्किन थालेको वित्तिय संस्थाका प्रतिनिधिले जनाएका छन्। यसवर्ष कोरोनाको जोखिमले चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणको कम भएपनि खुद्रा पैसाको माग अनुसार उपलब्ध गराउन समस्या भएको नेपाल बैंक म्याग्दी शाखाका प्रवन्धक मोहनप्रसाद लामिछानेले बताए।  

‘यो वर्ष सर्वसाधारणले पनि धेरै खोज्नुभएन,‘खोज्न आउनेलाई पनि पुर्‍याउनै सकिएन’ प्रबन्धक लामिछानले भने। विगतका वर्षमा सर्वसाधारणलाई ८ हजार ५ सयको दरले नयाँ नोट वितरण गर्ने गरिएकोमा यसवर्ष घरायसी प्रयोजनका लागि २ हजारदेखि १० हजारसम्म पुरानो र केही नयाँ नोट वितरण गरिएको उनले बताए। नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष भएकाले करिब १८ लाख नयाँ र पुरानो खुद्रा नोट उपलब्ध भएपनि नियमित ग्राहक र बैंकमा आउेन सर्वसाधारणलाई २ हजारदेखि १० हजारसम्म उपलब्ध गराइएको थियो।  

सदरमुकाम बेनीमा रहेका निजी तथा सरकारी वित्तिय संस्थाले विगतका वर्षको तुलनामा ८० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम भएको बताएका छन्। ५, १०, २०, ५०, १०० रुपैयाँको खुद्रा पैसाको धेरै माग रहेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए। ‘दसैं नजिकै अभाव सधै हुन्छ, यसपटक धेरै नै भयो’ ढुंगानाले भने। नयाँसहित पटकपटक प्रयोग भइसकेका पुराना खुद्रा नोट समेत बेनीका केही ब्यापारीले छिमेकी जिल्ला बागलुङमा रहेका वित्तिय संस्थाबाट समेत मगाएका छन्। 

यसवर्ष पहिलोपटक प्रयोग हुने र सुकिला नोट सर्वसाधारणले देख्नै पाएनन्। विगतमा ३६५ दिन खुल्ने बैंक तथा वित्तिय संस्था यसवर्ष दसैं बिदामा नखुल्ने भएकाले पनि सर्वसाधारणको भिड लागेको छ।

प्रकाशित: ६ कार्तिक २०७७ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App