८ वैशाख २०८१ शनिबार
समाज

दोलखामा आज रातीबाट निषेधाज्ञा

जिल्लामा लक्षणसहितका सक्रिय संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले दोलखामा दसैं अवधीभर निषेधाज्ञा लगाएको छ।  

सर्वसाधारणलाई घरमै बसेर दसैं मनाउन भनिएको छ। बिहीबार बिहान भएको जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन समितिको भर्चुअल बैठकपछि मध्यान्ह प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले आदेश जारी गर्दै आजै मध्यरात १२ बजेबाट जिल्ला भर निषेधाज्ञाको घोषणा गरेका हुन्।  

जिल्ला सदरमुकाम चरिकोटसहित जिल्लाका सबै बजार केन्द्रहरुमा मेडिकल बाहेक सबै पसलहरु खोल्न बन्देज लगाईएको छ। खाद्यान्न तथा तरकारी पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने भएको छ। यस्तै स्थानीयस्तरमा निजी तथा सार्वजनिक यातायातलाई चल्न रोक लगाइएको छ। बाहिरी जिल्लाबाट यात्रु लिएर आएका साधनहरुको हकमा भने केही खुकुलो बनाइएको छ। राजधानी लगायत बाहिरी जिल्लाबाट आउने यातायातका साधनहरुलाई आफूले यात्रु पुर्‍याउने गन्तव्यसम्म पुग्न र फर्कन मात्र दिईने भएको छ। यात्रु ओर्लने स्थानमा ओरालेपछि पर्खन बन्देज लगाइएको छ। अन्य जिल्लाले निषेधाज्ञा नलगाएका कारण दसैंमा बाहिरी जिल्लाबाट घर आउने यात्रुहरुका लागी कडाई गर्दा समस्या हुने भएकाले बाहिरी जिल्लाबाट आउने यात्रुलाई मापदण्ड अनुसार गन्तव्यसम्म जान दिइने प्रमुख जिल्ला अधिकारी शिवाकोटीले बताए।    

उनले आदेश मार्फत अत्याधिक जोखिम बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र घर भित्रै बसेर दसैं मनाउन र अनलाईन माध्यमबाट मान्यजनको आशिर्वाद लिन जिल्लाबासीलाई आग्रह गरेका छन्। दिर्घरोगी, वृद्धवृद्धा तथा प्रतिरोध क्षमता कमजोर भएका मानिसहरुको बिशेष ख्याल राख्न समेत उनले नागरिकलाई आग्रह गरेका छन्।  

दोलखामा सक्रिय संक्रमितको संख्या बिहीबार दिउँसोसम्म २७ छ। उनीहरु चरिकोटका कर्मचारी, सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, व्यापारीदेखि सर्वसाधारणसम्म छन्। थुप्रै मानिसहरुमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि पिसिआर परीक्षण गराउन स्थानीय अधिकारीहरुलाई दबाब बढेको छ।

प्रकाशित: ६ कार्तिक २०७७ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App