वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । वायु प्रदूषणसम्बन्धी बुधबार सार्वजनिक प्रतिवेदन ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ मा यस्तो तथ्य समावेश गरिएको छ । अध्ययन अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ४१ हजार चार सयजनाको मृत्यु भएको थियो ।
अमेरिकाको इनभाइरोमेन्टल प्रोटेक्सन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय निकायको सहयोगमा अनुसन्धानमूलक संस्था हेल्थ इफेक्ट्स इन्स्टिच्युटले बर्सेनि यो प्रतिवेदन तयार गर्छ । हावामा हुने अतिसूक्ष्म कण अर्थात् पिएम २.५ प्रदूषण, ओजोन ग्यास प्रदूषण र घरायसी वायु प्रदूषणको समष्टि वायु प्रदूषण मानिन्छ ।
प्रतिवेदनअनुसार हावामा हुने अति सूक्ष्म कण अर्थात् पिएम २.५ प्रदूषणका कारण सन् २०१९ मा १७ हजार नौ सय र ओजोन ग्यास प्रदूषणका कारण ६ हजार ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ । सन् २०१८ मा पिएम २.५ प्रदूषणका कारण १६ हजार ७ सय र ओजोन ग्यास प्रदूषणका कारण ५ हजार ८ सयजनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१९ मा घरायसी वायु प्रदूषणका कारण नेपालमा २१ हजार ६ सयजनाको मृत्यु भएकोे प्रतिवेदनमा जनाइएको छ । घरायसी वायु प्रदूषणबाट हुने मृत्युदरमा सन् २०१८ को तुलनामा २०१९ मा केही कमी भएको छ । सन् २०१८ मा घरायसी वायु प्रदूषणका कारण २२ हजार २ सयजनाको मृत्यु भएको अनुमान गरिएको थियो ।
प्रतिवेदनका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि ६७ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये दक्षिण एसियाको संख्या २१ लाख छ ।
वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका अति सूक्ष्म कणलाई पिएम २.५ मा मापन गरिन्छ । यी कण मानिसको कपालको रौंभन्दा ३० गुना साना व्यास भएका हुन्छन् ।
यसैगरी प्रतिवेदनका अनुसार सरदर वार्षिक पिएम २.५ प्रदूषणले प्रभावित हुनेमा नेपाल विश्वमा दोस्रो स्थानमा छ । पिएम २.५ को वार्षिक सरदर अंक ८३ दशमलव १ माइक्रोग्राम प्रतिघनमिटरसहित नेपाल दोस्रो स्थानमा परेको हो । हावामा हुने अति सूक्ष्म कण पिएम २.५ का हिसाबले विश्वमा सबैभन्दा बढी प्रदूषित देश भारत रहेको छ । सन् २०१९ मा विश्वको ९० प्रतिशत जनसंख्या विश्व स्वास्थ संंगठनले तोेकेको पिएम २.५ को मापदण्डभन्दा बढी प्रदूषणमा बाँच्न बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि ६७ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये दक्षिण एसियाको संख्या २१ लाख छ । वायु प्रदूषणका कारण मस्तिष्क, मुटु, मधुमेह, फोक्सोका रोगी अत्यधिक जोखिममा हुन्छन् ।
वातावरणविद् भूषण तुलाधर सरकारले गत माघमा स्वीकृत गरेको ‘काठमाडौं उपत्यकाका लािग वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ लाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताउँछन् । ‘फोहोर जथाभावी बाल्ने कार्र्य तत्काल रोक्न कडाइका साथ अनुगमन हुन सके पनि राजधानीको वायु प्रदूषण रोक्न धेरै सहयोग पुग्छ । यसैगरी सवारी प्रदूषण रोक्न गाडीले प्रदूषण जाँच गरेको प्रमाणित गर्ने ग्रिन स्टिकरको अनुगमनमा पनि उत्तिकै कडाइ गर्न आवश्यक छ,’ तुलाधर भन्छन् ।
‘काठमाडौं उपत्यकाका लािग वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६ मा वायु प्रदूषण रोक्न विभिन्न कानुनी तथा नीतिगत व्यवस्था गरिएको छ । मुख्य रूपमा सवारीसाधन तथा उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण नियन्त्रण, घरायसी तथा कृषिजन्य फोहोेर व्यवस्थापन, उद्योग तथा अस्पतालजन्य फोहोर व्यवस्थापनलाई सो कार्ययोजनामा प्राथमिकता दिइएको छ ।
राजधानी काठमाडौंबाहिर कृषि बाली भित्र्याइसकेपछि धुस्यान बाल्ने चलन भएकाले पनि त्यसले प्रदूषण बढाउने गरेको बताउँदै तुलाधर भन्छन्, ‘त्यस्तो कार्य गर्न तत्काल रोक लगाउन आवश्यक छ र व्यापक जनचेतना पनि उत्तिकै आवश्यक छ ।’
प्रकाशित: ६ कार्तिक २०७७ ०१:४५ बिहीबार