देश संघीय भयो भने विकास र राज्यबाट प्राप्त हुने सेवासुविधा तुरुन्तै पाइन्छ भन्ने जनतालाई लागेको थियो। यही आसमा जनताले राजनैतिक परिवर्तन गर्दै तीन तहको सरकार बनाउन सफल भए। तर, तीन तहकै सरकार बनेको पनि लामो समय भइसक्दा समेत जनताले न्यून आधारभूत आवश्यकता पूरा भएको महशुस गर्न सकेका छैनन्।
मानिसलाई जिउँनका लागि गाँस, बास र कपासको आवश्यकता पर्छ। त्यसमा पनि महत्व गाँसकै हुन्छ। तीन तहको सरकार भए विकास र समृद्धि हुन्छ भन्ने लागेको जनताले दैनिक उपभोग्य वस्तु सहजरूपमा पाउन सकेका छैनन्। पाए भने पनि चर्को मूल्य र गुणस्तरणहीन प्रयोग गर्न बाध्य छन्।
प्रदेश १ र त्यसको राजधानी विराटनगर काठमाडौं पछिको ठूलो राजनैतिक परिवर्तनको थलो मात्रै हैन। विराटनगरले सबैभन्दा बढी प्रधानमन्त्री जन्मायो। तर, विकासले सोचअनुरूप फड्को मार्न सकेन। यहाँका मानिसले पछिल्लो केही वर्षदेखि पानी गुणस्तरीय प्रयोग गर्न पाएका छैनन्। विराटनगरको विकासका सुरूवाती चरणमा राखिएका खानेपानीका पाइपबाट वितरण गरिएका शुद्ध पानीका नाममा मानिसले अशुद्ध पानी पिउन बाध्य छन्।
विराटनगरमा ४/५ वर्षदेखि पिउने पानीमा समस्या देखिएको हो। यत्तिका वर्ष भइसक्दा पनि स्थानीयले शुद्ध पिउने पानी पाएका छैनन्। त्यस समयमा वितरण गरिएको पानीमा फोहोर (कोलिफर्म)मैला, कालोलेदोलगायत आएपछि धाराको पानी प्रयोग गर्न छाडेका छन्। नेपाल खानेपानी संस्थानले वितरण गरेको पाइप पुरानो भएको र ठाउँ ठाउँमा भत्किएको हुँदा पानीमा खिया आउने, कालो माटो, बालुवा मिसिएको आउने गरेको छ।
४/५ वर्षअघि धाराको पानी खाएपछि विराटनगरमा जण्डिसको प्रकोप फैलिएपछि पानी प्रयोग गर्न छाडेका हुन्। यहाँका अधिकांशले खानेपानी संस्थान र निजी कम्पनीले उत्पादन गरिएको पानीको जारमा पैसा खर्च गर्ने गरेका छन्। अहिले पनि स्थानीयले धाराको पानी लुगा धुने, घर र भाडा सफा गर्ने जस्ता घरायसी काममा मात्रै प्रयोग गर्दै आएको बताउँछन्। संस्थानले खानेपानी वितरण गरिरहेको पुराना र जीर्ण पाइपलाइनका कारण जुनसुकै बेला पाइप फुट्ने र ढलको पानी पस्ने गरेको छ। यतिमात्रै हैन पानीमा अत्याधिक आइरन भएका कारण धाराबाट धमिलो पानी र लेदो आउने गरेको छ।
केही घरपरिवारले महँगो फिल्टर घरमा जडान गरेर धाराको पानी शुद्ध (निर्मलीकरण)गर्छन् त कोही पानी उमालेर साधारण फिल्टर गरेर पिउने गरेको बताउँछन्। यहाँका अधिकांश घर वा कार्यालयले प्लाष्टिकको बोतलमा प्याक गरेको (पानीको जार)नै पिउनका लागि खरिद गर्छन्। यसरी पानीमा दोहोरो शुल्क तिर्न बाध्य छन् विराटनगरका स्थानीयवासी।
‘मैले धाराको पानी सिधै नखाएको ५ वर्ष जति भयो होला,’ विराटनगर–३ का ठाकुर रेग्मीले भने, ‘विराटनगरमा खानेपानीको पाइपबाट कोलिफर्म किटाणु आएर जण्डिसको प्रकोप फैलिएपछि सिधै खान बन्द गरेको छु।’ बेला बेला पानी पनि आउँदैन थियो। अहिले पनि धाराको पानी सफा आउँदैन। ‘बिहानपख धारा केही समय खुला छाड्नु पर्छ, फोहोर माटो बालुवा मिसिएको आउँछ,’ रेग्मीले भने, ‘पानी उमालेर फिल्टर गरेर खाने गरेको छु। कहिले काहीँ जारको पानी खरिद गर्छु।’ यसरी पानी खाँदा दोहोरो शुल्क तिर्नुपर्छ। पानीको खानेपानी संस्थान र पानी ताताउँदा खपत भएको विद्युत्को शुल्क तिर्नुपर्छ, रेग्मीले भने।
‘खानेपानी संस्थानको धारा जडान गरे पनि त्यसको पानी पिउँदिन,’ विराटनगर–५ की शोभा थापाले भनिन्, ‘पिउनका लागि जारको पानी प्रयोग गर्दै आएको छु।’ धाराको पानी पिउन योग्य नभएको र त्यही पानीका कारण यहाँ जण्डिस फैलिएपछि पानी पिउन छाडेको बताइन्। ‘धाराको पानी घरको अन्य काममा प्रयोग गर्ने गरेको छु,’ थापाले भनिन्, ‘धाराको पानीमा धमिलो, लेदो र फोहोर आउने गरेको छ।’
विराटनगर वडा नम्बर १ र ३ वडाका केही क्षेत्र बाहेक अन्य सबै वडामा धाराको पानीमा समस्या रहेको बताउँछन्। त्यसो त विराटनगर–७ की मनिता भट्टराईको कुरा पनि अरुकै जस्तो छ। संस्थानले वितरण गरेको पानी पिउन डर लाग्ने बताउँछिन्। ‘धाराको पानी कहिले सफा आउँछ त कहिले फोहोर मिसिएको हुन्छ,’ भट्टराईले भनिन्, ‘धाराको पानीमा समस्या भएदेखि नै घरमा कल (चापाकल)गाडेका छौं। खानका लागि कलको पानी फिल्टर र कहिले जारको किन्ने गरेका छौं।’ अरुकै जस्तै यिनी पनि धाराको पानी पिउने बाहेक अन्य घरको काममा प्रयोग गर्छिन्।
‘धाराको पानी नाम मात्रको छ,’ विराटनगर–१२ का संजय यादवले भने, ‘३/४ वर्षदेखि संस्थानलाई मासिक शुल्क मात्रै बुझाउनु परेको छ। शुल्कअनुसारको सेवा छैन।’ नाला खन्दा र पाइप पुरानो भएको हुँदा ठाउँ ठाउँमा फुट्छ र त्यहाँ राम्रोसँग दुलो नटाल्दा फोहोर, लेदो र बालुवा मिसिएको पानी आउने गरेको छ। ‘कलको पानी फिल्टर गरेर खाने गरेका छौं,’ यादवले भने, ‘धारामा प्राय फोहोर पानी नै आउँछ। कहिलेकाहीँ हावा मात्रै पनि आउँछ।’ चुनावका समयमा नेताहरूले दिएको आश्वासन कुरामै सीमित भयो। उनीहरूको समय सकिन लाग्दासमेत बोलेको कुरा पूरा गर्नेतर्फ सोचेको देखिँदैन, यादवले भने, ‘स्थानीय चुनावमा विराटनगरवासीलाई स्वच्छ र शुद्ध पानीको व्यवस्था गर्ने भनेर भाषण गरे र अहिले त्यो सम्पूर्ण कुरा बिर्सिए।’
खानेपानी संस्थान विराटनगरका अनुसार नगर क्षेत्रभित्र १२ हजार घरमा पानीको धारा जडान गरिएको छ। घरमा धारा जडान गरेर पनि खानेपानीका लागि वैकल्पिक स्रोत खोज्नु पर्ने बाध्यताका कारण खानेपानी संस्थान विराटनगरका उपभोक्ता दोहोरो मारमा परेका छन्।
खानेपानी संस्थानले वितरण गरेको पानी पिउन योग्य रहेको खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्र साह दाबी गर्दछन्। ‘संस्थानले पानीको गुणस्तर परीक्षण गरेर मात्रै उपभोक्ताका धारामा पठाउने गरेको छ,’ प्रमुख साहले भने, ‘पानी दुषित छैन किनभने सरकारको मापदण्ड अनुसार पानीको परीक्षण गरेर मात्रै वितरण भइरहेको हुँदा गुणस्तरमा कुनै कमी छैन।’
‘पुरानो पाइप हटाएर नयाँ विस्तार गर्नु जरुरी छ,’ प्रमुख साहले भने, ‘बजेट अभावका कारण पाइपलाइन फेर्न समस्या भएको छ। पानीमा भएका अत्याधिक आइरनलाई हटाउन अनिवार्य फिल्टर गर्नुपर्ने हुन्छ। सरकारले पानी फिल्टरका लागि बजेटको व्यवस्था नगरेका कारण तत्कालै फिल्टर जडान गर्ने अवस्था छैन।’
साहका अनुसार जापानी सहयोग नियोग जाइकाको टोलीले गरेको अध्ययनले यहाँको खानेपानी सुधारका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखाएको छ। ‘महानगर क्षेत्रभित्र आवश्यक पर्ने पाइपलाइन, ओभरहेड ट्यांकी, फिल्टर प्लान्टलगायतका पूर्वाधार निर्माणको विषयमा जाइकाले अध्ययन गरी सकेको छ,’ प्रमुख साहले भने, ‘विराटनगरको खानेपानी सुधारका लागि जाइकाले परियोजना सञ्चालनमा ल्याउने तयारी गरे पनि कोरोना महामारीका कारण समस्या भएको छ।’
‘संस्थानले वितरण गरेको धाराको पानी पिउन लायक छैन,’ पब्लिक फोरोमका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘धारामा धमिलो पानी आउँछ। विराटनगरका सबै ठाउँमा पानीको ठूलो समस्या छ।’ संस्थानले चाडपर्वमा पानी नियमित दिनुपर्नेमा थोरै समय दिने र धारामा पानीको कुनै फोर्स नै छैन। ‘धाराको पानी फिल्टर गरेर मात्रै पिउने गरेका छौं,’ अध्यक्ष ढुंगेलले भने, ‘शुल्क लिएपछि शुद्ध पानी दिनुपर्ने दायित्व संस्थानको हो। पानीको समस्या लिएर बारम्बार संस्थानलाई जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन।’
प्रकाशित: ५ कार्तिक २०७७ ०७:४८ बुधबार