१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सांसदको दसैं भत्ता, केहीको भयो फिर्ता

संघीय संसद्का सांसदलाई गत वर्षदेखि दसैंभत्ता दिन थालेपछि यसको विरोध हुँदै आएको छ। यसलाई रोक्ने सोचाइ कसैको देखिँदैन। न त सांसदले नै यसमा दबाब दिन चाहन्छन्। जसले गर्दा सांसदले यस वर्षको दसैंको भत्ता पाएको १० दिन भइसक्यो, तर, दुई दिनदेखि विरोध हुन् सुरु भएको छ। यसपछि कोहीकोही सांसदले रकम फिर्तासमेत गर्न थालेका छन्।

अहिले दसंै भत्ता फिर्ता गर्ने वा नलिनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाका नेता तथा सांसद भीम रावल, नेकपाका जनार्दन शर्मा, नेकपाका सांसद सूर्य पाठक रहेका छन्। नेकपाका नारायाणकाजी श्रेष्ठले लकडाउनयता दुई महिना कोरोना कोषमा र त्यसपछि सरकारको विपद् व्यवस्थापन कोषमा पठएका छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दसैं भत्ता जनहितमा प्रयोग गर्न सरकारलाई आग्रह गरेका छन्। त्यसबापत आफूले पाउने भत्ता फिर्ता लिन आग्रह गर्दै खाँणले जनताले अभाव र कठिनाइ भोगिरहेका बेला दसैंभत्ता लिनु उचित नभएको जनाएका छन्। नेकपा सांसद विन्दा पाण्डेले पनि आधा महिनाको तलब कोरोना कोषमा पठाउँदै आएकी छिन्।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले आइतबार दसैभत्ताको रकम नै फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ। नेकपाका नेता तथा सांसद भीम रावलले आफूले दसैंभत्ताको रकम फिर्ता गर्ने भन्दै संघीय संसद् सचिवालयमा आइतबार पत्र पठाएका छन्। उनले पत्रमा लेखेका छन्, ‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु।’ उनले निवेदनमा भनेका छन्, ‘मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटिदिन्छु वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्न आग्रह गर्दछु।’

‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु। मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटिदिन्छु वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्न आग्रह गर्दछु।’

दसैभत्ताको विषयमा नेकपाका सांसद जनार्दन शर्माले पनि आफूले पाएको भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्। उनले सो रकम भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन्। उनले अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न आग्रह गरेका छन्। उनले फेसबुकमा स्टाटस लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैंभत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं। दसैंभत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’ नेपाली कांग्रेसका नेता गगन थापाले पनि दसैंभत्ता नलिने बताएका छन्। नेकपाका सूर्य पाठकले पनि संसद् सचिवालयमा रकम फिर्ता गर्न आइतबार निवेदन दिएका छन्।

गत वर्षको भदौ ३१ मा मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, संघीय संसद्का पदाधिकारी तथा सदस्यलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो। यसैगरी, नेपाल सरकारको कुनै पदसरहको तलबसुविधा सरकारी बजेटबाट पाउनेगरी नियुक्त भएका विभिन्न पदाधिकारीहरूका सल्लाहकार र स्वकीय सचिवालयका कर्मचारीलाई सम्बन्धित पदको नयाँ तलबसरह तलबमान कायम गर्ने र छ महिना सेवा अवधि पूरा गरेको अवस्थामा निजहरूलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो। यस निर्णयले राज्य कोषमा गत वर्ष नै साढे तीन करोडको व्ययभार थपिएको थियो।

प्रकाशित: ३ कार्तिक २०७७ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App