२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजधानीले बढायो संक्रमण, सचेत नभए स्थिति भयावह हुने चेतावनी

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीलाई गत शुक्रबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा छन्। सासंद दधिराम न्यौपानेलाई पनि शनिबार कोरोना देखिएपछि आइसोलेसनमा बसेका छन्।

यी मन्त्री, सभामुख, सांसद कोरोना संक्रमण पुष्टि हुनु तीन दिनअघिसम्म प्रदेशको नाम र राजधानीको प्रस्तावका सम्बन्धमा पटक पटक दलका बैठकमा सहभागी थिए। सदनमै सभामुख घर्ती अधिकाँश समय मास्क बिनै थिए। कानुनमन्त्री केसीले त सम्बोधनकै क्रममा मर्यादापाललाई  मास्क बिनै नजिकै मुख लगेर बिरोधमा उत्रने सभासदलाई घिसारेर बाहिर निकाल्न निर्देशन नै दिएका थिए।  प्रतिपक्षी सांसदहरु पनि स्वास्थ्य मापदण्डकाे ख्यालै नगरी रोष्टम घेराउ र नाराबाजीमा लागे। प्रदेशका मन्त्री, सभामुख, सांसद संक्रमित भएपछि अन्य सांसद, मर्यादापालकसहित संसद सचिवालयका कर्मचारीहरु अहिले तनावमा छन्।

उता राजधानी प्रस्तावका बिरुद्ध भएको सडक आन्दोलनलाइ साथ दिएका  तिलोत्तमाका नगरप्रमुख बाशुदेव घिमिरे, उनका स्वकीय सचिवसहित काँग्रेसका केही तरुण युवालाई पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्। सत्तारुढ दलबाटै  जितेका मेयर घिमिरेले मास्क बिनै मंगलबारको बिरोध सभालाई सम्बोधन गरेका थिए। काँग्रेसका तरुण युवाहरुले पनि मास्क बिनै दिनभर सडकमा नारबाजी गरेका थिए। ५ दिन लगातार बुटवलमा नेपाली काँग्रेस र व्यवसायिक संघसंस्थाहरुले गरेको प्रदर्शनमा न भौतिक दुरी कायम थियो। न मास्कको उचित प्रयोग गरेको देखियो। सरकार, जिम्मेबार प्रतिपक्ष दल र आफूहरुलाई समाजका अगुवा ठान्ने उद्योगी व्यवसायीका नेतृत्व पंक्तिले नै न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको खिल्ली उडाए। जसका कारण रुपन्देहीमा संक्रमणको जोखिम हवात्तै बढेको स्वास्थ्य अधिकारीहरु बताउछन्।

रुपन्देहीमा मात्रै पछिल्लो तीन दिनमा ४ सय २५ जना संक्रमित थपिएका छन्। अहिले देखिएको यो संख्या तत्कालै लक्षण देखिएपछि टेष्ट गराएकाको मात्रै हो।संक्रमितहरुको क्लोज कन्ट्रयाक्टमै रहेका धेरैको टेष्ट गर्नै बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए। ‘कन्ट्रयाक्ट टेसिङ्ग गर्दा यो संख्या अझ बढ्ला’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख समेत रहेका डा. गिरीले भने।  

यो प्रदेशमा आइसीयु भेन्टिलेटरको सेवा नपाएर संक्रमितले ज्यान गुमाइरहदा सरकारले त्यसको प्रवाह नै नगरी नाम र राजधानीको बिषय गत अशोज १६ गते सदनमा प्रवेश गराएको थियो। छलफल सहमतीको प्रयासै नगरी प्रस्ताव पास गराउने गृहकार्यमा जुटेपछि सदनदेखि सडकसम्म त्यसको बिरोध भयो। जसमा सरकार र प्रतिपक्ष दुवैले महामारीका बेला अपनाउनु पर्ने न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको ख्यालै गरेनन्।  

‘जनतालाई भिडभाड नगर, मास्क लगाउ भन्ने तर मुख्यमन्त्री, मन्त्री, सांसद र नेताहरुले जे गरे पनि हुने ?’ सुरु देखि नै संक्रमितको उपचारमा खटिएका बुटवलका एकजना चिकित्सकले भने। महामारी नियन्त्रणमा सरकार र राजनीतिक पार्टीहरु सबैभन्दा बढी जिम्मेवार र जवाफदेही बन्नु पर्नैमा उनले जोड दिए।

सरकारी कार्यालय, बजार र यातायातमा लापरबाही उस्तै

रुपन्देहीमै मालपोत, अदालत, नापी, यातायातका कर्मचारीहरुमा धमाधम संक्रमण देखिएको छ। डब्लुएचओका एक जना प्रतिनिधिकाअनुसार  सर्बसाधारणसंग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी भन्दा अन्य कर्मचारी संक्रमित भएका छन्। सरकारी कार्यालयहरुमा कर्मचारीहरु नै मास्कको प्रयोग र भौतिक दुरी कायम गर्दैनन्। सेवा प्रवाहमा ढिलासुस्ती गरिदिदा सेवाग्राहीको  भिड लाग्छ। बजार र सार्बजनिक यातायातमा पनि न भौतिक दुरी कायम छ, न मास्क आनिबार्य गरिएको छ। घरमै बसीबसी तलब खाएको भन्ने सवाल उठपछि सरकारी स्कुलहरु खोलिएका छन्। तर विद्यार्थीको स्वास्थ्य सुरक्षामा ध्यान दिइएको छैन।  

महामारीका बेला पनि होटल संस्कृतिबाट टाढा बस्न नसक्ने र भिडभाडमा रमाउने कर्मचारी, व्यापारी, शिक्षक, जनप्रतिनिधि तथा युवाहरुमा संक्रमण बढी देखिएको स्थानीय तहका स्वास्थ्य अधिकारीहरु बताउँछन्। युवा उमेर समूहका व्यक्ति र आर्थिक अवस्था राम्रै भएकाहरुमा संक्रमण भइहाले सजिलै परास्त गरिन्छ भन्ने सोच हावी भएको पाइन्छ। जसले बालबालिका, बृद्धबृद्धा, दीर्घरोगी या  विपन्न मुदायलाई  जोखिममा परिरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए। महामारीका बेला मानवीय र सामूहिक भावनाको विकास गर्नु पर्नेमा समाजको माथिल्लो वर्ग नै लापरवाह र स्वार्थी देखिएको उनको ठहर छ।‘महामारीका बेला आफू र आफनो परिवारको स्वार्थ मात्रै नहेरौ’ डा. गिरीले भने।

दसैंतिहारका बेला संक्रमण र मृत्युदर बढ्ने खतरा

लुम्बिनी प्रदेशमा गत साउनमा पहिलो लकडाउन खुल्दासम्म संक्रमितको संख्या जम्मा ४ हजार थियो। अहिले संक्रमितको संख्या १२ हजार ७ सय नाघेको छ। ती  मध्ये ९ हजार ७ सय संक्रमण मुक्त भइसकेका छन्। साढे २  हजार बढी सक्रिय सक्रमित छन्। कारोनाबाट शुक्रबारसम्म ९० जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो पटक थपिएका संक्रमित मध्ये झण्डै ७० प्रतिशतलाई लक्षण देखिएको प्रदेश प्रयोगशाला भैरहवाका प्रमुख डा. गिरी बताउँछन्। रुपन्देही, बाँके, कपिलबस्तु, बर्दिया, दाङमा संक्रमण बढ्दो छ। अहिलेसम्म प्रदेशका ६ पहाडी जिल्लामा तुलनात्मक रुपमा संक्रमणको दर कम छ।  

दसैं नजिकिदै गर्दा र सार्वजनिक यातायात खुलेपछि भारत तथा देशभित्रकै बिभिन्न शहरहरुबाट गाँउ फर्किनेहरुको संख्या बढेको  छ। त्यसरी फकर्नेहरुको पिसीआर टेष्ट गरिएको छैन। पालिकाहरुले क्वारेन्टाइन बन्द गरिसकेका छन्। होम क्वारेन्टाइनमा बसेकाको पिसीआरमा चासो दिइएको छैन। पिसीआर नै नगरी सार्बसाधारणलाई गाँउ पठाउने र बजार तथा यातायात क्षेत्रको भिडलाई नरोक्ने हो भने संक्रमणको दर दोब्बर हुने जनस्वास्थ्य अधिकारीहरु बताउँछन्।  

दसैतिहारमा अहिले कै अवस्था रहिरहे लुम्बिनी प्रेदशमा स्थिती भयावह हुनेभन्दै स्वास्थ्य अधिकारीहरु र डब्लुएचओका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २६ आश्विन २०७७ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App