१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘सिद्धान्तवादी’ कांग्रेस नेता प्रसाईंको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईं ( खनुपरूदेप्रकाहा) को ९९ वर्षको उमेरमा निधन भएको छ । सिद्धान्तवादी नेता खनुपरूदेप्रकाहाको शुक्रबार १२ः३० बजे उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्र प्रसाईं २०१६ देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए । २०१५मा भएको पहिलो आम निर्वाचनमा भने प्रजापरिषद्को तर्फबाट उम्मेदवार बनेका प्रसाईं २०४३ मा झापाको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

२०४८ मा झापाको कलबलगुडीमा भएको कांग्रेसको महाधिवेशनपछि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले उनलाई केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए । २०४८को आम निर्वाचनमा झापा– ५ र २०५१ मा झापा–२ बाट उम्मेदवार बनेका कांग्रेसका सादगी, त्यागी र मितव्ययी नेता प्रसाईं आर्थिक रुपले सम्पन्न भए पनि उनले कहिल्यै दम्भ देखाएनन् । कांग्रेसमा राजनीतिकमा विकृति भित्रिँदै गएपछि पार्टी राजनीतिबाट विस्तारै टाढिदै उनले समाजिक सेवामा सक्रिय भएका थिए । त्रिमूर्ती निकेतक जस्ता साहित्यिक संस्थामा संलग्न प्रसाईंको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलन असल योद्धा गुमाएको नेताहरुले स्मरण गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा प्रसाईंलाई स्मरण गरेका छन् । राजनीति र समाजसेवामा उनले आफ्नो बेग्लै पहिचान बनाएको उल्लेख गर्दै देउवाद्वारा जारी विज्ञपितमा भनिएको छ, ‘रामबाबु प्रसाईको निधनको खबरले मलाई दुःखी बनाएको छ । स्वर्गीय प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रसाईं अटल सिद्धान्तवादी नेताका रुपमा स्मरण गरेका छन््् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको योगदान अतुलनीय रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘पार्टीको स्थापनाकालदेखि निरन्तर पार्टीको सिद्धान्तलाई साकार रुप दिने अविचलन यात्रामा उहाँले आफ्नो सारा जीवन समर्पण गर्नुभयो ।’

पटक पटक जेल यात्रा, निर्वासन र प्रतिबन्धित जीवन यापन गर्दै लामो र कठीन यात्रा प्रसाइले पार गरेको स्मरण गर्दै उनले भनेका छन्, ‘प्रसाईं दृढ निश्चियी स्वभाव हामी सबैका लागि अनुकरणीय छ ।’

कृष्णप्रसाद भट्टराईको सभापतित्वमा प्रसाईं कोषाध्यक्षको जिम्मेवारीमा रहेको स्मरण गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले भनेका छन्, ‘नेपाली कांग्रेस र प्रजातन्त्रप्रति उहाँको योगदान सदा स्मरणीय रहनेछ ।’ प्रसाईंको त्यागी र निश्वार्थी जीवनशैलीबाट कांग्रेसका नेताहरुमा प्रेरण मिल्न सकोस् भन्दै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भनेका छन्, ‘त्यागी र निस्वार्थी जीवनशैली कांग्रेसजनले मात्र होइन सिंगो मुलुकका लागि प्रेरणदायी थियो ।’

प्रकाशित: २४ आश्विन २०७७ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App