१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ'

अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन्।  

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उनीहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताए।  

महिला अधिकारवादी डा. रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलिएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गरिन्। अधिकारकर्मी र मिडियाले पीडकलाई कारवाही भए÷नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायत असरबारेमा ध्यान नदिएको उनले औँल्याइन्। उनले भनिन्, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणि दीक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औँल्याए। सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उनको भनाइ थियो। महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मूलधारकै मिडियामा पनि कमजोर र शक्तिहीन महिलाका रुपमा चित्रण गरिने गरेको बताए। उनले भने, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठिरहँदा यससँगै वाकस्वतन्त्रताको विषय जोडिएको छ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याइन्। पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले सो समुदायका बालबालिकामा आफू तल्लो जातको हुँ भन्ने भावना विकास भएको उनको भनाइ थियो। कतिपय शिक्षित व्यक्ति समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उनको आरोप थियो। उनले भनिन्, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ।”रासस

प्रकाशित: २३ आश्विन २०७७ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App