८ वैशाख २०८१ शनिबार
समाज

अनशनको २६औं दिन: वार्ता सकारात्मक

चिकित्सा शिक्षामा सुधारका लागि विभिन्न माग राखेर अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले बिहीबार औपचारिक वार्ता थालेको छ । डा. केसी एकै प्रकृतिका माग राखेर अनशन बसेको यो १९औं पटक हो । पछिल्लोपटक अनशन बसेको २५औं दिनमा सरकारी टोलीले केसी पक्षको टोलीसँग वार्ता थालेको हो ।  

सरकारले बुधबार औपचारिक रूपमा शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठन गरेको तीन सदस्यीय टोलीले बिहीबार केसी पक्षसँग दुई चरणमा वार्ता गरे पनि निष्कर्ष निस्किएन । दुवै पक्षले वार्ता सकारात्मक ढंगले अघि बढेको बताएका छन् । सरकार जसरी हुन्छ, केसीको अनशन तोडाउने पक्षमा छ भने केसी माग सम्बोधन नभएसम्म अनशन नतोड्ने मनस्थितिमा छन् ।  

सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनाली संयोजक तथा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् । त्यस्तै केसीतर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा गठित वार्ताटोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।  

केसीका तर्फबाट वार्ताटोलीमा रहेका डा. कार्कीले छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताए । माग सम्बोधन गर्न सहमतिको पहिलो मस्यौदा तयार भएको उनको भनाइ छ । दुवै पक्षबीच थप गृहकार्य गरी शुक्रबार फेरि वार्तामा बस्ने सहमति भएको कार्कीले बताए ।

सरकारले विगतका सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको भन्दै केसीे भदौ २९ गतेदेखि अनशनमा छन् । कर्णाली प्रदेशको जुम्लाबाट ६ बुँदे माग राखेर आमरण अनशन बसेका केसीलाई सरकारले नवौं दिनमा काठमाडौं ल्याएको थियो । अहिले केसी त्रिवि शिक्षण अस्पतालमा छन् ।  

केसीका तर्फबाट वार्ताटोलीमा रहेका डा. लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउनमा आफूसँग गरेको सम्झौता उल्लंघन गरेकाले अनशन बस्नुपरेको डा. केसीले बताएका छन् । ओली नेतृत्वको सरकारले २०७५ साउन १० गते केसीको १५औं अनशन तोडाउने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएसलगात स्नातक तहमा विद्यार्थी भर्नाका लागि संघीय सरकारका प्रतिनिधि, कर्णाली सरकारका प्रतिनिधि, कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि र विज्ञसहित कार्यदल गठन गर्ने सहमति गरेको थियो । तर यो सहमति कार्यान्वयन भएको छैन । केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति व्यवस्था गरी एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने मागलाई अहिले पनि प्राथमिकताका साथ उठाएका छन् । केसीले प्रतिष्ठानमा स्नातकोत्तर तहको कार्यक्रम चलाउन तत्काल अनुमति दिनुपर्ने माग पनि राखेका छन् ।

केसीको अर्को माग गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति व्यवस्था गरी पठनपाठन सुरु गर्नुपर्नेछ । त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने माग पनि उनको छ । उनले यो माग १५औं अनशनका बेला पनि राखेका थिए । यो माग सम्बोधन गर्ने सहमति सरकारले २०७५ सालमा गरे पनि त्यसअनुसार अहिलेसम्म काम भएको छैन ।  

२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा नियमावलीमा संशोधन गरी मेडिकल शिक्षामा स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने व्यवस्था नगरिएकाले अहिले पनि केसीले सोही माग दोहो-याएका छन् । २०७५ को सम्झौता कार्यान्वयनमा सरकार इमानदार भए यो माग पनि सहजै सम्बोधन हुने देखिन्छ ।  

त्यस्तै केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने माग राखेका छन् । त्रिभुवन विश्वविद्यालय, काउन्सिल र चिकित्सा प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप कानुन बनाउनुपर्ने उनको माग छ । वरिष्ठताका आधारमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिनलगायत नियुक्त गर्नुपर्ने माग उनले पहिलो अनशनदेखि उठाउँदै आएका छन् । उनकै संघर्षका कारण वरिष्ठताका आधारमा नियुक्ति गर्ने परिपाटी सुरु गरिए पनि अहिले फेरि ओली नेतृत्वको सरकारले कनिष्ठ डा. दिव्यासिंह शाहलाई संस्थानको डिन बनाएको छ ।  

यसैगरी अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेट व्यवस्था गरी त्यहाँबाट दिगो निःशुल्क सेवा सुनिश्चित गरियोस् भन्ने पुरानै माग राखेका छन् । सरकारले विगतमा केसीसँग बयलपाटा अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक बजेट उपलब्ध गराउने सम्झौता गरेको थियो ।

स्वास्थ्य अवस्था झन् कमजोर  
अनशनरत केसीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. सुवास आचार्यले जानकारी दिए । रक्तचाप पनि निकै कम भएको उनले बताए । जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्नेलगायतका समस्या पनि उनमा देखिएका छन् । डब्लुबिसी, सुगर र पोटासियमलगायतका तत्व पनि घट्दै गएको चिकित्सकले बताए । उनलाई कुनै बेला पनि भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सक बताउँछन् । डा. आचार्यको टोलीले उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको छ ।  

सेवा बहिष्कार
केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन चिकित्सकहरूले बिहीबार ९ देखि ११ (दुई घन्टा) बजेसम्म अस्पतालमा आकास्मिक र कोभिडका बिरामीबाहेक अरूलाई जाँचनन् । नेपाल चिकित्सक संघको अगुवाइमा बिहीबारदेखि देशरभर चरणबद्ध आन्दोलन घोषण गरिएको छ । शुक्रबार देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिडबाहेक अन्य सेवा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा. बद्री रिजालले बताए ।

प्रकाशित: २३ आश्विन २०७७ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App