१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंमा घर फर्किनेलाई सन्देश: ‘सकेसम्म घरै नआउनू, आइहाले गाउँ नडुल्नू’

दसैंको चटारो सुरु हुनै लागेको छ। घरबाहिर रहेका आफन्त दसैंमा आफन्तको हातको टीका थाप्न धमाधम घर फर्किने तयारीमा छन्। कोरोना भाइरस संक्रमण यहीबेला तीव्र भइरहँदा दसैंमा घर फर्किने ती आफन्तबाट घरसम्म संक्रमण भित्रिने त्रास पनि उत्तिकै छ। संक्रमणको त्यही जोखिम कम गर्न भन्दै विभिन्न जिल्लामा घर फर्किनेलाई ‘होम क्वारेन्टिन’ राख्ने तयारी गरिएको छ।

तनहुँको जिल्ला संकट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले दसैंमा घर फर्किने जो कोहीलाइ होम क्वारेन्टिन राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानीय तहका पदाधिकारीसँग छलफल गर्दै घर फर्किनेलाई होम क्वारेन्टिन राख्ने निर्णय गरिएको हो। ‘सकेसम्म घरै नफर्किनु भनेका हौ। जो जहाँ छ, त्यही दसैं मनाउन सरकारले आग्रह गरिरहेको छ। तर, घर फर्किएको खण्डमा उनीहरुलाई गाउँ डुल्न नदिउँ, घरमै बसालौ भन्ने हो,’ आचार्यले भने, ‘पहिलेजस्तो विद्यालय र सामुदायिक भवनमा बनेका क्वारेन्टिनमा राख्ने होईन। घरकै क्वारेन्टिनमा राख्न चाहेका हांै।’

दसैंमा घर आएका आफन्त पीङ खेल्न, रमाउन, साथीभाइ छरछिमेक र आफन्त भेटघाट गर्ने भन्दै गाउँ डुल्ने गरेकाले पनि त्यो हुन नदिन होम क्वारेन्टिन अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए। ‘विद्यालय र सामुदायिक भवनमा बनाइएका क्वारेन्टिनमा राख्ने होइन, अब त्यो सम्भव पनि छैन,’ उनले भने, ‘सकेसम्म घरै नआउनु भन्ने हो। आइहाले पनि गाउँ नडुल्न भनेका हाैं। अहिले गाउँ डुल्ने अवस्था छैन। एकजनाका कारणले समग्र समुदायलाई नै अप्ठेरोमा पार्नु हुँदैन।’ स्वास्थ्य मन्त्रालयले पनि नियमित रूपमै दसैंमा सकेसम्म जो जहाँ छ, त्यही बस्न भनिरहेकोले स्थानीय प्रशासनले पनि घरभित्रै बस्न भनेको उनले बताए।

‘दसैंका बेला भित्रिएका कोही एकजना व्यक्तिलाई केहीगरी संक्रमण भयो भने घरकै परिवार मात्र जोखिममा हुन्छन्। गाउँ नडुल्ने हो भने टोल, छिमेकी सुरक्षित रहन्छन्,’ उनले भने, ‘हामीले पनि टोल, छिमेकमा संक्रमण नफैलियोस् भन्न चाहेका हांै। गाउँ डुल्दा संक्रमण फैलने त्रास हुन्छ।’ दसैंमा घर फर्किएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहको वडाका प्रतिनिधिले निगरानी गर्ने पनि उनले बताए। ‘यतिबेला जथाभावी हिँडडुल गर्न जरुरी छैन। आफन्त र छरछिमेकलाई संक्रमणबाट बचाउने हो भने घर भित्रिएका व्यक्ति घरमै सिमित हुनुपर्ने उनले बताए।

तनहँुँको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँका सबै स्थानीय तहले दसैंमा घर फर्किँदा सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न निर्देशन दिएको बताए। ‘सकेसम्म जो जहाँ छ, त्यो त्यही बस्ने हो, केहीगरि घर फर्किनैपर्ने अवस्थामा घरमै सुरक्षित बस्नु भनेका हौ,’ न्यौपानेले भने, ‘घरमा सुरक्षित नहुने अवस्था भएमा नआउनु नै बेस हो। गाउँमा लखरलखर डुल्नु जरुरी छैन।’ पछिल्लो समय काठमाडौंबाट घर फर्किएका व्यक्तिमा संक्रमणको जोखिम रहेकोले पनि होम क्वारेन्टिन अनिवार्य गरेको उनले बताए। स्थानीय तहले सकेसम्म घरै नआउनू, आइहाले गाउँ नडुल्नू भन्ने सन्देश प्रवाह गरिरहेको न्यौपानेले बताए।

पोखरा महानगरपालिकाको स्वास्थ महाशाखाका अधिकृत हरिलाल आचार्यले जनप्रतिनिधिमार्फत होम क्वारेन्टिनमा बस्न कडाई गरिएको जानकारी दिए। होम क्वारेन्टिनमा बस्न सम्भव नभए संस्थागत क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको उनले बताए। आचार्यका अनुसार पोखरा महानगरपालिकाले संचालन गरेकामध्ये तीनवटा क्वारेन्टिन अहिले पनि चालु छन्। लेकसिटि क्वारेन्टिन, पद्य नर्सिङ होमको नदीपुरको भवन (महिला) र भलामको ¥यालेचौरको क्वारेन्टिन अहिले पनि संचालनमा रहेको आचार्यले बताए। ती क्वारेन्टिनमा अहिले पनि २५ जनाजति बसिरहेका छन्। ‘दसैंमा जोखिम भएकोले नै हामीले सकेसम्म जो जहाँ छ, त्यही बसेर दसैं मान्न र केहीगरि आउनै परेमा गाउँ र सहर नडुल्न भनेका छौ,’ आचार्यले भने, ‘यसबारे नागरिक पनि सचेत बन्नुपर्छ।’ दसैंमा छोटो अवधिका लागि मात्र आफन्त घर फर्किने भएकोले पहिलेजस्तो १४ दिन क्वारेन्टिन अनिवार्य सम्भव नभएको पनि उनले बताए।

राजधानीमा संक्रमण तीव्र रहेको र राजधानीबाट फर्केका व्यक्तिमा बढी संक्रमणको जोखिम रहेकाले पनि दसैंको बेला घर फर्किनेलाई बढी निगरानी गर्नुपर्ने उनले बताए। ‘कोरोनाका कारणले नागरिक लामो समयदेखि घरभित्रै थुनिएका छन्। यो दसैंलाई सबैले घुमफिरका लागि अवसरका रूपमा पर्खेका थिए,’ आचार्यले भने, ‘तर संक्रमण बढ्दो छ। त्यसैले घुमफिर र घर फर्किनेबाट गाउँगाउँसम्म संक्रमण फैलिने चिन्ता छ।’

संक्रमणको गति नबढोस भनेर अहिले पनि कतिपय जिल्लाले भित्रिएका नागरिकलाई क्वारेन्टिन अनिवार्य नै गरेका छन्। हिमाली जिल्ला मुस्ताङ र मनाङले घर फर्किने जिल्लावासी र जो कोहीका लागि अनिवार्य गरेको क्वारेन्टिन अझै जारी छ। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुुसार मुस्ताङले कोरोना संक्रमण सुरु भएदेखि नै जिल्ला भित्रिने जो कोहीलाई १४ दिन क्वारेन्टिन अनिवार्य गरेको थियो। त्यो अवधिको क्वारेन्टिन अनिवार्य अझै पनि छ। तर, दसैंमा आएका आफन्तलाई १४ दिन क्वारेन्टिन बस्न असम्भव हुने भएपछि घरमै सुरक्षित रूपमा बस्न अनुरोध गरिएको पौडेलले बताईन। ‘सकेसम्म त हामीले दसैंमा घर फर्किनेले पनि पीसीआर रिपोर्ट लिएर आउनु भनेका छौं। त्यो अनिवार्य भने छैन। तर जिल्ला भित्रिएका नागरिकलाई सकेसम्म स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्न भन्ने हो,’ उनले भनिन्, ‘सुरक्षित रूपमा घरमै बस्छु भन्नेलाई पनि छुट छ। तर, गाउँ डुल्न भने कडाइ छ।’ उनका अनुसार मुस्ताङमा समुदायले नै यो जोखिममा घर फर्किनेलाई कडाइ गरिरहेकोले जहाँ पायो त्यहाँ हिँडडुल सहज छैन। ‘खुला छाडौं संक्रमणको त्रास, नछाडौं वर्षदिनको चाँडमा आउनेलाई घरसम्म जान सहज छैन,’ उनले भनिन्, ‘यस्तो बेला के गर्ने भन्नेमा नागरिक आफैं सचेत हुनुपर्छ।’

प्रकाशित: २१ आश्विन २०७७ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App