१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'कोभिड–१९ ले विश्वभर मानसिक स्वास्थ्य सेवा प्रभावित'

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक सर्वेक्षणले देखाएको छ। विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ।

अक्टुबर १० लाई विश्व मानसिक स्वास्थ दिवसको रूपमा मानिँदै आएको छ। यही दिनको पूर्वतयारीका रूपमा डब्लुएचओले सो सर्वेक्षण सार्वजनिक गरेको हो। अक्टुबर १० मा डब्लुएचओले मानसिक स्वास्थबारेमा पैरवी गर्न अनलाइन कार्यक्रमको आयोजना गर्न लागेको छ, जसमा विश्वका नेता, प्रसिद्ध व्यक्तित्व मानसिक स्वास्थका पैरवीकर्ताको सहभागिता हुनेछ।

संगठनले कोभिड–१९ महामारी सुरु हुनुअघि पनि मानसिक स्वास्थको क्षेत्रमा अपेक्षित लगानी नभएको भनेर विश्व समुदायको ध्यान आकृष्ट गरेको बताएको छ। अधिकांश राष्ट्रले स्वास्थ्य क्षेत्रको कुल राष्ट्रिय बजेटको २ प्रतिशतभन्दा कम मानसिक स्वास्थ्यमा लगानी गर्ने गरेका छन्।

महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएकोछ। कतिपय मानिस अध्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन् भने कोभिड–१९ले पनि दिमाग तथा मानसिक स्वास्थमा असर गरेकाले समस्या झन् बढेको संगठनले जनाएकोछ। पहिले नै मानसिक स्वास्थको समस्या रहेकालाई कोभिड–१९ को संक्रमण र मृत्युसमेतको जोखिम अत्यधिक रहने डब्लुएचओले बताएको छ।

‘समग्र स्वास्थ्य र कल्याणका लागि राम्रो मानसिक स्वास्थ्य अत्यन्त महŒवपूर्ण हुन्छ,’ संगठनका महानिर्देशक डा. टेड्रोस अथानोम घेब्रेससले भने। उनले अत्यधिक मात्रामा आवश्यक रहेको बेला मानसिक स्वास्थ सेवा प्रभावित हुनु दुःखको कुरा रहेको बताउँदै विश्व नेतृत्वले यस्मा तत्काल लगानी बढाउन आवश्यक रहेको पनि बताए।

संगठनले गरेको सो सर्वेक्षण सन २०२० को जुनदेखि अगस्ट महिनासम्म १३० देशमा गरिएको थियो। अध्ययनले ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको तथा तीन चौथाइले विद्यालय तथा कार्यलयमा मानसिक स्वास्थ सेवा अवरुद्ध भएको बताएका छन्। यसैगरी, ७० प्रतिशत राष्ट्रले टेलिमेडिसिन तथा टेलिथेरापीमार्फत मानसिक सेवा परामर्श दिएको पाइएको छ।

प्रकाशित: २१ आश्विन २०७७ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App