६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोनाबाट मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्षमाथिका

नेपालमा एन्टिजेन परीक्षण हुने

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्षमुनिका छन्। मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो। त्यसमध्ये १ सय ६७ जना ५० वर्षमुनिका छन्। त्यसमा पनि ४० देखि ४५ वर्षसम्मा धेरै छन्। मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्ष माथिका छन्।

नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘कारणबारे थप अध्ययन हुनुपर्छ, ’ उनले भने। तर कम उमेर भएपनि शरिरको प्रतिरोधात्मक क्षमता कमजोर छ भने कोरोना भाइरस मृत्युको कारण बन्ने उनले बताए। ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भर पर्छ,’ उनले भने।

नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरूले जनाएका छन्। विकसित देशको तुलनामा नेपालमा ७० वर्षमाथिका वृद्धहरूको संख्या कम हुनु र बढी मात्रामा युवा समूहमा नै कोरोना संक्रमण हुनुले ५० वर्षमुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरूको तर्क छ। कम उमेरका भए पनि उनीहरू कुनै न कुनै दीर्घरोगबाट प्रभावित भएकाले यो उमेरका कोरोना संक्रमितको मृत्यु भएको हुनसक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको विश्लेषण छ। पछिल्लो समय नेपालमा गलत जीवनशैलीको कारण मोटोपना भएका युवा संख्या बढिरहेकाले पनि युवा उमेर प्रभावित भएको उनको तर्क छ। ‘मोटा व्यक्ति जोखिममा हुने कुरा नेपालमा त्यति चर्चामा छैन, तर कोरोना भाइरसले मोटा व्यक्तिलाई बढी असर गर्छ ,’ उनले भने।

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा युरोप र अमेरिकाको तुलनामा उमेर समूहको बनोट पनि ७० वर्ष मुनिका धेरै रहेकोले मृत्यु पनि कम उमेरको भएको हो। यो उमेर समूहमा क्षयरोग, रक्तचाप, दम, मधुमेह, मिर्गौलासम्बन्धी अन्य रोग भएकाले पनि यो उमेर समूहका मानिसको मृत्यु भएको डा. पुन बताउँछन्। ‘कम उमेरमै यस्ता दीर्घरोग छन् भने कोरोनाले हुने मृत्युमा उमेरको हदबन्दी हुँदैन,’ डा. पुनले भने।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालका अनुसार नेपालमा कोरोनाबाट संक्रमित हुनेमा ९२ प्रतिशत ६० वर्षमुनिका छन् भने ७० वर्षमाथिका ६÷७ प्रतिशत छन्। परिषद्ले केही समयमै नेपालमा कोरोना संक्रमण र मृत्यु स्थितिबारे तथ्यांक व्यवस्थित गर्न लागेको उनले जानकारी दिए।

संक्रमित संख्या ९० हजार बढी पुग्यो
बढ्दो कोरोना संक्रमणको कारणले गत २४ घण्टामा देशभरिमा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। मृत्यु हुनेमा ४ महिला र ५ पुरुष छन्। नेपालमा कुल मृतक संख्या ५ सय ६३ पुगेको छ।

त्यस्तै पछिलोपटक थप १५ सय ५१ जना संक्रमित भएका छन्। यीसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ४ सय १४ पुगेको छ। गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जना थप संक्रमित पुष्टि भएका छन्। उपत्यकाबाहिर चितवन र रुपन्देहीमा उल्लेख्य संख्यामा नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्येमा हालसम्म ६७ हजार ५ सय ४२ जना निको भएका छन् भने २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १३ हजार ५ सय ९१ जना होम आइसोलेसन र ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर समस्या भएका २ सय ४३ जनाको आइसियु र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा १० हजार ४७ वटा नमुना परीक्षण गरिएको थियो।

नेपालमा एन्टिजेन परीक्षण हुने
नेपालमा अवदेखि एन्टिजेन परीक्षण सुरु गरिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ठूलो समूहमा एकैपटक परीक्षण गर्न मिल्नेगरी यो सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस परीक्षणसम्बन्धी नेसनल टेष्टिङ गाइडलाइनमा परिमार्जन गरी एन्टिजेन परीक्षण थप गरिएको छ। यो विधिअनुसार गरिएको परीक्षणको रिपोर्ट तुरुन्त आउने र एकैपटक धेरै संख्यामा परीक्षण गर्न उपयुक्त मानिन्छ। अस्पतालमा तुरुन्तै सल्यक्रिया गर्नु परेमा, सामूहिक बसाइँ भएका ठाउँमा यसको परीक्षण गरिन्छ। यो परिक्षणको लागि रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट मान्यताप्राप्त उत्पादनलाई मात्र मान्यता दिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७७ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App