४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सात सय कैदीबन्दीमा संक्रमण

देशभरका विभिन्न कारागारमा रहेका सात सयभन्दा बढी कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ। कारागार व्यवस्थापन विभाग आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट विभिन्न कारागारमा रहेको आठ कैदीबन्दीको मृत्यु भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिएका हुन्।

‘देशभरका ४० भन्दा बढी कारागारमा रहेका सात सय कैदीबन्दी कोरोना भाइरस संक्रमित भइसकेका छन्,’ उनले भने, ‘त्यस्तै आठजना कैदीबन्दीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ। सबैभन्दा बढी केन्द्रीय कारागार कार्यलय, सुन्धारामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।’ उनका अनुसार राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारपछि बाँके र मोरङमा रहेको कारागारमा एक–एक जनाको कैदीबन्दीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ।

विभागको विवरणअनुसार हालसम्म विभिन्न कारागारमा रहेका एक हजार नौं सयभन्दा बढी कैदीबन्दीको पिसिआर परीक्षण भएको थियो। त्यसमध्ये सात सय जनाको रिपोर्ट पोजिटिभ आएको थियो भने करिब दुई सय कैदीबन्दी उपचारपछि निको भएको जनाइएको थियो। विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ।

‘कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागु गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ,’ उनले भने, ‘आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको छ। शंकास्पद कैदीबन्दी, प्रहरी र कर्मचारीलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ।’ विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना भाइरस संक्रमण धेरै देखिएको छ।

प्रकाशित: २० आश्विन २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App