१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीको निशानामा लागुऔषध कारोबारी

लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको कपिलवस्तुमा प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ। प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन्।  

लागुऔषध कारोबारीहरु अहिले प्रहरीको निशानामा परेका छन्। प्रहरीले नेपालबाट चरेश, अफिम, गाँजा भारत पठाउने र भारतबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ। खुला सिमानाको फाइदा उठाउदै भइरहेको लागुऔषधको अवैध कारोबार रोक्न प्रहरीले विगत एक महिना भित्र ठूलो परिमाणमा चरेश, अफिम पक्राउ गरेको छ।  

यस्तै ब्राउन सुगर, प्रतिबन्धित लागुऔाषधसहित मानिस समेत पक्राउ परेका छन्। प्रहरीले एक साताभित्रै कृष्णनगर क्षेत्रमा ३७ किलो चरेश, साढे ७ किलो अफिमसहित ४ जनालाई पक्राउ गरेको छ। यही अवधिमा २७ ग्राम ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए। दुई दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पिपलबोट चेक प्वाईन्टमा आकस्मिक चेकजाँचका क्रममा रोल्पा साबिक कुरेली गाबिस १ की सिता रोकालाई अफिमसहित पक्राउ गरेको थियो।  

चन्द्रौटाबाट कृष्णनगर तर्फ आउदै गरेको लु.१.ह १५७ को अटोमा सवार उनलाई शंका लागी चेक गर्दा झोलामा राखेको अवस्थामा अफिम बरामद भएको थियो। घटनामा अटो चालक शिवराज नगरपालिका–५ बस्ने शुशील क्षेत्रीलाई समेत नियन्त्रणमा लिइएको थियो। गत असोज ७ गते कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका थिए। मकवानपुर मनोहरी गाउँपालिका– ९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभर की ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको थियो।  

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादापुरमा ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका वर्ष २५ को लल्लु भन्ने नियाज धुनिया रे वर्ष २० को अजमेरी धुनियामा २७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।  

पछिल्लो एक महिनाको अवधिमा स्पास्मो, नाईट्रोसन लगायतका लागुऔषधसहित  आधा दर्जन ब्यक्तिहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी उपरिक्षक नवराज अधिकारीले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताए। ‘लागुओषध कारोबारीहरुको संजाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने।  

‘हामीले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ’ उनले भने। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए।

प्रकाशित: १५ आश्विन २०७७ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App