१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुई जनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ। बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ।

बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचाररत लक्षणसहितका ११२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा रहेका बिरामीमध्ये २१ जनाको अवस्था गम्भीर छ।  

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोभिड विशेष वार्ड सञ्चालनमा छन् । ती वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ। आठ सघन उपचार कक्षसहित ७२ शय्या क्षमता रहेको भेरीको कोभिड आइसोलेसन वार्डमा अहिले ६० बिरामी उपचाररत छन्। तीमध्ये १८ जनाको अवस्था गम्भीर छ। ३७ जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए।

सय शय्या क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ बिरामी उपचाररत छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर तथा पाँच जनाको मध्य र ४४ जनाको सामान्य छ।

प्रकाशित: १५ आश्विन २०७७ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App