११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोनालाई जित्नेकाे अनुभव, 'हेलचेक्रयाइँ त गर्नै नहुने रहेछ’

क्रमितलाई हेला होइन, माया गरौं

सोम थापा(५०)लाई साउन अन्तिमतिर सामान्य रुघाखोकी लाग्यो। रुघाखोकीसँगै उनमा हल्का ज्वरो पनि थियो। लेकसाइडमा पर्यटन व्यवसाय संचालन गर्दै आएका थापाले कोरोनाका कारण गरिएको लकडाउन खुकुलो भएसँगै व्यवसायलाई निरन्तरता दिए। त्यो अवधिमा अरु पर्यटन व्यवसायीसँगै उनको हेलमेल हुन्थ्यो।  

त्यही बीचमा कोरोनाको लक्षणसँग मिल्नेगरि बिरामी परेपछि थापाले व्यवसायमा ताला ठोके, अनि घरभित्रै बसे। बाहिर कतै निस्केनन्, साथीभाइसँग भेटघाट त परैको कुरा, परिवारसँग पनि कमै हेलमेल गरे। सुरुमा रुघाखोकीसँगै ज्वरो आएपछि चिकित्सकसँग सुझाव लिँदा सामान्य भाइरल भन्दै औषधि दिए। केही समयपछि ज्वरो निको भयो। तर, श्वासप्रश्वासमा भने समस्या देखियो। त्यसपछि बल्ल उनले आफुलाई कोरोना संक्रमणको अनुमान गरे। त्यत्तिन्जेलसम्म दुईसाता बितिसकेको थियो।  

श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षणका लागि स्वाब दिएर फर्किए। तर, घरमा बसेनन्। चरक मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना हुन पुगे। चरक हालै खुलेको नयाँ अस्पताल हो। सुविधासम्पन्न त्यो अस्पतालले कोरोनाको आशंकामा भर्ना भएका बिरामीको उपचार थालिसकेको थियो। चरकमा कोरोनाको आशंकामा उपचारार्थ पुगेका उनी दोश्रो बिरामी थिए। चिकित्सकले परीक्षणका क्रममा निमोनिया भएको पुष्ट्याँइ गरिदिए। त्यो बेलासम्म उनको शरिरमा अक्सिजनको तह घटिसकेको थियो।

रिपोर्ट नआएपनि लक्षणका आधारमा अस्पतालले आइसोलेसन कक्षमा राखेर थापाको उपचार थालिसकेको थियो। तेश्रो दिन कोरोना संक्रमण पुष्टि भयो। अनी उनलाई चिकित्सकले त्यही अनुसार उपचार गर्दै गए। झन्डै दुईसाता लगाएर निको भएर घर फर्किएका थापा भन्छन्, ‘भाइरल ज्वरो भनेर झुक्याउने रहेछ। निको भएपछि बल्ल श्वासप्रश्वासमा समस्या देखियो। बेलैमा उपचार पाइयो र घर र्फिन सकियो। हेलचेक्रयाँइ त पटक्कै गर्नै हुने रहेनछ।’ थापालाई उपचारको क्रममा चिकित्सकले मनोवल उच्च बनाइदिन्थे। निजी अस्पताल भएकोले चिकित्सकलको निगरानी पनि उनले बढी नै पाइरहेका थिए। ‘कोरोनाले कुनै पनि बेला जुनसुकै समस्या निम्त्याइदिन सक्छ भन्दा अलि डर लाग्थ्यो,’ थापाले भने, ‘बेलैमा अस्पताल पुग्न सके ज्यान बच्ने रहेछ।’  

आफूलाई कहाँबाट संक्रमण भयो भन्ने उनलाई अहिले पनि थाहा छैन। थापालाई संक्रमण पुष्टि भएपछि परिवारका सदस्यको पनि परीक्षण गरियो, तर कसैमा संक्रमण देखिएन। ‘कहाँबाट संक्रमण भयो भनेर म अहिले पनि खुट्याउन सक्दिन,’ उनले भने, ‘जबकी मेरो परिवार र संगतमा रहेका साथीभाई सबै सुरक्षित भए।’ बरु संक्रमण पुष्टि भएपछि कार्यालय रहेको टोलमा देखाइएको व्यवहारले उनको चित्त दुखेको छ। थापाको कार्यालय रहेको टोलमा कोरोना संक्रमण बढेको भन्दै आउजाउ बन्द गरेर टोलबासीले डोरी टाँगेका थिए। ‘बुझकारी घरमुलीका कारण सहज भयो,’ उनले भने, ‘म अस्पताल बसे। तर, परिवारलाई कहिल्यै नकारात्मक रुपमा घरमुलिले हेरेनन्। टोलबासीले पनि कर्के नजर लगाएनन्।’

गोबिन्द सुवेदी पत्रकार हुन्। उनी पोखरा बसेर पत्रकारिता गर्छन्। झन्डै दुईसाता अघि उनलाई पनि रुघाखोकी र ज्वरो आयो। बिरामी पर्नुअघि उनी गृहजिल्ला स्याङजा आउजाउ गरेका थिए। त्यो हिडडुलमा पानीमा निथ्रुक्क भिजेका थिए। त्यसबाहेक दिनहुँको वर्षामा उनी रेडियो आउजाउ गर्दा पानीमा भिज्न पुगेका थिए। त्यसपछि बिरामी परे। दिनभर स्वस्थ रहेका सुवेदीलाई एकाएक राती दशबजेतिर ज्वरो आयो। सुख्खा खोकी, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर दुख्ने लगायतका समस्या उनमा देखियो।

ती लक्षणले ग्रस्त बनाउँदै गर्दा भोलिपल्टै उनी कोरोना संक्रमणको आशंकामा परीक्षण गराउन एक्लै अस्पताल पुगे। लक्षण बताएपछि सरकारी प्रयोगशालाले उनको नमूना संकलन गरिदियो। त्यही नमूना परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट तीनदिनपछि दिइयो। उनी अहिले होम आइसोलेसनमा छन्। उनमा देखिएको रुघाखोकी र ज्वरो निको भईसकेको छ। शारीरिक समस्या छैन। तर, उनको मनमा एउटै खुल्दुली छ, मलाई कहाँबाट कोरोना स¥यो ? जबकी परिवारका सदस्य र दिनहुँ भेटघाट हुने सहकर्मीसहित सम्पर्कमा रहेका कसैमा संक्रमण देखिएन। पछिल्लो सम्पर्कमा रहेका १२ जनाको परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएन। तर, आफ्नो श्रोत अझै पनि खुट्याउन सकेका छैनन्। ‘श्रोत थाहा नहँदा अन्योल हुने रहेछ,’ उनले भने।  

सुवेदीलाई संक्रमण पुष्टि भएपछि उनको टोलका चिनजानका व्यक्तिलाई पनि कोरोना लागेको भनेर हल्ला फिँजाइयो। ‘मेरो सम्पर्कमा रहेका टोलका सबैलाई कोरोना लाग्यो अरे भन्ने हल्ला टोलभरि फैलाइयो,’ सुवेदीले भने, ‘किनमेलका लागि जाने पसलका संचालकलाई पनि कोरोना लागेको आरोप लाग्यो।

जबकी मलाई लक्षण देखिनासाथ उनीहरुलाई सतर्क हुन भनेको थिए। अनाहकमा उनीहरुलाई तनाव दिइयो।’ आफूलाई रिपोर्टले कोरोनाको पुष्टि गरिदिए पनि सम्पर्कमा रहेका साथीभाई र परिवारलाई संक्रमण नहुँदा बल्ल राहतको सास फेर्न सकेको उनको अनुभव छ।

सुवेदी अहिले पनि होम आइसोलेसनमै छन्। उनको पछिल्लो रिपोर्ट अझै आएको छैन। यो अवधिमा सुवेदीका घरमुलिलाई समेत टोलबासिले उकास्ने काम गरेका थिए। तर, घरमुलि बुझकारी हुँदा टोलको उक्साहटमा लागेनन्। ‘घरमुली बुझकारी नहुँदा हुन त मलाई होम आईसोलेसन सम्भव थिएन।

आइसोलेसनका लागि होटल जाने प्रस्ताव हुँदाहुँदै पनि घरमुलीले सहज लिएपछि म बसेको थिए,’ सुवेदीले भने, ‘यस्तो बेला घरमुलि पनि बुझकारी हुनुपर्ने रहेछ।’ साथीभाईको नियमित हौसला, उच्च मनोवल, चिकित्सकको निगरानी, छिमेकी र घरमुलिको सहयोगले कोरोना जित्न सकिने रहेछ भन्ने उनीहरुको भनाइ छ।

‘यो बेला हौसला आवश्यक पर्ने रहेछ न की दुव्र्यवहार,’ थापाले भने, ‘संक्रमणको श्रोत थाहा पाए अरुलाई सुरक्षित राख्न सकिन्छ। त्यसबाहेक संक्रमण भएपछि पनि उनीहरुलाई गरिने व्यवहारले पनि फरक पार्ने रहेछ।’ सुवेदी पनि बिरामी भएको बेला हौसला पाउनुका साटो संक्रमितको बिल्ला खेप्नुपर्ने अवस्था आएको बताउँछन्। ‘बिरामी आफैमा तनावमा हुन्छ। जत्ति नै तनाव लिन्न भन्दा पनि सम्भव छैन। त्यसैमाथि टोल र घरमुलीको माया नपाए त झनै अप्ठेरो पर्ने रहेछ,’ उनले भने, ‘संक्रमितलाई हेला होइन, माया गरौं भन्ने सन्देश दिन जरुरी छ।’  

मानवशास्त्री अमृतकुमार भण्डारी अहिले संक्रमितप्रति गरिएको सामाजिक व्यवहार देखेर दिक्क छन्। नेपालको सामाजिक व्यवस्थाको कमजोर पाटो भनेको कुनैपनि रोगको संक्रमण देखिनासाथ ती बिरामीलाई हौसला दिनुको साटो गिराउने काम मात्र गरिएको उनी बताउँछन्। ‘नेपाली समाज अलि नै बढी नकारात्मक बन्दै गएको छ।

मलाई यो अवस्था आउँदा के होला भनेर सोच्ने गरिएको छैन,’ भण्डारीले भने, ‘पहिला पहिला एचआईभी एड्सका बिरामीलाई यस्तै व्यवहार गरिँदा उनीहरु खुल्न चाहँदैनथे। अहिले कोरोना संक्रमितलाई गरिने व्यवहार पनि पटक्कै राम्रो छैन।’  

संक्रमितलाई समाजबाटै दुरीमा राख्न थालिएको उनी बताउँछन्। ‘कुनैपनि रोगका बिरामीलाई साथीभाइ, छरछिमेक, टोलको साथ र सहयोगको अपेक्षा हुन्छ । तर, यहाँ उल्टो छ, तल्लो तहमा झार्ने काम गरिएको छ,’ उनले भने,‘सबैको साथ र सहयोगले नै कोरोनाका बिरामीलाई नयाँ दैनिकीमा फर्किन सघाउँछ।

त्यो नहुँदा बिरामीले उल्टो पीडा खेप्नुपरेको छ।’ आधुनिक मानिएपनि पोखरामा अहिले पनि रुढिबादि समाज हावी रहेको उनले बताए। ‘भौतिक रुपमा पोखरा आधुनिक हुँदै गए पनि रुढीबादी अवस्था अझै छ। मान्छेले भौतिक रुपमा आधुनिक बनेको नाटक मात्र गरेका छन, तर स्वभाव अझै पुरातन खालको छ,’ भण्डारीले भने, ‘भौतिक रुपमा फड्को मारेपनि उनीहरुको स्वभाव फेरिएन।’

प्रकाशित: १३ आश्विन २०७७ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App