१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खानीडाँडा विमानस्थलमा उडान सुचारु

मनमायाँ राई खानीडाँडा विमानस्थलमा जहाज अवतरण गर्दै । तस्बिर : दमन राई/नागरिक

खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ। कोभिड–१९ का कारण अवरुद्ध भएको विमानस्थलमा शनिबार नेपाल वायु सेवा निगमको जहाजले उडान भरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने विमानस्थलमा हरेक शनिबार र बुधबार उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन इन्चार्ज नरेन्द्र राईले बताए।  

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो। जिल्लामा तीनवटा विमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढी प्रयोग हुने गरेको छ।  

यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ। तर, जिल्लाकै पुरानो विमानस्थल लामीडाँडा विमानस्थलमा उडानका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन। रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दै आएका छन्। २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो।  

खानीडाँडा पुग्ने सडक हिलाम्मे  

मनमायाँ राई खानीडाँडा विमानस्थल नियमित उडानका लागि तयार भए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ। विमानस्थलसम्म पुग्नका लागि प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम भइरहेको छ। तर, कालोपत्रेको काममा ढिलासुस्ती हुँदा र वर्षाका कारण हिलाम्मे हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको युवा व्यवसायी अजय बस्नेतले बताए। 

‘विमानस्थल उडानका लागि तयार भएर मात्र पुग्दैन,’ व्यवसायी बस्नेतले भने, ‘विमानस्थल पुग्ने सडकको अवस्था नाजुक छ। सडकको स्तरोन्नतीमा ध्यान जान जरुरी छ।’

प्रकाशित: १० आश्विन २०७७ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App