१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्दिया निकुन्जको हेडक्वाटर नजिकै शिकारीको पासोमा बाघ

बर्दिया राष्ट्रिय निकुन्जमा पाटे बाघ चोरी शिकारीको पासोमा परेर मरेको खुलासा भएको छ। निकुन्जको हेड क्वाटर नजिकै रहेको लमकौली फाँटामा चोरी शिकारीले थापेको पासोमा पाटे बाघ मरेको हो।  

निकुन्जभित्र रहेको निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको पोष्टमा जाने मुल बाटोमा पाटे बाघ मरेको खबरले निकुन्ज भित्रको सुरक्षा फितलो भएको भन्दै अन्य घटना पनि दोहोरिन सक्ने आंशकाले संंरक्षणकर्मी चिन्तित भएका छन्।  

पछिल्लो घटना क्रमले निकुन्ज भित्र नै चोरी शिकारी गिरोह सक्रिय रहेको पुष्टि भएको छ। कुहिएको अवस्थामा बाघ मृत फेला परेपछि महिनौ दिन अघि बाघ मरेको अनुमान गरिएको छ।  

निकुन्जको टोलीले बिहीबार कुहिएर गन्हाएको अवस्थामा बाघ भेटेपछि निकुन्जका कर्मचारीले बाघ मारेको घटना गोप्यमा राखेको स्रोतको दाबी छ। निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठलाई बाघ के कति कारणले मरेको हो भन्ने विषयमा पटक पटक फोन गर्दा समेत फोन उठेन। अन्य कर्मचारीले बाघ मरेको घटनाको बारेमा आफू बोल्न नमिल्ने भन्दै तिर्किएपछि घटनालाई गोप्य रुपमा दबाउन खोजिएको निकुन्जको स्रोत बताउँछ।  

घटनास्थल बर्दिया राष्ट्रिय निकुन्जको हेडक्वाटरदेखि ६ किलोमिटर दूरीमा छ। लम्कौली फाँटा  पर्यटकको रोजाईमा परेको ठाउँ हो। जति बेला गएपनि लम्कौली फाँटामा बाघको आहारा बथानका बथान  देख्न सकिन्छ। लमकौली फाँटामा निकुन्जको करोडौं लगानीमा वन्यजन्तुको अवलोकन गर्न मचान, वन्यजन्तुलाई पानीका लागि पोखरी र सोलारबाट पानी आपूर्ति गर्न संरचना निर्माण भएका छन्। निकुन्जको  मुटुमा चोरी शिकारीले पासो राखेर बाघ मार्न कसरी सफल भएको भन्ने बारेमा यतिबेला निकुन्जको टोलीले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।  

चल्ति ठाउँमा सक्रिय रहेका चोरी शिकारी ९ सय ६८ बर्ग किलोेमिटरमा फैलिएको निकुन्जमा अन्य ठाउँको अवस्थाका बारेमा स्थानीयले चासो व्यक्त गरेका छन्। ‘दुर्लभ बाघ मर्न त मर्‍यो, तर चोरी शिकारी त्यहाँसम्म कसरी पुग्यो भन्ने हामीलाई चासो भईहेको छ’ एक स्थानीयले भने,‘ठूलो क्षेत्रफलमा निकुन्जमा खुलेआम चोरी शिकारी सक्रिय भएको यस घटनाले पुष्टि गरेको छ।’ बर्दिया निकुन्ज बाघ संरक्षणकै कारण पर्यटक गन्तव्यका रुपमा परिचित भएको छ। 

जंगलमा बाघ हेर्न पर्यटकहरुको घुईचो लाग्ने गर्छ। चोरी शिकार सक्रिय हुँदा संरक्षणमा चुनौती बढेको स्थानीय बताउँछन्। प्राकृतिक विपद्, राजामार्ग दुर्घटना र चोरी शिकारका कारण बाघ संरक्षण चुनौती बढेको हो।  

सन् २०१८ को गणनामा बर्दिया निकुन्जमा ८७ बाघ थिए। निकुन्ज कर्मचारीका अनुसार गणनामा वयस्क बाघ मात्रै गणना हुने भएकाले निकुन्ज भित्र एक सयको बढी बाघ भएको अनुमान छ।

प्रकाशित: ९ आश्विन २०७७ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App