१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

‘भोटो मात्र होइन, मन पनि फाटेको छ’

काेराेना कहर

ललितपुरमा मजदुरी गर्दै आएका राजन सुनुवारले रातो मच्छिन्द्रनाथको भोटोजात्रा हेर्न थालेको दुई दशकभन्दा बढी भयो । कोरोना संक्रमण नभएको भए सम्भवतः यसै समयको कुनै दिन जावलाखेलमा सुनौलो भोटो देखाइन्थ्यो । उनी पनि परेबाट त्यो भोटो हेर्थे । तर यस्तो संयोग यसपटक जुरेन । कोरोनाले गर्दा जात्रा मात्र प्रभावित भएन, उनको काम पनि खोसियो । बिहीबारको झरीमा पनि कामको खोजीमा भेटिएका सुनुवारले भने, ‘गरिब जनताको फाटेको भोटोचाहिँ कसले हेर्ने होला । कोरोनाले गर्दा दसैंको मुखमा पनि काम नपाउँदा परिवारमा निराशा छाएको छ ।’

१८ वर्षकै उमेरमा राजधानी रहेको काठमाडौं उपत्यका छिरेका ३८ वर्षीय सुनुवारले कोरोनाका कारण लामो समय बेरोजगार हुँदा पनि राज्यले बेवास्ता गरेको गुनासो पोखे । झरीको मौसममा काम र खाना दुवै खोज्दै गरेका उनी लुगलुग काम्दै थिए । दुई सन्तानका पिता उनी पत्नीसहित झरीमा पनि कामको खोजीमा निस्केका थिए । ‘भोटो मात्र हैन, काम नपाउँदा गरिखानेको मन पनि फाँटेको छ,’ उनले भने, ‘कोरोनाका कारण आम्दानी गुम्दा केटाकेटीका लागि दसंैका लुगा किन्ने हैसियतसमेत छैन ।’  

‘गरिबको फाटेको भोटोचाहिँ कसले हेर्ने होला’, मजदुर राजन सुनुवारले भने, ‘दसैंको मुखमा काम नपाउँदा केटाकेटीको भोटो फेर्न पनि नसकिने अवस्था आएको छ ।’

वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको जात्रा एक हजार तीन सय वर्षअघि सुुरु भएको मानिन्छ । तर भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो मकवानपुर फापरबारीका ५० वर्षीय भीमबहादुर तामाङलाई थाहा छैन । उनले पनि राजधानी आएर पसिना बगाउन थालेको तीन दशकभन्दा बढी भयो । ललितपुर क्षेत्रमा पसिना बगाउँदै गर्दा दर्जनौंपटक उनले भोटोजात्रा हेरेको बताए । ‘१२ वर्षमा खोलो त फर्किन्छ भन्थे तर केही बदलिएन,’ उनले भने, ‘नाम्लोको बरियो फेरियो तर हामीजस्ता दुःखीको भाग्य फेरिएन ।’ भूतप्रेतलाई खाना दिन भोटोजात्रा गरिएको विश्वास छ । तर उनी यसै क्षेत्रमा कैयौं दिन भोकै बस्नुपरेको सुनाउँछन् ।

‘काम नपाएपछि कता खाना बाँड्छन् भन्ने स्थितिमा आइपुगेका छौं,’ उनले भने, ‘हामीलाई योभन्दा बढी दुःख कहिल्यै परेन ।’  रानीको आँखा दुख्ने रोग निको बनाएकोमा नागराजले पुरस्कारस्वरूप बहुमूल्य मणिजडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काएको कथा छ । तर राजधानीमा वर्षौंदेखि पसिना बगाएबापत आफूहरू दण्डित हुनुपरेको मजदुरको बुझाइ छ । ‘नत्र राज्यले खाना नै भए पनि त पुरस्कार दिन्थ्यो होला नि,’ उपत्यकामा मजदुरी गर्दै आएका भोजपुर छिनामखुका ५२ वर्षीय दिलीप राईले भने, ‘आपत्का बेला सहयोग नपाएकाले हामीलाई राज्य भएको महसुस भएन ।’ यो उपत्यकाका अढाइ लाख मजदुरको साझा समस्या हो । विभिन्न भागबाट उपत्यकामा आएर निर्माण कार्यमा संलग्न उनीहरू कोरोना र लकडाउनका कारण खाना र नानाको समस्यामा परेका छन् । त्यसैले उनीहरूका लागि दसंै दसा बन्ने अवस्था आएको छ । ‘केही कमाइ भइहाले पनि त्यसले भाडा तिर्न पनि नपुग्ने स्थितिमा छ,’ राईले भने, ‘यस्तै हो भने दस मान्न घर जाने स्थिति पनि नरहने भो ।’ तीन दशक पसिना बगाउँदा पनि दसैंमा नयाँ भोटो किनेर लैजान नसक्ने अवस्था आएको तामाङले बताए । ‘यस्तै हो भने रित्तो हात गाउँ फर्कनुको विकल्प छैन,’ उनले भने, ‘गाउँमा गएर नानीहरूलाई यसपटक भोटोजात्रा नभएको कथा सुनाउनेछु ।’

प्रकाशित: ९ आश्विन २०७७ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App