१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्प पीडितबाट घुस लिने प्राविधिक बरखास्त

भूकम्पपीडित लाभग्राहीबाट घुस लिने प्राविधिकलाई जागिरबाट बरखास्त गरिएको छ। मोलुङ्ग गाउँपालिका–६ श्रीचौरमा पुनर्निर्माणमा खटिएका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो।  

मापदण्ड विपरित बनेका घरहरु पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीहरुबाट घुस रकम लिएका थिए। पहिलो र दोश्रो किस्ता लिईसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले १० देखि १५ हजारका दरले गैरकानुनी ढंगले रकम असुलेको विषयमा स्थानीयले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानविन थालेको थियो।  

छानविनका क्रममा लाभग्राहीबाट लाखौ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागिरबाट बरखास्त गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारकी निमित्त प्रमुख रिता लम्सालले बताईन्।  

लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधिकले रकम उठाएको पाईएको र प्राविधिक आफैले पनि गल्ती स्विकारेपछि जागिरबाट बरखास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाई छ। लाभग्राहीबाट उठाएको पैसा सम्बन्धित लाभग्राहीलाई फिर्ता गर्न लगाईएको लम्सालले जानकारी दिईन्। ‘जस्को पैसा हो उसैलाई फिर्ता दिनु भनेका छौँ।’ निमित्त प्रमुख लम्सालले बताईन्।

अुनसन्धानका क्रममा प्राविधिक खतिवडाले श्रीचौरबाट लाखौ रकम असुलेको पाईएको कार्यालयले जनाएको छ। केही दिनअघि पुनर्निर्माणमा खटिएका डकर्मी कर्णबहादुर तामाङ्ग र प्राविधिक मनोज खतिवडाले भूकम्प पीडित लाभग्राहीहरुबाट घर पास गर्न घुस लिएको तथ्य सार्वजनिक भएपछि पुनर्निर्माण कार्यालय र जिल्ला प्रशासन कार्यालयले चासो दिएको हो। श्रीचौरका करिब ३० लाभग्राहीबाट डकर्मी तामाङ्ग र खतिवडाले १० देखि १५ हजारका दरले रकम उठाएको स्थानीयको भनाई छ।  

प्राविधिक खतिवडाले स्थानीयबाट रकम उठाउन पुनर्निर्माणमा खटिएका डकर्मी कर्णबहादुर तामाङ्गलाई परिचालन गरेका थिए। डकर्मी तामाङ्गलाई पनि कारबाहीको प्रक्रिया थालिएकोे जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ। नागरिकहरुले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने भन्दै कहि कतै त्यस्तो भएको पाईए जानकारी गराउन जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ८ आश्विन २०७७ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App