१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुम्थाङ पहिरो पीडितलाई राहत संकलन जारी

बाह्रविसेको घुम्थाङ नागपुजे गाउँमा पहिरो पीडितको आश्रयका लागि बनाइएको अस्थायी शिविर । तस्बिर : ध्रुव/नागरिक

३१ जनाको ज्यान लिएको घुम्थाङ पहिरो पीडितका लागि राहत संकलन हुने क्रम जारी छ। दाताहरुले नगद, खाद्यन्न, लत्ताकपडा, स्वास्थ्य सामान लगायत सामाग्रीहरु पीडितलाई धमाधम वितरण गरिरहेका छन्।  

राहत संकलन र वितरणमा स्थानीय तहले एकद्धार नीति लिए पनि आफूखुशीसमेत बाँड्ने काम भइरहेको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सशीला पाख्रिनले बताइन्। ‘बास्तविक पीडितले राहत पाउन सकुन् भनेर एकद्धार नीति लिएका हौँ। तर आफूखुशी पनि वितरण हुने क्रम रोकिएको छैन,’ उनले नागरिकसँग भनिन्।  

नगरपालिकासँग समन्वय गरेर विभिन्न व्यक्ति तथा संस्थाले हालसम्म पीडित परिवारलाई झण्डै १० लाख रुपैयाँ नगद राहत वितरण गरेको पाख्रिनले जानकारी दिइन्। उनका अनुसार जनस्तरबाट भाँडावर्तन, ओड्ने–ओछ्याउने, लत्ताकपडा, ग्याँसजडित जुल्हो, चामल, दाल, चिनी, चिउरा लगायत सामाग्री प्राप्त भइरहेको छ। विदेशमा रहने नेपालीबाट समेत नगद र अन्य राहत सामाग्री राहत आउने क्रम जारी छ।  

दाता व्यक्ति तथा संस्थाका प्रतिनिधि गच्छेअनुसारको राहत सामग्री लिएर दिनहुँ घटनास्थल पुग्ने गरेका छन्। हालसम्म इसाई समाज सिन्धुुपाल्चोक र अमेरिकमा बस्ने जिल्लावासीको संस्था सिन्धु–अमेरिका समाजले क्रमशः सबैभन्दा बढी साढे चार र साढे दुई लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराएको उपप्रमुख पाख्रिनले जानकारी दिइन्।

पहिरोमा आफन्त गुमाउनेको संख्या ११ परिवार छन्। नगरपालिकाले आफन्त गुमाउने परिवारका नाममा बैँक खाता खोलिदिएको छ। उक्त खातामा समेत नगद राहत संकलन भइरहेको छ। राहत संकलन र वितरणलाई थप व्यवस्थित बनाउँदै लैजाने पाख्रिनले बताइन्। सुत्केरी, बालबालिका र वृद्धवृद्धाका लागि पनि राहत प्याकेज आइरहेको छ।  

गत भदौ २७ गते गाउँमाथिबाट आएको बाढीले भिरखर्क, भिरथाप्लो र नागपुजे गाउँका २८ घर बगाएको थियो। अरु ५० भन्दाबढी घर क्षतिग्रस्त भएका थिए। पहिरोमा ३१ स्थानीय बेपत्ता भएकोमा १६ को मात्र शव भेटिएको छ। १५ अझै बेपत्ता छन्। बेपत्ता जीवित भेटिन सम्भावना नरहेपछि उनीहरुका आफन्तले समेत काजकिरिया थालिसकेका छन्।  

नागपुजेकै सुरक्षित स्थलमा टेन्ट, त्रिपालको अस्थायी शिविर बनाएर बिस्थापितलाई आश्रय दिइएको छ। दिनप्रतिदिन बिस्थापितसमेत बढीरहेका छन्। ५० परिवारबाट राख्न थालिएको शिविरमा बुधबार यो संख्या बढेर ९४ परिवार पुगेको छ। उनीहरु ७३ वटा टेन्टमा बाँडिएर बसेका छन्। पीडितलाई खानाको लागि तत्काललाई सामूहिक भान्छा सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: ७ आश्विन २०७७ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App