१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेवा सिरानमा पहिरै पहिरो, एउटै खहरेमा ३२ वटा पहिरो

फेवातालको जलाधार क्षेत्रमा पर्ने कास्कीको अन्नपुर्ण गाउँपालिका–१ अधिकारीडाँडामा गएको पहिरो। तस्बिरः सन्तोष/ नागरिक

पोखरा क्षेत्रमा यो वर्ष (सेप्टेम्बर २३ सम्म) झन्डै ५ हजार मिलिमिटर वर्षा भईसकेको छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार पोखरामा वर्षमा ३ हजार देखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ। तर यो वर्ष औषत भन्दा बढी पानी परिसकेको छ। अझै केही दिन वर्षा हुने अनुमान कार्यालयको छ ।

निकै नै बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम त छ नै, उत्तिकै मार यहाँको फेवाताललाई पनि परेको छ। अधिक वर्षाले तालको जलाधार क्षेत्रमा भू–क्षय बढाउँदा यो वर्ष तालले बढी मार खेपेको स्थानीयले बताएका छन्। जलाधार क्षेत्रको भू–क्षयबारे धेरैले चाँसो नलिए पनि यसले तालमा पारेको असर तल्लो क्षेत्रमा भएको अतिक्रमण भन्दा कम नभएको उनीहरुको भनाई छ। फेवा सिरानमा यो पटक सबैतिर पहिरो झर्दा त्यसले फेवाताल पुर्न सघाएको स्थानीयको भनाई छ ।

तालको जलाधार क्षेत्रको एउटै खहरे खोलामा यो वर्षायाममा ३२ वटासम्म पहिरो झरेको विज्ञले बताएका छन्। ती पहिरोबाट बगेको ढुंगा माटो सिधै तालमा मिसिएको छ। पहिरो मात्र जाने नभई त्यस क्षेत्रको जंगलको हरियालीसमेत बगेको छ। खहरेबाट बगेको ढुंगामाटोले तल्लो क्षेत्रको खेतीयोग्य जमिन पुरेको छ। वर्षौं पुराना रुख विरुवा पनि पहिरोसँगै तालमा मिसिएको स्थानीयले बताएका छन्। पहिरो थपिँदै जाँदा कृषियोग्य जमिन कटान, वनक्षेत्र नोक्सान भएको उनीहरुले बताए। सिरान क्षेत्रमा वर्षेनी जाने गरेको पहिरोले वन जंगल बगाउँदा थप प्राकृतिक प्रकोपको त्रास हुने वातावरणविद्ले बताएका छन्।  

‘यो पटक साह्रै नै वर्षा भयो। जलाधार क्षेत्रका ठाउँठाउँ पहिरो झरेको छ। मानवीय क्षति त भएको छैन, तर, भू–क्षय हुँदा त्यसको मार तल्लो क्षेत्र (फेवाताल)ले भोगेको छ,’ अन्नपूर्ण गाउँपालिका–१ अधिकारीडाँडाका तुलसीप्रसाद अधिकारीले भने, ‘पहिले सामान्य भेलबाढी बग्थ्यो। तर, यो वर्ष त ठाउँ ठाउँमा पहिरो निम्तिएको छ। कृषि योग्य जमिन बगेको छ ।’ अधिकारीडाँडा फेवाको जलाधार क्षेत्रको बस्ती हो। यो गाउँमा अहिले ठाँउठाउँमा उत्तिसको बोटै बगाउँदै पहिरो गएका छन्। ती पहिरोले बगाएको ढुंगा, माटो, बोट विरुवा सिधै तालमा मिसिन पुगेको उनले बताए। ‘भीषण वर्षापछिको भेलले ट्रयाक नै फेरेर पहिरो निम्त्याएको छ,’ उनले भने, ‘मोटरबाटोले खोल्सी पुरिएका छन्। त्यसपछि भेल चारैतिर बाँडिँदै गएर अरुबेला सुरक्षित भनिएको क्षेत्रमा पनि यो पटक पहिरो र कटान निम्तिएको छ ।’

पोखरा महानगरपालिकाको–२३ फेवातालको सिरान क्षेत्र हो। वडाको सम्पुर्ण भाग नै जलाधार क्षेत्रभित्र पर्छ। वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले यो पटक भीषण वर्षाले जलाधार क्षेत्रमा अति भूक्षय गराएको बताए। उनका अनुसार २३ नम्बर वडामा मात्र झन्डै एकसय किलोमिटर दुरी कच्ची मोटर बाटो छ। निरन्तरको वर्षाले कच्चीबाटोको कटान अधिक भएको उनले बताए। ‘बस्ती नै जोखिममा पार्ने गरि पहिरो झरेको छैन। तर, कटान र ढिस्कोको पहिरो त अधिक नै छन,’ उनले भने, ‘सडक पुरै छियाछिया छ। जंगल क्षेत्रमा पनि उत्तिकै नोक्सान छ। हरियाली जंगल नै पहिरोले बगाउँदा थप क्षतिको त्रास छ ।’  

उनले वर्षादले तालको जलधार क्षेत्रमा भूक्षय निम्त्याउँदा त्यसको मार तल्लो भेगमा परेको बताए। ‘एकैपटक ठुलो पहिरो जान्थ्यो भने सबैले थाहा पाउँथे। सिरान क्षेत्रका सानातिना पहिरो र सडक कटानबारे उत्ति ध्यान नदिएर हो,’ उनले भने, ‘सिरानबाट बगेको पहिरोले ताल त पुरेको छ न ठाउँठाउँमा खेतीयोग्य जमिनमा पनि क्षति पु¥याएको छ ।’ केहीदिन अघिको पहिरोले अँधेरी खोला क्षेत्रको १५६ रोपनी क्षेत्रफलको धानखेती नै नोक्सान पु¥याएको थियो।  

पराजुलीका अनुसार फेवातालको जलाधार क्षेत्रमा अन्नपुर्ण गाउँपालिकाको १ देखि ४ नम्बरसम्मको वडाक्षेत्र र पोखरा महानगरपालिकाका २२,२३ र २४ नम्बर वडा पर्छन। ती मध्ये अन्नपूर्णका चारवटा वडा र पोखराका २३ र २४ वडामा भू–क्षय हुँदा बढी मार फेवाताललाई पर्छ। ‘तल्लो भेगको अतिक्रमणलाई मात्र ध्यान दिएका छौ। माथिल्लो क्षेत्रको भूक्षय झनै डरलाग्दो छ,’ उनले भने, ‘यो वर्ष त झनै बढी वर्षाद हुँदा त्यसको मार ताललाई निकै नै परेको छ ।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार फेवातालको जलाधार क्षेत्रमा निरन्तरजसो पहिरो खसिरहेका छन्। अन्नपूर्ण हुँदै बग्ने अँधेरी खोलामा अहिले व्यापक रुपमा कटान भईरहेको उनले बताए। ‘फेवाताल बचाउने हो भने अँधेरी खोलाको संरक्षण गर्नु पर्छ। हामीले तल्लो क्षेत्रको अतिक्रमणलाई मात्र विषय बनाएका छांै। तर, जलाधार क्षेत्रको अवस्था नियालेका छैनौ,’ कुँवरले भने, ‘अधेरी खोलामा खसिरहेको पहिरो अहिले पनि तालमा मिसिएको छ ।’ उनका अनुसार यो पटक भीरकान्ला अधिक नै खसेका छन्। ‘बुढा रुख भएको क्षेत्रमा धमाधम पहिरो झरेको छ। भीरकान्ला भत्केको भत्क्यै छन्,’ उनले भने।  उनका अनुसार अँधेरीखोलामा बनेको ड्याम सानो आकारको भएकोले यो पटकको वर्षायाम नै थेग्न नसक्दा बगेको ढुंगा, माटो गिटी सिधै तालमा मिसिन पुगेको छ।  

महानगरका इन्जिनियर बिमल आचार्यका अनुसार वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटरको उचाइका ‘सिल्टेसन ड्याम’ बनेका छन्। अँधेरीखोला र हर्पनखोलाका ड्याम भने १ सय मिटर लम्बाई, १ सय मिटर चौडाई र ४ मिटर उचाईका छन्। बेतयानीको ड्याम’ बनाउन ५ करोड ४६ लाख, लौरुकमा ५ करोड ७४ लाख, अँधेरीखोलामा ९ करोड ६ लाख र हर्पनखोलामा ७ करोड ८८ लाख रुपैयाँ परेको आचार्यले बताए ।

‘अधिक वर्षादका कारण ड्याममा संकलित ढुंगामाटो पनि निकाल्न सकेनौ। त्यसले गर्दा सिरान क्षेत्रको पहिरो सिधै तालमा मिसिन पुग्यो,’ उनले भने, ‘ड्याममा संकलन भएको ढुंगामाटो सातामा दुईपटक निकाल्नु पर्ने हो। तर, वर्षाले गर्दां निकाल्नै सकिएन। निकालेको सामाग्री पनि बगायो ।’  

आचार्यका अनुसार यो पटक प्रदेशको वन मन्त्रालयले जलाधार क्षेत्रको अध्ययन गर्न एउटा विज्ञ टोली बनाएका थियो। त्यो टोलीमा सहभागी आचार्यका अनुसार फेवाको जलाधारमा पर्ने अँधेरी खोलामा यो पटक अहिलेसम्म  ३२ वटा पहिरो झरिसकेका छन्। ‘३२ वटा पहिरो त अँधेरी खोलामा यो वर्षामा मात्र गएका छन्,’ उनले भने, ‘अधिक भूक्षयले गर्दा सिल्टेसन ड्यामले थेग्न नसकेको पक्का हो ।’ निर्माण गरिएका ‘सिल्टेसन ड्याम’ बाट वार्षिक रुपमा २ लाख ५६ हजार घन मिटर ढुंगा, गिट्टी, बालुवा झिक्न सकिने अनुमान महानगरको छ। त्यसबाट महानगरपालिकालाई वार्षिक २३ करोड रुपैयाँ आम्दानीसमेत हुने अनुमान छ ।

वन क्याम्पसका वातावरण विषयका प्राध्यापक राजन सुवेदीका अनुसार सिरान क्षेत्रमा बनेका सिल्टेसन ड्याम एउटै वर्षामा भरिएकोले अब ती ड्यामबारे विकल्प सोच्न जरुरी छ। ‘ड्याम बनाउँदा माथिको भूगोललाई राम्रो अध्ययन गरिएको रहेनछ भन्ने पुष्टि भयो,’उनले भने, ‘ड्याममा संकलित सामाग्री पनि बेलाबेला निकाल्नुपर्छ ।’ ठाउँठाउँमा चेकडयम बनाएर पनि भू क्षयबाट जोगाउन सकिने उनले बताए। ‘भूक्षय हुने ठाउँमा जाली राख्ने, बाँस रोप्ने ग¥यो भने ती खोलाको वहाव रोक्न सकिन्छ। सडक निर्माण गर्दा नाली बनाउने र खोलाको वहावलाई पहिलेकै अवस्थामा राख्ने हो भने पहिरोको जोखिम कम हुन्छ,’ उनले भने। परम्परागत खेतीप्रणालिमा खनजोत गर्दा माटो बग्ने समस्या हुने गरेकोमा अब कफी, लप्सी, अम्रिसो, बास लगाउनेतिर जाँदा आम्दानी बढाउने र भूक्षय हुनबाट रोक्न सकिने उनले बताए।  

फेवाको जलाधार क्षेत्रामा भुक्षय हुन नदिन विभिन्न कार्यक्रम पनि गरिएका थिए। कफी खेती गर्ने देखि वृक्षरोणसम्मका कार्यक्रम हुँदै आएका छन्। तीमध्ये कफीखेतीमा सघाएको हरियो वन कार्यक्रम चितवन–अन्नपूर्ण ल्याण्डस्केप (चाल) का फिल्ड कोअर्डिनेटर पूर्णबहादुर कुँवरले कफी खेती गरेर जलाधार क्षेत्रको संरक्षण गर्न खोजिएको बताए।  

प्रकाशित: ७ आश्विन २०७७ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App