७ वैशाख २०८१ शुक्रबार
समाज

भारत लैजाँदै गर्दा किशोरीको उद्धार, तीन जना पक्राउ

किशोरीलाई भारत लैजान खोजेको आरोपमा पक्राउ गरेकाहरू। तस्बिर/नागरिक

किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा बस्दै आएका २२ वर्षीया मनिका ढकाल रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा किशोरीलाई बिक्री गर्न वा बली दिन भारत लैजान खोजिएको हुन सक्ने प्रहरीको आशंका छ।

सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो। सोमबार साँझ करिब ७ बजे उनलाई ‘साना हातहरू’ नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो।

मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काकाअनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका मुख्य योजनाकार सुमित र प्रदिप उनका सहयोगी रहेको खुलेको छ। सुमितले मनिकालाई प्रयोग गर्दै प्रदिपको पनि सहयोग लिएर किशोरीलाई भारत पु-याउन खोजेको एसपी खड्काले बताए। ‘किशोरीलाई भारत लैजान खोज्नेहरूको नियत शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ उनले भने। पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पु-याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रूपमा लिइएको एसपी खड्काले बताए।

यसरी ल्याइयो किशोरीलाई
प्रहरीकाअनुसार दिदीसँग झुम्कामा तरकारी व्यापार गर्दै आएकी मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएकी थिइन्। झुम्कामा बस्न थालेपछि मनिकाको चिनजान किशोरीको परिवारसँग भएको र किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउने गरेकी थिइन्। किशोरीको तीन/चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितसँग परिचय भएको थियो।

सम्पर्क बढेपछि नजिकिएका सुमितले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको पाइएको छ। प्रहरी स्रोतकाअनुसार सुमितले सिकाएअनुसार मनिकाले आइतबार बिहान करिब ७ बजे विराटनगर एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउनेभन्दै आमासँग अनुमति मागेर किशोरीलाई घरबाट ल्याएकी थिइन्।

मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्। दुई घण्टामा आइपुग्छौं भनेर चिनजानकी युवतीसँग बिहान निस्किएकी छोरी साँझसम्म पनि नफर्किएपछि घरमा उनको खोजी सुरु भएको थियो।

एक्कासी ‘साना हातहरू’ नामक संस्थाले सोमबार साँझ फोन गर्दै छोरीलाई सीमा क्षेत्रबाट उद्धार गरिएको जानकारी आमालाई दिएको थियो। त्यस क्रममा किशोरीले मनिकासँगै नचिनेका दुई व्यक्तिले आफूलाई भारत पु-याएको र भागेर नेपाल आउन सफल भएको आमालाई बताइन्।

भागेर बाचेँ: किशोरी
सीमा कटाएर भारतीय भूमिमा पु-याएपछि किशोरीलाई एउटा गाडीमा राखेर भारतको फारविसगञ्जतर्फ लगिएको थियो। सीमा कटाएर जोगबनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। ‘मलाई भारत पु-याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरू पनि मलाई पछ्याउँदै आए।’ त्यस क्रममा उनीहरूले धेरै फकाउने प्रयास गरेपनि आफूले नमानेको उनले बताइन्।

प्रहरीका अनुसार सुमितका भिनाजु रणदीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी काम गर्ने गरेको खुलेको छ। भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पु-याउन खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीकाअनुसार किशोरीलाई लिएर जानेसँग नेपाली नम्बरको मोबाइल सिम मात्रै थियो।

नेपालबाट जानेसँग भारतीय नम्बरको मोबाइल नभएका कारण उनीहरूबीच सम्पर्क हुन नसक्दो किशोरी उम्किन सफल भएको प्रहरीको भनाइ छ। किशोरीले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नु पर्नेभन्दै उनीहरूले सिकाएको पनि प्रहरीलाई बताएकी छन्। प्रहरी प्रमुख एसपी खड्काले घटनामा संलग्नहरूको अन्य ‘कनेक्सन’को बारेमा समेत अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ७ आश्विन २०७७ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App