१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीमाथि प्रहरी जबर्जस्ती: विरोधपछि ट्रमाबाट शिक्षण अस्पताल लगियो

डा. गोविन्द केसीको समर्थनमा मंगलबार काठमाडौंको मातिघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गर्दै युवा । तस्बिर: विजय राई/नागरिक

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ। उनलाई शिक्षण अस्पताल लैजाने भनेर झुक्याई प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर पु-याएको थियो। कर्णाली प्रदेशको जुम्लाबाट भदौ २९ गते देखि पाँच बुँदे माग राखेर आमरण अनशन थालेको डा. केसीलाई मंगलबार काठमाडौं ल्याइएको होे। डा. केसीलाई प्रहरीले जबर्जस्ती भ्यानमा हालेर ट्रमा सेन्टर लैजान खोज्दा केसीले विरोध गरेका थिए। प्रहरीले आफूविरुद्ध बलजफ्ती गरेपछि डा. केसीको प्रश्न थियो, ‘गुन्डागर्दी गरेको हो ?’

जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई सोमबार नेपालगञ्ज लगेर राखिएको थियो र मंगलबार काठमाडौं ल्याइएको हो। उनले काठमाडौंमा त्रिवि शिक्षण अस्पतालमा लगेर राख्न आग्रह गरेका थिए। विमानस्थलबाट एम्बुलेन्समा शिक्षण अस्पताल लैजाने भन्दै ट्रमा सेन्टर लगिएको हो। शिक्षण अस्पतालमा लाने भन्दै झुक्याएर ट्रमा सेन्टरमा राख्न जर्बजस्ती गरेपछि डा. केसी प्रहरीसँग आक्रोशित बनेका थिए। डा. केसी शिक्षण अस्पताल लैजानुपर्ने भन्दै एम्बुलेन्सबाहिर निस्कन मानेका थिएनन। तर प्रहरीले उनले जबजस्ती निकालेको थियो। तर शिक्षण अस्पताल नलगेसम्म कुनै उपचार नलिने केसीको अडानपछि उनलाई ट्रमाबाट शिक्षण अस्पताल पु-याइएको छ। उनको सो अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सत्याग्रहीमाथि दुर्व्यवहार र जबर्जस्ती गर्नु क्रुरताको पराकाष्टा भएको आरोप लगाएका छन्। 

डा. केसीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। एउटा सत्याग्रहीमाथि राज्यले बल प्रयोग गर्नु लोकतन्त्रमाथिको खतरा भएको उनीहरुको टिप्पणी छ। पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सत्याग्रहीमाथि दुर्व्यवहार र जबर्जस्ती गर्नु क्रुरताको पराकाष्टा भएको आरोप लगाएका छन्। थापाले क्रुर तानाशाहले मात्र यस्ता निन्दनीय कार्य गर्न सक्ने टिप्पणी गर्दै सरकारले आफ्नो पतनको बाटो आफैं खनेको बताए। सत्याग्राहीलाई इच्छाविपरीत छुन नपाइने उल्लेख गर्दै अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको थापाले बताए।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले डा. केसीमाथि प्रहरीले गरेको दुव्यवहारप्रति टिप्पणी गर्दै राजाको निरंकुश पंचायती शासन हो की ओलीको कमाउनिस्ट शासन हो भन्ने प्रश्न गरेका छन्। ‘डा. केसीको जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक,’ उनले भनेका छन्। स्वास्थ्य क्षेत्रको सुधारकानिम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थिति अन्य गर्नुपर्ने भट्टराईको धारणा छ। डा. केसी अनशन बसेको बुधबार दसौं दिन हो।

प्रकाशित: ७ आश्विन २०७७ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App