१५ चैत्र २०८० बिहीबार
समाज

प्रहरी हिरासत नै असुरक्षित

धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष (हिरासत)मा उनलाई राखियो। गत शुक्रबार बिहान हिरासतभित्रै रहेको शौचालयमा उनको रहस्यमय मृत्यु भयो। शौचालयमा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर युवकको मृत्यु भएको प्रहरीको भनाइ छ।

तर युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आखाँमा र मुखमा चोट देखिन्छ। पीडित परिवारले रोशनको हत्या भएको बताएका छन्। खबर पाएपछि प्रहरीले उनलाई झुण्डिएको अवस्थाबाट निकालेर अस्पताल लगेको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। ‘झुण्डिएको अवस्थामा हल्का चाल देखेर बचाउन सकिन्छ कि भनेर उद्धार गरेर अस्पताल लग्यौं,’ उनले भने, ‘झुण्डिएको तस्बिर खिच्न पनि ध्यान भएन।’

मृतकको नाकबाट रगत बगेको, निधारमा, मुख र आखाँमुनि चोट तथा निलडाम रहेको देखिन्छ। मृतकका आफन्तले भने शरीरभरि निलडाम भएकाले युवकको हत्या भएको बताउँदै आएका छन्। ‘छोराको टाउको, मुख र शरिरभरि चोटपटक भएकाले कुटपिट गरेर हत्या गरिएको हो,’ रोशनका बुबा टेकबहादुरले भने।

झुण्डिने बेला छटपटाएर भित्तामा टाउको लागेर चोटपटक लागेको हुनसक्ने प्रहरीको दाबी छ। तर नाक र मुखबाट रगत कसरी आयो ? यो विषयमा भने प्रहरीले कुनै जवाफ दिएन सकेको छैन। पोष्टमार्टम भए पनि रिपोर्ट अझै आइसकेको छैन। मृतकका आफन्तले हत्या भएको भन्दै शुक्रबार प्रहरी कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए।

साउन र भदौ महिनामा दुईजनाको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ। यसरी प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको ज्यान जानुले हिरासतको सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको छ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्नको लागि छानबिन समिती गठन गरेपछि शनिबार मृतकको दाहासंस्कार गरिएको छ। मृतकसँगै पसलबाट मोबाइल चोरीको आरोपमा पक्राउ परेका उनका साथी रोहित पार्कीले शौचालयमा गएर झुण्डिएको अवस्थामा फेला परेको बयान दिएका छन्। प्रहरी नियन्त्रणमा रहेका बेला युवकको ज्यान जानुले प्रहरी हिरासतको सुरक्षा अवस्थाप्रति प्रश्न खडा भएको छ।

यसअघि साउन २९ गते धनगढी उपमहानगरपालिका–१४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। उक्त घटनाको पनि सत्यतथ्य अझै सार्वजनिक भएको छैन। प्रहरीले छेउमा ब्लेट पनि फेला परेकोले ब्लेटले घाँटी आफैँ रेटेर आत्महत्या गरेको दाबी गरेको थियो। यसरी प्रहरी हिरासतमै एकपछि अर्को व्यक्तिको मृत्यु हुँदा हिरासत नै असुरक्षित देखिएका छन्।

प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति सुरक्षित हुनुपर्नेमा हिरासतमै मृत्यु हुने अवस्था आउनु गम्भीर त्रुटि भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख झंकर रावलले बताए। ‘प्रहरीको नियन्त्रणमा भएपछि सुरक्षित रहन्छ भन्ने हो तर एकपछि अर्को गर्दै हिरासतमा मृत्यु हुँदा प्रहरी हिरासत नै असुरक्षित देखिएका छन्,’ उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले पटकपटक हिरासतको सुरक्षाका लागि नीतिगत रूपमै सुधार गर्न भनेको छ।’

तर रोशन मृत्यु प्रकरणको घटनाबारे अध्ययन गरेपछि मात्रै भन्न सकिने उनले बताए। एसपी जवराले प्रहरी हिरासतमा आत्महत्या भएको घटनालाई गम्भीर रूपमा लिएर हिरासतको सुरक्षाबारे प्रहरीले ध्यान दिएको बताए।

घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिती गठन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेर अनुसन्धानको काम सुरु भएको छ। समितिलाई सात दिनको म्याद दिइएको छ।

मानव अधिकार आयोगद्वारा अध्ययन

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले पनि हिरासतमा युवकको मृत्यु घटनाको अध्ययन गरेका छ। आयोगका प्रदेश प्रमुख झंकर रावलको नेतृत्वमा एक टोली प्रहरी कार्यालयको हिरासतमा पुगेर अध्ययन अनुगमन गरेको थियो। घटनाबारे पोष्टमाटम रिपोर्टसहितको जानकारी गराउन जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आयोगले पत्रसमेत दिएको छ।

‘प्रहरी हिरासत नै असुरक्षित रहेको स्पष्ट भइसक्यो, नीतिगत रूपमा हिरासतको सुरक्षा बन्दोवस्त राम्रो बनाउन सुधार गरिनुपर्छ,’ उनले भने, ‘युवकको मृत्युको घटनाको यथार्थ छानबिनपछि मात्रै भन्न सकिन्छ।’ आयोगले उक्त घटनाको अध्ययन प्रतिवेदन तयार गर्न अन्तिम तयारीमा रहेको रावलले बताए। ‘हत्या वा आत्महत्या भनेर अहिले सार्वजनिक गर्न मिल्दैन,’ उनले भने। अध्ययन टोलीले प्रहरी हिरासतको अध्ययन, हिरासतमा रहेका थुनुवा, प्रहरी, पीडित परिवारलगायत विभिन्न पक्षसँग छलफल गरेको बताइएको छ।

प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्दै अधिकारकर्मीहरू। तस्बिर ः नागरिक

प्रकाशित: ६ आश्विन २०७७ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App