१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

हिन्दु र मुस्लिम समुदायबीच विवाद

हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका भित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

‘दुईपक्षबीचको विवादले थप ठूलो रुप नलेओस् भन्ने उद्धेश्यले कफ्र्यू आदेश जारी गरिएको हो’, प्रजिअ पौडेलले भने, ‘आदेश अवधिभर कोही सर्वसाधारणले घर बाहिर निस्कन पाउने छैनन्।’  

विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा हिजो (शुक्रबार) साँझ मलंगवा नगरपालिका–३, मा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो। विवाद बढ्दै गएर झडप नै भएपछि दुई पक्षका एकदर्जन बढी घाइते भएका थिए।  

स्थानीय हिन्दु समुदायले बिहिवार सामूहिक रुपमा गरेको विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा मुस्लिम समुदायको तर्फबाट अवरोध हुँदा झपड भएको भएको प्रहरीले जनाएको छ। झडपलगतै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर विश्वकर्मा पूजाको मूर्ति समेत जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ।  

आज (शनिबार) बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भईरहेको छ। छलफल चलिरहेको अवस्थामा दुवै पक्षबाट जिल्ला प्रहरी कार्यालय आसपास तथा चोक चौराहामा सयौं मानिसहरु भेला हुन थालेपछि सुरक्षा सजगता स्वरुप स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो। एक प्रहरी अधिकृतका अनुसार छलफलमा हिन्दु धर्मावलम्वीहरुले हिजो लगेकै बाटो हुँदै नजिकैको पोखरीमा लगेर मूर्ति बिर्सजन गर्ने र मुस्लिम समुदायले त्यो बाटो प्रयोग गर्न नदिने अडान राखिरहेका छन्।

प्रकाशित: ३ आश्विन २०७७ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App