८ मंसिर २०८३ मंगलबार
image/svg+xml
विचार

अन्तल्या अड्चन

गत साता मात्र मैले कोप–३१ मा सहभागी हुन हजारौं मानिस रेल र बसमा खचाखच यात्रा गरिरहेको देखेको थिएँ। इतिहासमै सबैभन्दा धेरै सहभागी आकर्षित गर्न सफल अन्तल्या जलवायु सम्मेलनको हलका करिडोर, विभिन्न देशका पेभिलियन र सभाकक्षहरूमा हजारौं मानिसको भिड थियो। तोकिएको समयभन्दा लम्बिएर भए पनि अन्ततः जलवायु संकट सम्बोधन गर्ने एउटा ठोस सम्झौता हुने उनीहरूमा आशा थियो।

विश्वका झन्डै २०० देशका ती अनुहार आ–आफ्ना देश र संस्थाका प्रतिनिधित्व गर्दै जलवायु संकट समाधानका लागि कुनै ठोस सहमति र उपलब्धि हासिल हुने आशा बोकेर अन्तल्या पुगेका थिए। यसरी विज्ञान, राजनीति र सामूहिक कार्यको संगम टर्कीको अन्तल्या बन्ने अपेक्षा थियो। प्रक्रिया जटिल भए पनि वैज्ञानिक चेतावनीको गम्भीरता राजनीतिक प्रतिबद्धतामा रूपान्तरण हुने झिनो विश्वास यी सहभागीमा थियो। तर निर्धारित समय भन्दा ५० घण्टा बढी तन्किएको सम्मेलन निराशाजनक परिणामका साथ टुंगियो। सहभागीहरूमा केही दिनअघि मैले देखेको त्यो आशा अहिले निराशामा बदलिएको छ।

विज्ञानले दिनानुदिन स्पष्ट संकेत गरिरहेको छ– जलवायु संकट झन् गम्भीर बन्दै छ। पृथ्वीको तापक्रम तीव्र गतिमा बढिरहेको छ र त्यसका असर विश्वभर देखिन थालेका छन्। विनाशकारी बाढी, पहिरो, प्रचण्ड गर्मी, खडेरी, डढेलो र समुद्री सतहको वृद्धिले मानवजीवन र प्रकृतिमाथि गम्भीर संकट निम्त्याइरहेका छन्।

गत भदौ दोस्रो साता निम्तिएको भोटेकोसी विपद् यसको एउटा पीडादायी उदाहरण थियो। हुन पनि अब जलवायुजन्य जोखिमहरू कुनै विज्ञान कथामा सीमित छैनन्, यिनले हाम्रै आँखाअगाडि जनधन, जीविकोपार्जन र पूर्वाधार नष्ट गर्दै छन्, मानव अस्तित्वलाई समेत संकटमा धकेल्दै छन्। यो संकटको घडीमा विश्वलाई अझ बलियो सामूहिक कदमको आवश्यकता थियो।

त्यति नै बेला कोप–३१ राजनीतिक सहमति जुटाउन असफल भएको छ। यो नेपालजस्तो जलवायु जोखिममा रहेका देशका लागि मात्र होइन, अन्तल्यामा ठोस प्रगतिको अपेक्षा लिएर आएका जलवायु सचेत मुलुक र सबैका लागि निराशा र चिन्ताको विषय हो।

कोप–३१ को असफलतासँगै कैयन् प्रश्न उठेका छन् र समीक्षा पनि हुन थालिसकेको छ। कोप–३१ किन असफल भयो र जलवायु कार्यलाई अगाडि बढाउन विश्वले अब के गर्नुपर्छ ?मूल कारणलाई छल्ने प्रयास कोप–३१ मा सबैभन्दा विवादित विषय जीवाश्म इन्धन रह्यो। अध्यक्षका तर्फबाट प्रस्तावित अन्तिम आवरण निर्णयमा दुबईमा भएको जीवाश्म इन्धनबाट क्रमशः बाहिरिने सहमतिलाई केवल स्मरण मात्र गरिएको थियो। त्यसलाई कार्यान्वयन गर्ने कुनै ठोस मार्ग वा थप प्रतिबद्धता प्रस्तुत गरिएको थिएन। यो त आगलागी भएको घरमा आगो निभाउन दमकल पठाउने तर आगो के कारणले लागेको हो भन्न नचाहने अवस्थाजस्तै थियो। यो क्यान्सरको उपचारबारे छलफल गर्ने तर त्यसको एउटा प्रमुख कारण धूमपान हो भन्ने कुरा स्वीकार नगर्ने धृष्टता थियो। कोइला, तेल र ग्यास विश्व तापमान वृद्धिका प्रमुख कारण हुन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा करिब ६८ प्रतिशत र कार्बनडाइअक्साइड उत्सर्जनको झन्डै ९० प्रतिशत जीवाश्म इन्धनको हात छ तर प्रस्तावित अन्तिम निर्णयमा ‘जीवाश्म इन्धन’ भन्ने शब्दसमेत समावेश हुन सकेन।

युरोपेली संघ, पानामा र जलवायु जोखिममा रहेका केही मुलुकले जीवाश्म इन्धनबाट बाहिरिने विषयमा स्पष्ट र बलियो भाषा राख्नुपर्ने माग गरेका थिए तर साउदी अरब, इरान र रुसलगायत तेल उत्पादक मुलुकको विरोधका कारण सहमति जुट्न सकेन। वार्तामा जीवाश्म इन्धन उत्पादक राष्ट्रहरूको प्रभाव हाबी भएको र सम्मेलन नै उनीहरूको स्वार्थको बन्धक बनेको देखियो।

अचम्मनै मान्नुपर्छ, विश्वले एकातिर जलवायु आपत्काल स्वीकार त गरेको छ तर त्यसको प्रमुख कारण सम्बोधन गर्ने विषयमा सहमत हुन सकेको छैन। यसले विश्व जलवायु कूटनीतिको एउटा आधारभूत विरोधाभास उजागर भएको छ।

जलवायु वित्त: अधुरो प्रतिबद्धता

कोप–३१ लाई कार्यान्वयनको सम्मेलन भनिएको थियो। अर्थात् विगतका सम्मेलनमा गरिएका प्रतिबद्धता र सहमतिलाई व्यवहारमा उतार्ने सम्मेलनका रूपमा यसलाई हेरिएको थियो। विशेषगरी जलवायु वित्तको विषय यसपटक झन् महत्त्वपूर्ण थियो।

 हुन पनि जलवायु वित्त विकासोन्मुख र अल्पविकसित देशका लागि कुनै सैद्धान्तिक वार्ताको विषय मात्र होइन। यो जलवायु उत्थानशील पूर्वाधार निर्माण, समुदायको सुरक्षा, बदलिँदो जलवायुमा अनुकूलन, उत्सर्जन न्यूनीकरण तथा हानि र नोक्सानीको सम्बोधन गर्ने आधार हो। तर यही जलवायु वित्त अर्को प्रमुख विवादको विषय बन्यो।

अति कम विकसित मुलुकहरूको समूहले प्रस्तावित मस्यौदाले अनुकूलनका लागि आवश्यक वित्तीय सहयोग सुनिश्चित गर्न नसकेको भनिरह्यो। अफ्रिकी वार्ताकार समूहले पनि प्रस्तावित वित्तीय मार्गचित्रले वास्तवमै आवश्यक रकम उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठायो। सम्मेलनका क्रममा प्रस्तावित अनुकूलन तथा उत्थानशीलताका लागि वित्त परिचालन गर्ने अन्तल्यादेखि अदिस अबाबासम्मको मार्गचित्रले आगामी छलफलका लागि बाटो देखाउन सक्छ तर मार्गचित्रले मात्र बाढी, खडेरी, पहिरो र अन्य जलवायु विपद्को सामना गरिरहेका समुदायको सुरक्षा गर्न सक्दैन।

जलवायु संकटमा अग्रपंक्तिमा रहेका देशहरूलाई अर्को अनिश्चित प्रतिबद्धता होइन, पूर्वानुमान गर्न सकिने, सहज पहुँचयोग्य र पर्याप्त वित्त चाहिन्छ। विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि जलवायु परिवर्तनको असमानुपातिक असर भोगिरहेका नेपालका यो असफलता झन् निराशाजनक छ।

सहमतिको सिद्धान्त नै अवरोध बन्न थालेपछि संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता सहमतिमा आधारित छ। करिब २०० पक्ष राष्ट्रको सहभागिता रहने यस प्रक्रियामा प्रत्येक देशको आवाज महत्त्वपूर्ण हुन्छ। विशेषगरी साना तथा जलवायु जोखिममा रहेका मुलुकका लागि यो बहुपक्षीय प्रणाली महत्त्वपूर्ण छ तर केही सिमित देशको असहमतिले बाँकी विश्वको हितलाई रोक्न सक्ने अवस्था सिर्जना हुनु यही प्रणालीको कमजोरी बन्दै गएको छ। फरकफरक स्वार्थबिच सहमति जुटाउन कति कठिन हुँदै गएको छ भन्ने कोप–३१ ले देखाएको छ। यो सन्दर्भमा अब हाम्रा अगाडि प्रश्न छ– के केही देशको स्वार्थका कारण बहुसंख्यक राष्ट्रले चाहेको प्रगतिलाई रोकिराख्न मिल्छ, सकिन्छ ?

अहिले सहमति हुन नसक्ने अवस्थामा मतदान वा अन्य वैकल्पिक प्रक्रियाबाट निर्णय अघि बढाउन सकिन्छ कि सकिन्न भन्ने बहस पनि चर्किन थालेको छ तर यस्तो सुधार गर्दा जलवायु जोखिममा रहेका देशहरूको आवाज र अधिकार कमजोर हुनु हुँदैन। सँगसँगै, शक्तिशाली राष्ट्रको प्रभावलाई थप बढाउने अवस्था पनि आउन दिनुहुँदैन तर अहिलेको निर्णय प्रक्रियाको इमानदार समीक्षा गर्ने समय भइसकेको छ। सहमतिको उद्देश्य सामूहिक कार्यलाई सहज बनाउनु हो, निर्णयहीनताको अवस्था सिर्जना गर्नु होइन।

अन्तल्या अडचनपछि अब के?

कोप–३१ को असफलता जलवायु कार्यकै असफलता बन्नुहुँदैन। संयुक्त राष्ट्रसंघीय जलवायु प्रक्रियालाई नै परित्याग गर्ने अवस्था सिर्जना हुनु हँुदैन। विश्वव्यापी सहकार्य, जवाफदेहिता, जलवायु वित्त र वार्ताका लागि कोप अझै महत्त्वपूर्ण मञ्च हो तर अब प्रत्येक महत्त्वपूर्ण जलवायु मुद्दामा प्रगति गर्न कोप सम्मेलनकै भर परेर बस्न सकिँदैन र हुँदैन पनि।

संयुक्त राष्ट्रसंघीय वार्ताबाहिर जीवाश्म इन्धनबाट बाहिरिने प्रयासलाई अगाडि गरिने पहल महत्त्वपूर्ण विकल्प देखिएका छन्। यसै वर्ष कोलम्बियाको सान्ता मार्तामा भएको सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा अघि बढ्न चाहने देशहरू सहभागी थिए। आगामी वर्ष टुभालु र आयरल्यान्डको सहआयोजनामा अर्को सम्मेलन गर्ने तयारी छ।

यसैगरी कानुनी बाटो पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) को परामर्शात्मक रायले जलवायु प्रणालीको संरक्षण गर्न राष्ट्रहरूको कानुनी दायित्वलाई थप स्पष्ट पारेको छ। वार्ताबाट अपेक्षित परिणाम आउन नसकेपछि देश तथा प्रभावित समुदायले अन्तर्राष्ट्रिय र राष्ट्रिय अदालतमार्फत जवाफदेहिता खोज्ने क्रम बढ्न सक्छ। तर यी पहल कोप सम्मेलनका विकल्प होइनन्, बरु यी पूरक बाटो हुन सक्छन्। सबै देशबिच सहमति नजुटे पनि इच्छुक राष्ट्रहरूको गठबन्धन बनाएर जलवायु कार्यलाई अगाडि बढाउन सकिन्छ।

प्रकाशित: ८ मंसिर २०८३ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %