६ चैत्र २०८० मंगलबार
समाज

सुधारिएको गोठ निर्माणका लागि कृषकलाई जस्ता

सोल्माका किसानलाई गोठ सुधारका लागि जस्ता हस्तान्तरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई सुधारिएको गोठ निर्माणका लागि जस्ता प्रदान गरिएको छ। क्रिस्चियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पाद्धारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (वि–फिल) परियोजना अन्तरगत अजम्बरी कृषक समूहमा आवद्ध १९ किसानलाई सुधारिएको गोठ निर्माणका लागि जस्ता प्रदान गरिएको हो। 

दिगो भू–व्यवस्थापनमार्फत कृषि उत्पादकत्व बृद्धि गर्दै कृषकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र परियोजनाकै सहकार्यमा सुधारिएको गोठ निर्माण गरिरहेका कृषकलाई छाना हाल्नेबेला आवश्यक जस्ता प्रदान गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले जानकारी दिए।  

सुधारिएको गोठ निर्माण गरिरहेका किसानलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले किसानलाई प्रतिघर २० पातका दरले ६ फुटे जस्ता हस्तान्तरण गरेका छन्। गोठ सुधार कार्यक्रम अन्तरगत सोल्मामा ढलानमाथि फलामे ट्रस ठड्याएर मुत्र संकलन ट्यांकी सहितको दिगो गोठ निर्माण भइरहेको छ। नगरपालिकाले सिमेन्ट तथा परियोजनाले ट्रस र जस्ता उपलव्ध गराएपछि १९ किसानले सुधारिएको गोठ बनाउन सुरु गरेका हुन्। नगरपालिका, परियोजना र किसानको ६५ हजार ५ सय खर्च भएको छ। गोठ निर्माणका लागि किसानलाई प्रतिव्यक्ती २९ हजार बराबरको ट्रस प्रदान गरिएको परियोजना प्रवन्धक रिजालले बताए।  

सुधारिएको गोठ निर्माणकाक्रममा किसानलाई ७ लाख ९५ हजाको ट्रस र जस्ता उपलव्ध गराइएको छ। सोल्मामा कुल १२ लाख ३५ हजारमा गोठ सुधारको कार्यक्रम पुरा हुने वाल सेवा समाजले जनाएको छ। सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लाण्ट तथा बायोग्याँस प्लाण्ट तयार पारिए लगत्तै गोठ सुधारको कार्यक्रम सञ्चालन गरिएको हो। ‘दिगो भू–व्यवस्थापनका माध्ययमबाट कृषि उत्पादन र उत्पादकत्व बृद्धि गरी कृषकको जीवनस्तर सुधार गर्दै अत्मनिर्भतातर्फ उन्मुख गराउने हाम्रो लक्ष्य हो,’ प्रवन्धक रिजालले भने, ‘समृद्ध नगर निर्माणमा नगरपालिकालाई सहयोग पुर्‍याउन र कम्पोष्ट मल प्रवर्धनमार्फत अर्गानिक कृषि उत्पादनमा टेवा पुर्‍याउन यो कार्यक्रम सञ्चालन गरिएको हो।’ गोठ सुधार कार्यक्रमले सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लाण्ट सञ्चालनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पनि गोठ सुधारको कार्यक्रम सञ्चालन भइरहेको छ। तीन वडामा ५० वटा सुधारिएको गोठ निर्माण गरेर किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको प्रवन्धक रिजालले बताए।

प्रकाशित: २ आश्विन २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App