१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना उपचारमा अमानवीयता

कोरोना संक्रमणको त्रास बढ्दै गएपनि राज्यले संक्रमित पहिचान गरि उनीहरुलाई  उपचारको दायरामा ल्याउने दायित्वबाट आफूलाई पछि हटाएको छ। कोरोना संक्रमणको जोखिममा रहेका तर लक्षणविहीनहरुलाई कोरोना परीक्षणै नगर्ने सरकारको पछिल्लो नीतिले आमनागरिकहरुमा ‘कोरोना जोखिम’ झनै बढाईदिएको छ। सरकारको यहि नीतिलाई अवलम्बन गर्दै जिल्लामा पनि कोरोना संक्रमितको पहिचान र उनीहरुको  उपचार गर्नबाट स्थानीय सरकार उदासिन बनेका छन्।  

यहाँ सम्मकी, संघीय सरकारले लक्षण नदेखिएकाहररुलाई कोरोना परीक्षणै नगर्ने नीति लिएको भएपनि स्थानीय सरकारहरुले त कोरोनाको लक्षण देखिएका र सिकिस्त बिरामीहरुको समेत स्वाब लिन अस्वीकार गर्दै आएका छन्। लक्षणसहितका सिकिस्त बिरामीहरुको स्वाब लिन अस्वीकार गरेका स्थानीय तहहरुले यसको दोष भने संघीय सरकारमाथि थोपर्ने गरेका छन्। तर स्थानीय सरकारले भने जस्तो सिकिस्त बिरामीहरुको नभई लक्षण विहिनहरुको मात्रै परिक्षण नगर्ने नीति संघीय सरकारको छ ।

एक साता अघि घोराही उपमहानगरपाालिका वडा नम्बर १८ का बिनोद पोखरेल बिरामी परे। उनको दिसामा रगत बग्ने समस्या भएकोले घोराहीस्थित दीपज्योती अस्पतालमा भर्ना भए। उनी शिथिल अवस्थामा थिए। उनको उपचारमा खटिएका चिकित्सकले कोरोनाको आशंका गरे र कोरोना परिक्षणका लागि परिवारलाई सुझाए। सोही अनुसार चिकित्सकले कोरोना आशंका गरेका गम्भीर बिरामीको स्वाब संकलनका लागि घोराही उपमहानगरपालिका समक्ष पोखरेल परिवारले अनुरोध गर्यो। 

सो अनुसार घोराही स्थित पद्मोदय माविमा सञ्चालन गरिएको स्वाब संकलन केन्द्रमा बिनोदलाई पुर्याईयो। तर उपमहानगरपालिकाले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा बिनोदको स्वाब लिईएन। अन्ततः परिवारले सशुल्क बिनोदको कोरोना परीक्षण गरायो। ‘उपमहानगरपालिकाले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा निःशुल्क स्वाब संकलन गरिएन,’ बिनोदका छोरा बिक्रमले भने ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सशुल्क तिरेर बुवाको कोरोना परिक्षण गरायौँ ।’  

कोरोना संक्रमण पुष्टि भएका बिनोदको अहिले नेपालगन्ज स्थित आईसोलनेसनमा उपचार भइरहेको छ। उता घरमा रहेकी बिनोदकी श्रीमती कमलालाई ज्वरो बढिरहेको थियो। उनलाई ‘टाईफाईड’ भइसकेको थिययो। बिनोदलाई कोरोना संक्रमण पुष्टि हुनु अनि कमलालाई पनि कोरोना लक्षण देखिनुले परिवार आत्तियो। कमलाको पनि कोरोना परीक्षणका लागि परिवारले घोराही उपमहानगरपालिकालाई उस्तै अनुनय गर्यो। ‘आमालाई ज्वरो थमेकै थिएन, कोरोनाको लक्षण देखापरेपछि हामीहरु आत्तियौँ,’ उनका छोरा बिक्रमले भने, ‘तर उपमहानगरले यो परिवारको अनुरोधलाई पनि सुनेन। 

अन्ततः प्रतिष्ठानमा सशुल्क कोरोना परीक्षण गरिएकी कमलालाई पनि मंगलबार कोरोना पुष्टि भयो। उनी पनि अहिले नेपालगन्ज स्थित आईसोलेशनमा उपचाररत छिन्। ‘कोरोनाको लक्षण देखिँदा सम्म पनि स्थानीय सरकारले स्वाब संकलनका लागि मतलव गर्दैन,’ विक्रमले भने ‘नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार कति सम्म गम्भीर रहेछ भन्ने गतिलो उदाहरण हामी बनेका छौँ ।’ उनको अहिलेको अनुभुतिले यस्ता कैयन नागरिकले यस्ता समस्या भोग्नु परेका थुप्रै उदाहरण जिल्लामा हुन सक्ने वताउँछ। ‘हामीहरुले यो पीडा भोग्यौँ,’ उनले भने, ‘नागरिकहरुले स्थानीय सरकारबाट यस्ता पीडा भोग्नु भएको होला ।’

बिनोद अनि उनकी श्रीमती कमलालाई कोरोना पुष्टि भएपछि परिवारका सबै सदस्यहरु कोरोना संक्रमणको त्रासदीमै बाँचिरहेको छ। परिवारका सबै सदस्यहरुको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्ने मनसायमा परिवार छ। तर स्वाब कसले लिईदिने ? गाउँको सिंहदरबारले पोखरेल परिवारको अनुनय सुन्दैन वा सुन्न चाहन्न। यात उसलाई उसकै नागरिकको स्वास्थ्य प्रति प्रवाहै छैन।  

‘हाम्रो परिवारका दुईजना सदस्यमा कोरोना संक्रमण पुष्टि भैसकेपछि हामीहरु जस्तो कोरोना संक्रमणको जोखिममा अरु को हुन्छ ?’ बिनोदकी बुहारी सुलोचनाले भनिन् ‘मैले परिवारका सबै सदस्यको स्वाब संकलनका लागि फेरी उपमहानगर समक्ष अनुरोध गरेँ, तर स्वाब संकलन हुन्न भन्ने जवाफ पाईसकेँ, गाउँको सिंहदरबारलाई हाम्रो सिंगो परिवारको पीडा रोदन प्रति कुनै प्रवाह छैन ।’ कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो परिवारका कुनै पनि सदस्यको स्वाब उपमहानगरले नलिने भनेपछि सशूल्क परिक्षणको तयारीमा यो परिवार छ। ‘जनताको स्वास्थ्य सेवाा पाउने नैसर्गिक अधिकार भनेको शायद यहि होला,’ उनले भनिन् ‘परिवारका सबै सदस्य हामीहरु कोरोनाको उच्च जोखिममा छौँ, तर सरकार हामी कोरोनाको उच्च खतरामा रहेकाहरुको स्वाब लिईदिन्न ।’

यता उपमहानगरपालिकाले भने सरकारको पछिल्लो नीतिका कारण लक्षण नदेखिएका कोहि कसैको पनि स्वाब नलिने वताउँछ। कन्ट्याक्ट ट्रेसिङ समेत नगरिने उपमहानगरले वतायो। उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भने ‘कोरोना आँफै पचाउनु बाहेक अर्को बिकल्प अब रहेन ।’  

एक हप्तासम्म पनि आउँदैन रिपोर्ट

गत हप्ताको बुधवार घोराही उपमहानगरले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा स्वाब दिएका घोराही १७ का बिरकेसरी गौतमको कोरोना परिक्षण रिपोर्ट अँझैसम्म आएको छैन। ७ दिनसम्म पनि आफू कोरोना संक्रमित भए नभएको थाहा पाउन नसकेका उनले भने ‘यो सरकारको कस्तो निर्लज्जता हो ? यस्तो पनि राज्यको नीति हुन्छ ? स्वाब दिएको म ७/८ दिन सम्म पनि कोरोना संक्रमित हो कि हैन, भन्ने थाहा पाउँदैन ।’ 

सरकारले १० दिन सम्म कुनै पनि लक्षण नदेखिएमा कोरोना संक्रमितलाई अस्पतालबाट डिष्चार्ज गर्न भनेको छ। तर बिरकेसरीले प्रश्न गरे ‘सात दिन वितिसक्यो म मा कुनै लक्षण छैन, तर आज भोलीमा रिपोर्ट मानौँ पोजेटिभ आयो भने म आईशोलेशनमा जाने कि नजाने ? या आईशोलेसनमा कति दिन बस्ने ?’ हप्ता दिन बितिसक्दा पनि कुनै पनि नतिजा नआउँदा समुदायमा संक्रमणको झनै त्रासदी छ। रिपोर्ट नआएका संक्रमितहरु गाउँसमाज घुलमिल भैरहने हुँदा समाजका अन्यलाई पनि संक्रमणको त्रास बढ्ने गौतमले वताए। 

स्वाब संकलन गर्ने स्थानीय तहहरुले समेत तत्काल कोरोना परिक्षण केन्द्रमा स्वाब पठाउने गरेका छैनन्। ‘स्वाब संकलन भएको तीन चार दिन पछि बल्ल परिक्षण केन्द्रमा स्वाब पठाईएका घटना पनि छन्,’ एक जनप्रतिनिधिले भने ‘अनि सर्वसाधारणको कोरोना रिपोर्ट कसरी चाँडो आउँछ ?’

प्रकाशित: ३१ भाद्र २०७७ १०:०३ बुधबार