१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुप्से झरनाले फेरि वितण्डा मच्चायो

रुप्से झरनामा बाढी । तस्बिर सौजन्य : इन्द्रसिंह शेरचन

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम कोरला सडकको सिधा यातायात अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै मध्यरातमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि अवरुद्ध भएको हो। रुप्से आसपासको करिब दुई सय मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले ठूलो क्षति पुर्‍याएकाले करिब एक सातासम्म सडक सञ्चालनको सम्भावना नरहेको आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले बताए।

‘उर्लिएर आएको बाढीले वितण्डा मच्चाएको छ, सडकको तल्लो भागमा गहिरो खोंच बनाएको छ’ शेरचनले भने। उनले राती झण्डै कालिगण्डकीको बाहव रोक्ने गरी रुप्सेमा बाढी आएको बताए। मंगलबार दिनभरी स्काभेटरको प्रयोग गरी रुप्से आसपाको अवरुद्ध पन्छाएर सडक खुलाउने तयारी गरिएपनि मध्यरातमा आएको बाढीले बगाएपछि पुनःमर्मतमा एकसाता भन्दा बढी लाग्ने अनुमान गरिएको छ। रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतिको जोखिम रहेको छ।  

अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थानीयको सिधा सम्पर्कबिच्छेद भएको छ। काठको फड्के समेत बगाएपछि दानाकै काभ्रे र हिमाली जिल्ला मुस्ताङ जाने सर्वसाधारणले अन्नपूर्ण–४ नारच्याङको घराप हुँदै करिब २ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता भएको छ।  

फड्को आसपासका क्षेत्रमा खोलाले कटान गरेको छ। गएको साउन ५ गते रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ। स्याउ किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रक समेत बाटोमै अलपत्र परेका छन्।  

सडक सञ्चालन नहुँदा भरियाको प्रयोग गरेर समेत ढुवानीमा सहस हुने भएकाले सडक सञ्चालन भएपछि मात्रै मुस्ताङबाट स्याउ निर्यात हुने भएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिना यता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन्।

प्रकाशित: ३१ भाद्र २०७७ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App