६ वैशाख २०८१ बिहीबार
समाज

सुत्केरी मृत्युबारे छानबिन सुरु

सविता भनिने सहती कुमारी ।

सदरमुकाम मलंगवास्थित एक पोलिक्लिनिकमा शल्यक्रियापछि सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ । घटनाबारे सञ्चारमाध्यमबाट थाहा पाएपछि छानबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिकालगायत सरोकारवाला कार्यालयबाट कागजात झिकाएर अनुसन्धान अगाडि बढाइएको छ,’ उनले भने, ‘पीडित परिवारबाट पोलिक्लिनिकविरुद्ध ठाडो उजुरी पनि परेको छ ।’

मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भनिने सहती कुमारीको मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चार दिनपछि मृत्यु भएको थियो । गत १९ गते भर्ना गरिएकी सविताको २३ गते बिहान मृत्यु भएको हो । शल्यक्रिया गरेर पोलिक्लिनिकमै राखिएकी सविताको स्वास्थ्य अवस्था जटिल भएको भन्दै त्यहाँका चिकित्सकले मंगलबार बिहान हतारहतार थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर पठाएका थिए । तर १७ किलोमिटर उत्तर लक्ष्मीपुर नपुग्दै एम्बुलेन्स चालकले सविताको मृत्यु भइसकेको भन्दै घर फर्किन भनेपछि आफन्तहरू चकित बनेका थिए । पोलिक्लिनिकमै मृत्यु भएको देखाउँदा समस्या आइपर्ने ठानेर सञ्चालकसमेत रहेका डा. सुरेन्द्रकुमार यादव सहितका कर्मचारीले हतार हतार जनकपुर रेफर गरेर एम्बुलेन्समा पठाएको मृतकका आफन्तको आरोप छ ।

गत शुक्रबार बिहान सविताका पति प्रमोद साहकी दिदी दुलारी देवीले प्रजिअ पौडेलसमक्ष घटनाबारे छानबिन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी दिएकी थिइन् । प्रजिअ पौडेलले उक्त पोलिक्लिनिक सहित अन्य स्वास्थ्य संस्थाहरूको समेत अनुगमन निरीक्षण गर्दै मापदण्डविपरीत देखिए कानुनी कारबाही गरिने जानकारी दिए ।

अमत्र्य पोलिक्लिनिकमा ओपिडीलगायत साधारण स्वास्थ्य सेवा मात्रै प्रदान गर्ने अनुमति भए पनि डा. सुरेन्द्रकुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यक्रिया गर्दै आएका छन् । डा. यादव स्वयंले कानुनअनुसार पोलिक्लिनिकमा शल्यक्रिया गर्न नपाइने स्वीकार गर्दै आफ्नो गल्ती भएको सञ्चारकर्मीसमक्ष बताए । उनले यसअघि पनि पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु भएको स्वीकार गरे । बिरामीका आफन्तले हारगुहार गर्ने गरेकाले र शल्यक्रियाका लागि अनुमति लिने प्रक्रियामा रहेकाले मात्रै पोलिक्लिनिकमै शल्यक्रिया गरेको डा. यादवको भनाइ छ । 

प्रकाशित: ३१ भाद्र २०७७ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App