१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिमा रकम भुक्तानीमा ढिलाइ

कर्णाली प्रदेश

सामुहिक दुर्घटना विमाको शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत। नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चैत एक गतेदेखि लागू हुने गरेर कर्णालीका सबै नागरिक र यहाँ कार्यरत कर्मचारीहरुको सामुहिक प्राकृतिक विपद् दुर्घटना विमा ग¥यो। कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत जुनसुकै जिल्लाका कर्मचारीको मृत्यु भएमा परिवारले राष्ट्रिय विमा कम्पनीमार्फत दुई लाख रुपैयाँ विमावापतको रकम पाउने यो कार्यक्रम कार्यान्वयनमा भने ढिलाई भइरहेको छ।  

चैतयता कर्णालीमा प्राकृतिक विपद्मा परेर ८४ जना नागरिकले ज्यान गुमाएका छन्। अहिलेसम्म प्राकृतिक विपदमा परेर मृत्यु भएका एक जनाको परिवारले मात्रै प्रदेश सरकारले गरिदिएको विमावापतको दुई लाख रकम प्राप्त गरेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलहादुर खड्काले सम्वन्धीत जिल्लाहरुबाट प्राकृतिक विपत्तीमा परेर मृत्यु भएकाहरुको विमा कम्पनीका लागि आवश्यक पर्ने कागजात नआउँदा विमावापतको रकम भुक्तानीमा समस्या भइरहेको बताए।

‘चैतयता प्राकृतिक विपत्तीमा परेर मृत्यु भएकाहरुको यकिन संख्या मन्त्रालयसम्म आइपुगेको छैन्, जिल्ला प्रशासन कार्यालयहरुलाई विपद्मा परेर मृत्यु भएकाहरुको आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेका छौं,’ उनले भने, ‘जिल्लाबाट विवरण समयमै नआउँदा विमावापतको रकम दावी गर्न समस्या भइरहेको छ।’

खड्काका अनुसार बैशाखमा रुखबाट खसेर मृत्यु भएका पञ्चपुरी नगरपालिकाका एक जनाको परिवारले मात्रै विमावापतको रकम पाएका छन्। ‘विपद्मा परेर मृत्यु भएका थप आठ जनाको परिवारको नाममा चेक तयार छ,’ उनले भने, ‘अरुको विवरण मन्त्रालयसम्म आइपुगेको छैन्।’

प्रदेश सरकारले चैत एक गतेदेखि लागु हुने गरेर हिमपात, हिमपहिरो, हिमताल विष्फोटन, असिना, भुकम्प, बाढी, जलमग्न पहिरो, जमिन धरिएर वा भारिएर, डुवान, हावाहुरी तथा आँधीबेहरी, सीतलहर, चट्याङ, आगलागी, डढेंलोलगायतका प्राकृतिक विपत्तमा ज्यान गुमाउने कर्णालीका नागरिकका परिवार र छ महिनादेखि कर्णालीमा कार्यरत जुनसुकै जिल्लाका सरकारी कर्मचारीका परिवारले विमावापत दुई लाख रुपैया एकमुष्ट पाउने गरेर राष्ट्रिय विमा कम्पनीसँग संझौता गरेको थियो।

कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत कर्मचारीहरुको सामूहिक विपद् दुर्घटना विमा गरेको थियो। चैतयता कर्णालीमा प्राकृतिक विपत्तीमा परेर ८४ जनाले ज्यान गुमाएका छन् भने ति मध्ये एक जनाले मात्रै अहिलेसम्म विमावापतको रकम पाएका छन्।

प्राकृतिक विपत्तीका कारण कर्णालीमा वर्षेनी सयौं नागरिकहरुले ज्यान गुमाउने गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो साढे पाँच महिनाको अवधिमा कर्णालीमा प्राकृतिक विपत्तीमा परेर ८४ जनाले ज्यान गुमाएका छन्। प्रहरीको तथ्याङ्क अनुसार प्राकृतिक विपत्तमा परेर कालिकोटमा ४४, जाजरकोटमा १४, रुकुम पश्चिममा ७, सुर्खेत र दैलेखमा ६–६ जना, सल्यानमा पाँच र डोल्पामा दुई जनाले ज्यान गुमाएका छन्। यि मध्ये ६७ जनाको पहिरोमा परेर मृत्यु भएको हो भने १० जनालाई बाढीले बगाएको हो। यस्तै चट्याङमा छ जना र आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। प्राकृतिक विपत्तीमा परेर कर्णालीमा साढे पाँच महिनाको अवधिमा ५०१ घरमा क्षति पुग्नुका साथै ५२ करोड ४२ लाख ४६ हजार ९७४ रुपैयाँ बराबरको क्षति भएको छ।  

प्रदेश सरकार र विमा कम्पनीबीच भएको संझौतामा प्राकृतिक विपत्तीमा नागरिकको मृत्यु भएमा त्यसको १५ दिनभित्र वीमा कम्पनीलाई सम्वन्धीत स्थानीय तहले सिफारिस र घटना विवरणको लिखित जानकारी दिनुपर्ने उल्लेख छ। तर, विशेष परिस्थितिमा तोकिएको हदम्यादभित्र निवेदन दिन नसकेमा जिल्ला प्रशासन कार्यालयको सिफारिसलाई आधार मान्ने उल्लेख गरिएको छ।  

आन्तरिम मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले चैत एक गतेयता प्राकृतिक विपत्तीमा परेर मृत्यु भएकाहरुको विवरण संकलनको काम भइराखेको बताए। उनले जिल्लाहरुबाट आवश्यक कागजात आउने वित्तिकै विमा कम्पनीमार्फत परिवारको खातामै रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको बताए।

प्रकाशित: ३० भाद्र २०७७ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App