१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेतृत्व सम्मेलनबाट एसिया प्रशान्त संघको प्रस्ताव अनुमोदन

युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन एसिया प्रशान्त संघको प्रस्ताव अनुमोदन गर्दै सम्पन्न भएको छ। सेम्टेम्बर ११ देखि १३ सम्म तीन दिन भर्चुअल माध्यमबाट सञ्चालन भएको सम्मेलनमा अनुमोदन गरिएको उक्त प्रस्तावले यस क्षेत्रमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

भर्चुअल सम्मेलनमा युनिभर्सल पिस फेडेरेसन (युपिएफ) कोरियाका प्रमुख यओन मुनले उक्त प्रस्ताव पेस गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले एसिया प्रशान्त संघको महत्वबारे प्रकाश पारेका थिए। युपिएफकी सहसंस्थापक मदर मुनले सन् २०१९ अक्टोबरमा जापानमा एसिया प्रशान्त संघको प्रस्ताव गरेकी थिइन्। केही समयपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले उक्त प्रस्तावको समर्थन गरेका थिए। पछि गत अगष्ट ९ मा विश्वभरका लाखौँ दर्शकबीच संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान की मुनले पनि उक्त प्रस्तावमा समर्थन जनाएका थिए।  

करिब ८१ देशका १० हजारभन्दा बढी दर्शकले हेरेको उक्त कार्यक्रमलाई श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिर्सेनाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। सम्मेलन सरकार प्रमुख, सांसद, धर्मगुरु प्रथम महिला नेतृ, मिडियाकर्मी, व्यापारी, युवा तथा विद्यार्थीलगायतलाई लक्षित गरी आयोजना गरिएको थियो।  

महामारीका बेला मिडियाको भूमिका महत्वपूर्ण

सो अवसरमा बोल्दै नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले महामारीका बेला मिडियाको भूमिका महत्वपूर्ण हुने बताएइन्। निर्देशक ज्ञवालीले मिडियाले विभिन्न क्षेत्रका मानिसबीच पुलको काम गर्ने बताइन्। उनले संकटमा भविष्यप्रतिको आशा गुमाइरहेका बेला मिडियाले मानिसमा भविष्यप्रतिको आशा र विश्वास जगाउन सहयोग गर्ने बताइन्। ‘मिडियाले मानिसमा भविष्यमा पुनः राम्रो समयको आगमन हुने सुनिश्चितता गराउँछ,’ उनले भनिन्। कठिन समयमा पनि मिडिया मानिससमक्ष पुग्ने र समाचारको माध्यमबाट विश्वभरका मानिसमा प्रेरणा छरी एकताको भावना सिर्जना गर्ने उनको भनाइ थियो।  

कठिन समयमा पनि मिडिया मानिससमक्ष पुग्छ र समाचारको माध्यमबाट विश्वभरका मानिसमा प्रेरणा छरी एकताको भावना सिर्जना गर्छ।

कोभिडले कतिपय सकारात्मक पक्ष पनि उजागर गरेको धारणा व्यक्त गर्दै उनले यसले महिलाको क्षमता र शक्तिलाई प्रकाश पार्न सहयोग गरेको बताइन्। विश्वभरका महिलाले अवसर पाएमा जस्तोसुकै संकटका बेलामा पनि सफलतापूर्वक नेतृत्व गर्छन् भन्ने अहिलेको समयले पुष्टि गरेको उनको भनाइ थियो।  

कोरोना महामारी विश्वव्यापी संकट भएकाले यसमा सबैको समान धारणा हुनुपर्ने बताउँदै उनले सबै मुलुकले एकअर्कालाई सहयोग गर्न ऐक्यबद्धता व्यक्त गरिरहेको बताइन्। कम स्रोतसाधन भएका ठाउँमा महामारीको प्रभाव न्यूनीकरणका लागि एकअर्काबीच सहयोगको आवश्यकता झनै रहेको उनको धारणा छ। साझा जिम्मेवारी र साझा लक्ष्यबाटमात्र कोभिड १९ जस्ता संकटमाथि विजय प्राप्त गर्न सकिने उनको भनाइ थियो। यो संकटले विश्व सहकार्यलाई पुनर्ताजकी बनाउन र सबैलाई एकैठाउँमा ल्याएर परस्पर समृद्धि प्राप्त गर्ने अवसर प्रदान गरेको उनले बताइन्। सम्मेलनमा विभिन्न क्षेत्रका सहभागीले आफ्ना धारणा राखेका थिए। 

प्रकाशित: ३० भाद्र २०७७ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App