१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माग पुरा नभएपछि वीपीका जुनियर रेसिडेन्टहरु पुनः आन्दोलित

कार्यदल गठन भए पनि मागहरु सम्बोधन नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु पुनः आन्दोलनमा उत्रिएका छन्।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको नेतृत्वमा इमर्जेन्सीबाहेक सम्पूर्ण सेवाहरुको काम छोडेर जुनियर रेसिडेन्टहरु धर्नामा बसेका छन्। उनीहरुले कोभिड अस्पतालको पनि सेवा छोडेपछि उपचार सेवा प्रभावित भएको छ। सोसाइटीले हिजो आइतबार २४ घण्टे अल्टिमेटम दिएको थियो। यसअघि भदौ ५ गते विभिन्न मागहरु राखेर सोसाइटीले ज्ञापन पत्र बुझाएको थियो। त्यसलगत्तै अस्पताल निर्देशक डा.गौरीशंकर साह संयोजक रहेको एक कार्यदल गठन गरिएको थियो। कार्यदलले ३ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि तीन साता बित्दा पनि समाधान गर्न सकेन।

सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता पदम नेपालीका अनुसार कार्यदलमा समस्या समाधानको खाका तयार भएर सहमति समेत भइसकेको थियो। सोसाइटीका प्रतिनिधिहरुले हस्ताक्षरसमेत गरिसकेको उक्त सहमति कार्यान्वयन नभए पछि पुनः आन्दोलनमा उत्रनु परेको उनले बताए। अहिले पनि कोभिड उपचारमा खटिएका जुनियर रेसिडेन्टहरुले गुणस्तरहिन खाना खान बाध्य भएको, क्वारेन्टिन अव्यवस्थित भएको र उपचारमा पनि यसले प्रभाव पारिरहेकोले आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए।  

आज बिहान जेआरहरु आन्दोलनमा उत्रिए पछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा.साहसँग एक चरणको वार्ता भएको थियो। जेआरहरुले सहमति कार्यान्वयन भएर समस्या हल नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। ‘अझै पनि खाना खानै नसकिने खालको आउछ, क्वारेन्टिनको व्यवस्थापन पनि सुधार भएन। जोखिम मोलेर काम गर्नेहरु स्वास्थ्यकर्मीहरु यसरी त निरुत्साहित हुन्छन्, र यसले कोभिड विरामीको उपचारमा नै असर पुग्छ,’उनले भने,‘वार्ता सकरात्मक भएपनि हाम्रो आन्दोलन जारी नै रहन्छ, सहमति कार्यान्वयन हुनैपर्छ।’

 

प्रकाशित: २९ भाद्र २०७७ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App