१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरका युवालाई जोगबानीमा गोली प्रहार

भारतको जोगबनीमा नेपाली युवामाथि आइतबार गोली प्रहार भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर मानिसको आवतजावतलाई पूर्णरूपमा रोक लगाइएको छ।

सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भन्ने दीपक मण्डललाई गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ।नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिर भारतको जोगबनीमण्डल गएका थिए। जोगबनी पुगेको केही समयमै मण्डलको दायाँ खुट्टामा गोली प्रहार भयो। तर, दशगजा नजिकै गोली प्रहारको घटना भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले चाल नपाएको बताइएको छ।  

विराटनगरको मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगबनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ। घटनास्थल नजिकै नेपालतर्फ सीमा नाकामा सशस्त्र र नेपाल प्रहरी दुवै परिचालन गरिएको छ।  

सीमा क्षेत्रको विभिन्न ठाउँमा ‘पिकेट’ राखेर दुवै प्रहरीले गस्ती गर्ने गरिए पनि प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाको समूहले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।

घटना हुनुअघि दशगजा नजिकै भारततर्फ जोगबनीका अन्दाजी २५÷३० वर्षीय मुकेश यादव केही साथीहरूसँग क्यारम खेलेर बसिरहेको र पुग्नसाथ विवाद गरेर आफूमाथि यादवले गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन्।  

‘गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा प्वाल परेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गएभन्ने बारेमा पनि अनुसन्धानथालेका छौं।’ भारतीय भूमिमा घटना भएकाले आवश्यक समन्वय गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई चाँडो कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई आग्रह गरिसकेको एसपी खड्काले बताए।  

यादव समूहले नै मण्डललाई घटनापछि जोगबनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेका थिए। उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुँदा यादवले आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाइफायर गर्दै फरार भएको प्रहरीले जनाएको छ। हवाइफायरपछि बजारमा भागदौड मच्चिएको र त्यही मौकामा मण्डल नेपाल आउन सफल भए।  

साँझ ७ बजेतिर नेपाल छिरेका मण्डलले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराए पनि वास्ता नगरेको उनले प्रहरीलाई बताएका थिए।  

प्रहरीले मण्डलकै घर रहेको रोडशेष चोकबाट राति ९ः३० बजेतिर फेला पारेर कोसी अस्पतालमा थप उपचार गरिएको थियो। मण्डल जोगबनीमा मावली रहेकाले त्यता जाने क्रममा घटना भएको प्रहरीलाई बताएका छन्।  

प्रहरीले फेला पार्दा उनी लागुऔषधकै नशामा रहेको र आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन्। गोली प्रहार गर्ने युवा लागुऔषधका कारोबारी भएको खुलेको छ। लागुऔषध सेवन गर्न भारत जाँदा दुई पक्षबीच विवाद भई गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App